समाज७६ जनाको ज्यान जाने आन्दोलनपछि ३७५ पक्राउ, १४१ मुद्दा प्रहरीको फाइलमा

७६ जनाको ज्यान जाने आन्दोलनपछि ३७५ पक्राउ, १४१ मुद्दा प्रहरीको फाइलमा

हेटौँडा | जेनजी आन्दोलनका क्रममा तोडफोड, आगजनी र लुटपाटमा संलग्न भएको आरोपमा देशभरबाट ३७५ जनालाई प्रहरीले पक्राउ गरेको छ। गृहमन्त्रालयका अनुसार कात्तिक १७ गतेसम्म १४१ वटा मुद्दा दर्ता भएका छन्।

मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार सबैभन्दा बढी पक्राउ काठमाडौं उपत्यकाबाट भएका हुन्। उपत्यकाबाट मात्रै २१८ जना पक्राउ परेका छन्, जसविरुद्ध कर्तव्य ज्यान, आपराधिक उपद्रव, हातहतियार खरखजना, चोरी र अभद्र व्यवहारसम्बन्धी मुद्दा चलाइएका छन्। उपत्यकामा मात्र ९६ वटा मुद्दा दर्ता भएका छन्।

यस्तै, कोशी प्रदेशमा ३० जनालाई पक्राउ गरी ४ मुद्दा दर्ता गरिएको छ भने मधेश प्रदेशमा २१ जना पक्राउ र ६ मुद्दा दर्ता भएका छन्। बागमती प्रदेशमा ३३ जना पक्राउ र ११ मुद्दा, गण्डकीमा ३२ जना पक्राउ र ७ मुद्दा, लुम्बिनीमा २९ जना पक्राउ र ११ मुद्दा, कर्णालीमा ४ जना पक्राउ र ३ मुद्दा तथा सुदूरपश्चिम प्रदेशमा ८ जना पक्राउ र ३ मुद्दा दर्ता गरिएको मन्त्रालयले जनाएको छ।

प्रहरीका अनुसार आन्दोलनका क्रममा तोडफोड, आगजनी र लुटपाटजस्ता घटनाहरूका ३६ हजारभन्दा बढी भिडियो र तस्बिर प्रमाणका रूपमा संकलन गरिएको छ। ती प्रमाणको आधारमा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाही अघि बढाइने प्रहरीको भनाइ छ।

यसैबीच, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा भएको क्षतिको विवरणसहित जिल्ला प्रहरी परिसर काठमाडौंमा उजुरी दर्ता गरेको छ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा ७६ जनाको मृत्यु भएको थियो। त्यस क्रममा सिंहदरबारलगायतका महत्त्वपूर्ण सरकारी संरचनामा आगजनी र तोडफोड भएका थिए।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img