फिचरभ्रष्टाचारविरुद्धको आन्दोलनबाट जागेको नयाँ पुस्ता अब मतपेटीकातर्फ

भ्रष्टाचारविरुद्धको आन्दोलनबाट जागेको नयाँ पुस्ता अब मतपेटीकातर्फ

 भदौको आन्दोलनपछि फागुन २१ को निर्वाचनका लागि नयाँ मतदातामा देखियो स्वतःस्फूर्त सहभागिता

हेटौँडा | भदौ २३ र २४ गतेको ऐतिहासिक जेनजी आन्दोलनले भ्रष्टाचार, नेतृत्वको अक्षमता र असमान अवसरविरुद्धको जनआवाजलाई सडकमा उतारेपछि अब त्यो उर्जा मतपेटीकातर्फ मोडिएको छ। आन्दोलनको मुख्य शक्ति बनेका युवा पुस्ता अहिले मतदाता दर्ता अभियानमा उत्साहका साथ सहभागी भइरहेका छन्।

प्रधानमन्त्री सुशीला कार्कीले संसद् विघटनको सिफारिस गरेपछि फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचनलाई उनीहरूले परिवर्तनको औपचारिक मौकाका रूपमा लिएका छन्। मकवानपुरलगायत देशभर असोज १० देखि कार्तिक मसान्तसम्म सञ्चालन भइरहेको मतदाता दर्ता अभियानले नयाँ मतदाताहरूमा उत्साह थपेको छ।

भदौ २३ र २४ गतेको सडक आन्दोलनले नेपाली राजनीतिमा अप्रत्याशित मोड ल्याएको थियो। जेनजी नेतृत्वको आन्दोलनले पुरानो राजनीतिक संरचनाप्रति गहिरो असन्तुष्टि व्यक्त गर्‍यो। टिकटक, इन्स्टाग्राम र डिस्कोर्डजस्ता सामाजिक सञ्जालमार्फत संगठित भएको यो आन्दोलन छोटो समयमै हजारौं युवालाई सडकमा उतार्न सफल भएको बताइन्छ। काठमाडौँको माइतीघर मण्डलादेखि देशभरका प्रमुख शहरसम्म फैलियो । प्रदर्शनले तत्कालीन सरकारलाई गम्भीर संकटमा पुर्‍यायो।  आन्दोलनका क्रममा ठूलो संख्यामा मानवीय क्षति र भौतिक सम्पत्तिको नोक्सानी भए । त्यसपछि नयाँ अन्तरिम सरकार गठन गरिएको थियो।

अन्तरिम सरकारको नेतृत्व सुशीला कार्कीले ग्रहण गरिन्। प्रधानमन्त्री बनेकी कार्कीले प्रतिनिधिसभा विघटन गर्ने निर्णय गर्दै संविधानको धारा ७६(७) अनुसार राष्ट्रपति समक्ष सिफारिस पेश गरिन्। भदौ २७ गते राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ८५(१) बमोजिम संसद् विघटनको निर्णय स्वीकृत गरे। त्यससँगै फागुन २१ गते नयाँ प्रतिनिधिसभा निर्वाचन मिति तय भयो, जसले संसद्को बाँकी कार्यकाल अन्त्य गर्दै देशलाई नयाँ जनादेशको खोजीमा डोर्यायो।

जेनजी आन्दोलनले नेपाली राजनीतिमा पुस्तागत विभाजन स्पष्ट बनायो। एकातिर नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्रजस्ता परम्परागत राजनीतिक दलहरू छन् भने अर्कोतिर डिजिटल माध्यमबाट संगठित, तर दलविहीन युवा शक्ति उदाएको छ। राजनीतिक विश्लेषकहरूका अनुसार, २०७९ सालको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा युवा मतदाताको सहभागिता ६२ प्रतिशत मात्र थियो, जुन अघिल्लो निर्वाचनको तुलनामा ५ प्रतिशतले कम थियो। युवाहरूमा राजनीतिक दलप्रति बढ्दो अविश्वास र भ्रष्टाचार, बेरोजगारी र विकासको कमीले मोहभंग सिर्जना गरेको थियो।

तर भदौको आन्दोलनले युवाहरूलाई पुनः राजनीतिक प्रक्रियामा खिच्यो। निर्वाचन आयोगको कार्यालय मकवानपुरमा उपस्थित हेटौँडा–६ गौरीटारका ४४ वर्षीय मनोज पहाडी भन्छन्, “जेनजी आन्दोलनपछि युवाहरू राजनीतिक रूपमा पुनः सक्रिय बनेका छन्। उनीहरूले राजनीतिक दलको प्रतिनिधित्व भन्दा आफ्नो आवाज महत्वपूर्ण छ भन्ने महसुस गर्न थालेका छन्।”

दुई निर्वाचन क्षेत्र रहेको मकवानपुरमा, बागमती प्रदेश निर्वाचन कार्यालयका अनुसार कार्तिक १६ गतेसम्म क्षेत्र नं. १ मा ६२ मतदान स्थलमा १ लाख ५१ हजार २४१ मतदाता रहेका छन् भने क्षेत्र नं. २ मा १०५ मतदान स्थलमा १ लाख ५१ हजार २ मतदाता रहेका थिए। असोज १० देखि २८ गतेसम्म ९५९ नयाँ मतदाता थपिएका छन्।

