काठमाडौं । गत २३ र २४ भदौको दुईदिने ‘जेन–जी आन्दोलन’ले देशभर अराजकता र क्षोभको लहर फैलायो। राज्य संयन्त्र नचल्ने अवस्था आयो र देशले इतिहासकै गहिरो क्षति व्यहो¥यो। विद्यालय र कलेजका पोशाकमै शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका युवासहित ७६ जनाको मृत्यु भयो।
दुईतिहाइ बहुमतका प्रधानमन्त्री केपी शर्मा ओलीले पद छाड्न बाध्य भए भने पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा आफ्नै घरमै आक्रमणमा परे। प्रहरी चौकी, राजनीतिक दलका कार्यालय र नेताहरूका निजी घरहरूमा आगजनी भयो। सिंहदरबारदेखि सर्वोच्च अदालत र संसद् भवनसम्म जले।
राजधानीको केन्द्रमै रहेका ती संरचना जल्दा केही मिटर दूरीमै रहेको जंगी अड्डाले किन रोक्न सकेन भन्ने प्रश्न लामो समयदेखि उठ्दै आएको छ। सोही विषयमा शुक्रबार नेपाली सेनाले पत्रकार सम्मेलन गरी १० प्रमुख जिज्ञासामा स्पष्टीकरण दिएको छ।
सेनाका अनुसार त्यतिबेलाको अवस्था अहिलेको सहज समयसँग तुलना गर्न मिल्दैन। युद्धकार्य विभागका उपरथी अनुप जंग थापाले आन्दोलन हिंसात्मक बनेपछि संयमता अपनाउँदै न्यूनतम शक्ति प्रयोग गरिएको बताए। सिंहदरबार जोगाउन ४६ राउन्ड हवाइ फायर गरिएको र भिडलाई दुई पटकसम्म धकेलिएको तर भीड चारैतर्फबाट प्रवेश गरेपछि जनहानिबिना संरचना बचाउन नसकिने निष्कर्ष निकालिएको सेनाको भनाइ छ।
Five weeks after the Gen-Z protests, the Army breaks its silence
आगो निभाउन ढिलो भएको आरोपमा सेनाले आफूले तत्कालै प्रयास गरेको दाबी गरेको छ। २४ भदौ दिउँसो १ बजे पश्चिम गेटमा लागेको आगो सिंहदरबारभित्रकै दमकलले निभाएको र केही बेरमै पुनः आगो लागेपछि आन्दोलनकारीहरूले दमकलकै पाङ्ग्रामा चढेर अवरोध गरेको कारण ढिलो भएको स्पष्टीकरण दिइयो।
सिंहदरबारभित्र रहेको डाटा सेन्टर भने जोगिनु सबैका लागि अचम्मको विषय बनेको थियो। सेनाले त्यो रात राष्ट्र सुरक्षा परिषद्, रक्षा मन्त्रालय र अर्थ मन्त्रालयका डेटा संरचनाहरूलाई प्राथमिकता दिँदै सुरक्षित राखिएको बतायो। एक जना जर्नेल स्वयं फिल्डमा उत्रिएर निर्देशन दिएको र जवान तथा दमकल टोलीले लगातार १८ घण्टा काम गरेर डाटा सेन्टर जोगाएको सेनाको भनाइ छ।
काठमाडौं महानगरपालिकाको दमकल नआएको भन्ने आरोप पनि सेनाले अस्वीकार गरेको छ। महानगरसँग निरन्तर सम्पर्कमा रहेको र राति ८ बजे दमकल सिंहदरबार पुगेको बताउँदै सेनाले चालकको अभावले केही ढिलाइ भएको प्रष्ट पारेको छ। सेनाका अनुसार भोलिपल्ट बिहान ९ बजेसम्म १२ वटा दमकलले अधिकांश स्थानको आगो निभाइसकेका थिए।
हिल्टन होटलमा आगो निभाउन ढिलो हुनुको कारण दमकलको पाइप छोटो हुनु हो भन्ने स्पष्टीकरण दिइएको छ। ‘संरचना अत्यन्तै अग्लो भएकाले उपलब्ध साधनले तत्काल नियन्त्रण गर्न सकिएन,’ सहायक रथी मनोज थापाले भने।
त्रिभुवन विमानस्थलमा ठूलो समूहले आगजनी प्रयास गरेको र केहीले जिलेटिन बोकेका थिए भन्ने जानकारी पनि सेनाले सार्वजनिक गरेको छ। सेनाले ती व्यक्तिलाई नियन्त्रणमा लिँदा ठूलो दुर्घटना टरेको जनाएको छ।
आन्दोलनका बीचमा दुर्गा प्रसाईंसँग सेनाले वार्ता गरेको विषयमा आलोचना भएपछि सेनाले आफ्नो कदमलाई ‘शान्ति र अमनचयनका लागि गरिएको बहुआयामिक प्रयास’ भनेर व्याख्या गरेको छ। ‘सेनाले राजनीति गर्दैन, तत्कालीन अवस्थाको वस्तुगत मूल्यांकनका आधारमा मात्र कदम चालिएको हो,’ उपरथी थापाले भने।
जेन–जी आन्दोलनपछि सेनाभित्र विद्रोह हुनसक्ने भन्ने हल्ला पनि उठेको थियो। तर सेनाले त्यसमा कुनै सत्यता नभएको प्रष्ट पारेको छ। ‘माओवादी लडाकुहरूको समायोजन विश्वमै उदाहरणीय अभ्यास हो,’ सेनाले जनाएको छ।
२४ भदौको साँझ पशुपति मन्दिरमा पनि आक्रमणको प्रयास भएको सेनाले पुष्टि गरेको छ। दक्षिण–पश्चिम दिशाबाट प्रवेश गर्ने समूहलाई तत्काल नियन्त्रणमा लिएको बताइएको छ।
अन्तरिम सरकारले आगामी फागुन २१ गते निर्वाचन घोषणा गरे पनि सुरक्षाको अवस्था अझै चुनौतीपूर्ण देखिएको छ। सेनाले भने चुनावको विकल्प नरहेको बताएको छ। ‘हामीले निर्वाचनका लागि संकल्प गरिसकेका छौं। चुनौती अवश्य छ, तर राष्ट्रले दिएको जिम्मेवारी पूरा गर्छौं,’ सहायक रथी थापाले भने।
गृह मन्त्रालयको समन्वयमा संयुक्त सुरक्षा समिति सक्रिय भइसकेको र राजनीतिक दलहरूले सहयोग गरे चुनाव सम्पन्न गर्न सकिने सेनाको बुझाइ छ।




