हेटौँडा । नेपालीहरूको महान पर्व विजयादशमीलाई लक्षित गर्दै मकवानपुर उद्योग वाणिज्य संघले मंगलबारदेखि सुपथ तथा सस्तो मूल्यको खाद्यान्न बजार संचालनमा ल्याएको छ। हेटौँडा–२, पल्पसा सदन प्रांगणमा सुरू भएको यो बजार असोज ७ गतेदेखि ११ गतेसम्म सञ्चालन हुनेछ भने कारोबारको अवस्था हेरी थप दिन कायम राख्न सकिने आयोजकले जनाएको छ।
सुपथ मूल्य बजारको उद्घाटन जिल्ला प्रशासन कार्यालय मकवानपुरकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले गरिन्। उनले सुपथ बजारलाले उपभोक्तालाई सहज बनाउन निजी क्षेत्रको योगदानको रूपमा व्याख्या गर्दै भनिन्, “यसले मूल्यवृद्धिलाई नियन्त्रण गर्ने, बजारलाई प्रतिस्पर्धी बनाउने र पारदर्शिता कायम गर्ने काम गर्छ। उद्योगी–व्यवसायी र आम उपभोक्ताबीच सुमधुर सम्बन्ध विस्तार गर्न पनि यसले टेवा पुर्याउँछ।” उनले अझै मूल्य सूची प्रस्ट रूपमा टाँसिदिने हो भने उपभोक्तालाई थप सहज हुने सुझाव समेत दिइन्।
संघका अध्यक्ष प्रमोद सिंह रानाभाटले यसलाई हेटौँडामा सुपथ बजारको नयाँ शुरुवातका रूपमा लिइएको बताए। “पहिलो प्रयास भएकाले सानो दायरा राखेका छौं। तर दैनिक कम्तीमा एक–डेढ हजार उपभोक्ता आउन सक्ने अपेक्षा छ। बजारमा डिलर स्तरकै मूल्यमा सामान उपलब्ध गराउने हाम्रो उद्देश्य हो,” उनले स्पष्ट पारे। उनले मकवानपुरको आधिकारीक बिक्रेता संघ संयोजकमा बजार संचालन गरेको बताए ।
अध्यक्ष रानाभाटले भने, “गत वर्षसम्म साल्ट ट्रेडिङले एकल प्रयासमा सुपथ बजार चलाउने गरेको भए पनि यसपटक उद्योग वाणिज्य संघकै नेतृत्वमा सबै व्यवसायीलाई सहभागी गराएर एउटै थलोमा दैनिक उपभोग्य सामान उपलब्ध गराइएको छ। यसलाई विस्तार गर्दै जाँदा भोलि ठूलो स्वरूप दिन सकिन्छ भन्ने हाम्रो सोच छ।” उनले हालैको जेएनजि आन्दोलनले हेटौंडाको प्रमुख सुपरमार्केटमा पारेको क्षतिको उदाहरण दिँदै उपभोक्तालाई एउटै थलोमा सहज खरिद गर्ने विकल्प दिनुपर्ने आवश्यकता भएको बताए।
यसपटक १६ वटा स्टलमार्फत चिनी, नुन, तेल, साबुन, सर्फ, चिउरा, फुरनदाना, दालमोठ, भुजिया, जिरा, धनियाँ, मसला, चियापत्ती, पिठो जस्ता दैनिक उपभोग्य वस्तुहरू राखिएका छन्। बिहान ११ बजेदेखि बेलुकी ६ बजेसम्म सञ्चालन हुने बजारमा दुग्ध विकास संस्थान र साल्ट ट्रेडिङ कर्पोरेसनका सामग्रीहरू समेत खरिद गर्न सकिने संघका बाणिज्य तर्फका उपाध्यक्ष तथा कार्याक्रम संयोजक राजु अधिकारीले जानकारी दिए।
उद्घाटनकै दिन बिहानैदेखि उपभोक्ताको भीड देखिएको थियो। आयोजकले पहिलो दिनमै लाखौं रुपैयाँ बराबरको कारोबार भएको अनुमान गरेको छ। दसैंमा आवश्यक वस्तुहरूलाई लक्षित गरिएको यस बजारमा मासुजन्य परिकार र अण्डा जस्ता अन्य आइटम पनि थप्ने तयारी भइरहेको संघले जनाएको छ।