प्रदेश निर्वाचन कार्यालय हेटौँडाका निर्वाचन अधिकृत हरिप्रसाद ढकालले दैनिक ५०० जनाको दर्ता लक्ष्य राखिएको जानकारी दिए । उनले भने, “हामीले मतदाता दर्ता, नाम सच्याउने र स्थानसारी लगायतका सबै सेवा एकसाथ प्रदान गरिरहेका छौं।”

ढकालका अनुसार अनलाइन प्रणालीको प्रयोगले मतदाता दर्ता प्रक्रिया सहज भएको छ। “सेवाग्राहीले अहिले सहज महसुस गरिरहेका छन्। अनलाइनबाट आवेदन दिन सकिन्छ, आवश्यक कागजात बुझाउन र फोटो खिच्न कार्यालय आउनुपर्छ। बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म व्यवस्थित ढंगले सेवा सञ्चालन भइरहेको छ,” उनले बताए ।

निर्वाचन आयोगका एक कर्मचारीका अनुसार, “पहिले बसमा हालेर राजनीतिक दलहरूले मतदातालाई कार्यालय ल्याउँथे, अहिले नागरिक आफैं स्वतःस्फूर्त रूपमा आउँछन्। वर्तमान पुस्ता प्राविधिमैत्री भएकाले प्रक्रिया सहज भएको छ र युवाहरूमा उत्साह देखिन्छ।”

निर्वाचन कार्यालयमा आफ्नो मतदाता दर्ता गराउन आएका हेटौँडा–६ गौरीटारका १९ वर्षीय बिमोचन पहाडीले देशको लागि केही गर्ने जस्तो महसुस भएको बताउँदै  दर्ता गर्नु भनेको आफ्नो आवाजलाई मान्यता दिनु रहेको बताए । उनले भन्छन्, “बुबा–आमाको पुस्ताले जे गरे, त्यसको योगदान अलग छ। तर नयाँ पुस्ताले देखाएको आत्मविश्वास र आवेगले भविष्य उज्यालो देखिन्छ। पहिले निसास्सिएको जस्तो वातावरण थियो, अहिले हामीमा आशा छ।”

बिमोचनले विकास अपेक्षाअनुसार अघि बढ्न नसकेको र दिगोपनमा सुधार आवश्यक रहेको औंल्याए। “ब्युरोक्रेसीमा सुधार हुनुपर्छ। पुराना दल आए पनि नयाँ पुस्ताको माग समेटेर नीति परिवर्तन गरे अझ राम्रो हुन्छ,” उनले बताए।

भिमफेदी वडा नं. ९ की २३ वर्षीया इतिमाया लामा दोस्रो पटक निर्वाचन आयोगको कार्यालय आएकी छन्। उनले अहिलेको राजनीतिक चेतना फरक भएको बताइन्। “हामी राजनीतिको कुरा डराएर होइन, बुझेरै गर्छौं,” उनको भनाइ छ। उनी भन्छिन्, “पहिलो पटक राम्ररी बुझिनँ, अहिले राम्रोसँग बुझ्दैछु। नाम सच्याउन आएको हुँ। अब राम्रो, इमान्दार र देशप्रेमी व्यक्तिलाई मतदान गर्छु। अब पार्टी हेर्ने होइन, व्यक्तिलाई हेरेर मतदान गर्नुपर्छ भनेर घरमा पनि सम्झाउँछु।”

नेपालमा प्रथम प्रतिनिधिसभा (साधारण) निर्वाचन वि.सं. २०१७ सालमा सम्पन्न भएको थियो। त्यसपछि २०३७ सालमा जनमत संग्रह भयो। वि.सं. २०४८ र २०५६ सालमा प्रतिनिधिसभा निर्वाचनहरू सम्पन्न भए। त्यसपछि २०६४ र २०७० सालमा संविधानसभाको निर्वाचन सम्पन्न भयो। संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ मा जारी भएपछि, नयाँ संविधानअनुसार २०७४ र २०७९ सालमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भए। तर फागुन २१ को निर्वाचन विशेष छ। यो पहिलो पटक जेनजी आन्दोलनपछिको निर्वाचन हो। धेरैले यो निर्वाचनले नेपाली राजनीतिको भविष्य निर्धारण गर्ने बताइरहेका छन्।

मतदाता दर्ता अभियानमा केही चुनौती पनि छन्। विदेशमा रहेका नेपालीहरूलाई कसरी मतदाता दर्तामा समावेश गर्ने भन्ने प्रश्न विवादास्पद छ। हाल कानुनमा विदेशमा बसेका नेपालीले मतदान गर्न पाउने व्यवस्था छैन।

मतदाता दर्ता अभियान केवल प्रशासनिक प्रक्रिया होइन, यो सामाजिक चेतना र नागरिक अधिकारको पुनः जागरण हो। भदौको जेनजी आन्दोलनले थालेको परिवर्तनको लहर अहिले मतदाता दर्तामा देखिएको छ। प्रधानमन्त्री सुशीला कार्कीको संसद विघटनको सिफारिस र राष्ट्रपतिको स्वीकृतिले सिर्जना भएको राजनीतिक अवसरमा युवा पुस्ताले आफ्नो दायित्व बुझ्न थालेको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img