हेटौँडा | हेटौँडा उपमहानगर प्रमुख (मेयर) मीना लामाले नेपाली समाजमा महिलाप्रति बढ्दो असहिष्णुता र यौन हिंसाको धम्कीको विरुद्ध आवाज उठाउँदै आफूले भोगेको उत्पीडनको विषयलाई सार्वजनिक गरेकी छिन्।
हेटौँडालाई महिला मैत्री सहरको रूपमा घोषणा गर्न संयुक्त राष्ट्र सङ्घीय परियोजना सेवा कार्यालय (युएनओपीएस)सँग सम्झौता गर्ने दिन नै उनले सामाजिक सञ्जालमार्फत आफूले सामना गरिरहेको यौन हिंसाको धम्की, साइबर उत्पीडन र सामाजिक बहिष्करणको विवरण प्रस्तुत गर्दै भावुक अभिव्यक्ति जारी गरेकी हुन्।
“महिला भएर जन्मनु जति गर्व छ, नेपाली समाजमा महिला भएर बाँच्नु त्यति कठिन पनि छ,” मेयर लामाले लेखेकी छिन्, “अझ जेनजी आन्दोलन पछि मैले नेपाली समाजको वास्तविक अनुहार देखेको अनुभव गरेकी छु।”
मेयर लामाले आफूले हेटौँडा उपमहानगरपालिकाको क्षेत्राधिकारको विषयमा गरेको टिप्पणीलाई तोडमोड गरी आफूलाई मधेश प्रदेशको विरोधी बनाइएको आरोप लगाएकी छिन्। “मैले हेटौँडा उपमहानगरपालिकाको क्षेत्राधिकारको कुरा गर्दै हरेक नगरले पहिलो प्राथमिकता आफ्ना नगरवासीलाई दिन्छ, यसै कारण सबैले आफ्नो नगरलाई झकझकाउनु पर्छ भन्ने मात्रै कुरा गरेकी थिएँ,” उनले स्पष्टीकरण दिएकी छिन्।
जेनजी आन्दोलनको पहिलो दिन आफूले गरेको टिप्पणीलाई विवादास्पद बनाइएको बताएकी छिन्। यसपछि परिस्थिति नियन्त्रणमा ल्याउन मेयर लामाले दुई पटक सार्वजनिक माफी पनि मागेकी थिइन्। “अहिलेलाई म गलत भइदिन्छु भनेर दुई पटक माफी मागें, तर मेरो माफीले के मान्यो?” उनले प्रश्न गरेकी छिन्।
साइबर स्पेसमा यौन हिंसाको धम्की
मेयर लामाको सबैभन्दा गम्भीर आरोप साइबर स्पेसमा उनीप्रति भएको व्यापक यौन हिंसाको धम्की र उत्पीडनसँग सम्बन्धित छ। उनले फेसबुक र ह्वाट्सएपको इनबक्समा निरन्तर रूपमा बलात्कार गर्ने धम्कीका सन्देशहरू प्राप्त गरेको खुलाएकी छिन्। “फेसबुक र ह्वाट्सएपका इनबक्समा मलाई बलात्कार गर्ने धम्कीका सूचनाहरू मैले पढ्न नसक्ने थिए,” उनले आफूले भोगेको मानसिक पीडाको वर्णन गर्दै लेखेकी छिन्।
मेयर लामाका अनुसार राति राति फोन गरेर “एक पटक भेटेर बसेर घटनाबारेको विवाद टुङ्ग्याउने” भन्ने प्रस्तावहरू समेत आएका थिए, जुन स्पष्ट रूपमा उनलाई धम्की र दबाब दिने प्रयास थियो।
“मलाई बलात्कार गरेपछि हेटौँडाका केही युवाहरू शान्त हुनेवाला थिए,” उनको चर्को आरोप छ, “मेरो नजिक बनेर मबाट जायज नाजायज फाइदा लिन खोज्दा नसकेर हैरानी खेपेका हरूले कलिला किशोर-किशोरीहरू प्रयोग गरेको देख्दा नेपाली तथाकथित सचेत पुरुषको कुरूप अनुहार छर्लङ्ग देखें।”
