काठमाडौं |अपराजित यात्रा पूरा गर्दै नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट प्रतियोगिताको उपाधि जितेको छ। शुक्रबार ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मैदानमा भएको अन्तिम खेलमा नेपालले सामोआलाई १२४ रनको फराकिलो अन्तरले पराजित गर्दै समूह चरणदेखि सुपर सिक्ससम्मका सबै खेल जितेर उपाधि चुमेको हो।
पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ११ रनको विशाल योगफल तयार पारेको थियो। ओपनर आशिफ शेखले ४१ बलमा ६९ रनसहित शानदार सुरुवात दिलाए भने दीपेन्द्रसिंह ऐरीले ३३ बलमा ५३ रन जोडे। दुबैजनाले आक्रामक पारी खेलेका थिए । शेखले ४ छक्का र ७ चौका प्रहार गरे भने ऐरीले ४ छक्का र २ चौका हाने।
२ सय १२ रनको लक्ष्य पछ्याएको सामोआको टोली नेपाली बलरहरूका अगाडि दबाबमा पर्यो र २० ओभरमा ७ विकेट गुमाएर ८७ रनमै रोकियो। नेपालका ललीतनारायण राजवंशीले उत्कृष्ट बलिङ गर्दै ३ विकेट हात पारे। सामोआका ब्याट्सम्यानहरू नेपाली बलिङ आक्रमणको अनुशासन र विविधतामाथि कुनै प्रभाव पार्न सकेनन्।
यससँगै नेपालले ११ वर्षपछि पहिलो पटक आईसीसीको प्रतियोगितामा उपाधि जित्ने ऐतिहासिक उपलब्धि हासिल गरेको हो। यसअघि सन् २०१४ मा नेपालले आईसीसी डिभिजन फोरको उपाधि जितेको थियो। त्यसपछि सन् २०१० मा पनि डिभिजन फोरको उपाधि जितेको नेपालले सन् २०२३ मा विश्वकप छनोटको फाइनलमा ओमानसँग सुपर ओभरमा पराजय बेहोरेको थियो। तर, यसपटकको प्रदर्शनले नेपाललाई पुनः विजयी लयमा फर्काएको छ।
समूह चरणमा नेपालले कुवेत र जापानलाई हराउँदै सुपर सिक्समा प्रवेश गरेको थियो। कुवेत समूह चरणबाट अघि बढ्न नसकेकाले जापानसँगको जितका अंक बोकेर सुपर सिक्समा पुगेको नेपालले त्यसपछि यूएईमाथि १ रन, कतारमाथि ५ रन र ओमानमाथि ३८ रनले जित निकाल्दै उपाधिको दिशामा अग्रता कायम राखेको थियो।
छनोटबाट नेपाल, यूएई र ओमानले आगामी वर्ष भारत र श्रीलंकामा संयुक्त रूपमा हुने टी–२० विश्वकप २०२६ को लागि टिकट पक्का गरिसकेका छन्। यस उपलब्धिसँगै नेपाली क्रिकेटको इतिहासमा अर्को स्वर्णाक्षर जोडिएको छ।
उपाधिसँगै नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रत्येक खेलाडीले जनही १९ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार पाउने भएका छन्। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले खेलकुद विकास नियमावली २०७९ अनुसार उक्त पुरस्कार वितरण गर्ने तयारी गरेको छ। सो नियमावलीको अनुसूची ४ अन्तर्गत यदि नेपालले विश्वकप नै जिते खेलाडीले जनही ३२ लाख ५० हजार रुपैयाँ पाउँछन्, उपविजेता भएमा २६ लाख, र तेस्रो भएमा १९ लाख ५० हजार पाउने व्यवस्था गरिएको छ।
त्यस्तै विश्वकप छनोट प्रतियोगितामा पहिलो हुने टोलीका खेलाडीले जनही १९ लाख ५० हजार, दोस्रो हुनेले १३ लाख र तेस्रो हुनेले ९ लाख १० हजार रुपैयाँ पाउने नियमावलीमा उल्लेख छ। यही प्रावधानअनुसार सन् २०२४ को विश्वकप छनोटमा नेपाल दोस्रो हुँदा खेलाडीहरूले जनही १३ लाख रुपैयाँ पाएका थिए।
नेपालको यो ऐतिहासिक जितले क्रिकेटमात्र होइन, सम्पूर्ण नेपाली खेलकुदमा उत्साह र गौरवको नयाँ उचाइ थपेको छ। अपराजित यात्रा, अनुशासित खेलकला र सामूहिक समर्पणका कारण नेपाल अब अन्तर्राष्ट्रिय क्रिकेटमा अझ बलियो दावेदारका रूपमा उदाएको छ।