‘मेयर नै सुरक्षित छैनन् भने…’
मेयर लामाले आफू जस्तो निर्वाचित जनप्रतिनिधि र उपमहानगरपालिकाको प्रमुख नै यस्तो उत्पीडनको सिकार हुन सक्छन् भने सामान्य नारीहरूको अवस्था के होला भन्ने गम्भीर प्रश्न उठाएकी छिन्। “एउटा उपमहानगरपालिकाको प्रमुखलाई बलात्कार गर्ने धम्कीका सन्देश निरन्तर आउनु र सार्वजनिक रूपमा समेत सामाजिक सञ्जालमा लेख्नुले यो समाजमा सामान्य नारीहरू सुरक्षित छन् त?” उनले प्रश्न गरेकी छिन्।
उनले जेनजी आन्दोलन पछि आफूले भोगेको अनुभवका आधारमा नेपाली समाजमा महिला सुरक्षाको गम्भीर संकटको निष्कर्ष निकालेकी छिन्। “जेनजी आन्दोलन पछि मैले भोगेको पीडाका आधारमा म ठोकेर भन्न सक्छु नेपाली कुनै पनि महिला सुरक्षित छैनन्,” उनको दावी छ।
“असुरक्षाका लागि सबै पुरुषहरू राक्षस बन्नु नपर्ने रहेछ,” मेयर लामाले थपेकी छिन्, “बहुमत सज्जन पुरुषकै अगाडि नेपाली महिला खुलेआम बलात्कृत हुन सक्ने रहिछन्।”
महिला मैत्री सहरको विडम्बना
हेटौँडा उपमहानगरपालिकालाई महिला मैत्री सहरको रूपमा घोषणा गर्ने कार्य अगाडि बढेको छ। मंसिर १८ गते युएनओपीएससँग यसका लागि औपचारिक सम्झौता भएको छ। तर मेयर लामाको मनमा उमङ्ग र उदासी दुवै खेलिरहेको छ।
“महिला मैत्री सहर घोषणा गर्नका लागि १८ गते सहयोगी दाता संस्था युएनओपीएससँग सम्झौता गरिरहँदा मलाई बलात्कार गर्ने चाहना राख्दै सन्देश पठाउने ती युवाहरूलाई झल्झली सम्झिरहेकी छु,” उनले भावुकतापूर्वक लेखेकी छिन्।
मेयर लामाले आफूले व्यक्तिगत स्तरमा समेत सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको उल्लेख गरेकी छिन्। “मेरो व्यक्तिगत कुरा गर्दा आज पनि दर्जनभन्दा बढी बालबालिकालाई सहयोग गरेकी छु, पढाएकी छु,” उनले लेखेकी छिन्, “ती मधेश, पहाड या हिमाल जहाँका पनि छन्।”
आफ्नो अभिव्यक्तिको अन्त्यमा मेयर लामाले नेपाली समाज र विशेष गरी पुरुष समुदायलाई तीखो सन्देश दिएकी छिन्।
“एउटी नारी बलात्कृत हुन जन्मेकी होइन। एउटी नारीको उपयोगिता योन होइन। एउटी नारीले गरेको गल्तीको सजाय बलात्कार होइन,” उनले जोड दिएकी छिन्, “एउटी नारीलाई बलात्कार मात्रै सोच्ने पुरुष (युवा)ले आफ्नो आमा, दिदीबहिनी, छोरी पनि सम्झनुस्।”
यो समाचार हेटौँडा उपमहानगरपालिकाकी मेयर मीना लामाको सार्वजनिक सामाजिक सञ्जाल अभिव्यक्तिमा आधारित छ।



