देशबागमती प्रदेशहेटौँडा अस्पतालमा नवजात शिशुको मृत्यु

हेटौँडा अस्पतालमा नवजात शिशुको मृत्यु

उपचारमा लापरबाही भएको परिवारको आरोप

हेटौँडा | हेटौँडा अस्पतालमा मङ्सिर २५ गते जन्मिएको नवजात शिशुको उपचारका क्रममा मृत्यु भएपछि परिवारले उपचारमा लापरबाही भएको आरोप लगाएका छन्।

परिवारका अनुसार मङ्सिर २५ गते अस्पतालमा सामान्य प्रसूति भएर छोरा जन्मिएको थियो। आमा र शिशु दुवैको अवस्था सामान्य रहेको भन्दै घर जान चाहँदा अस्पताल प्रशासनले नछाडेको र भोलिपल्ट २६ गते बाल उपचार कक्षमा भर्ना गराइएको उनीहरूको भनाइ छ। भर्ना गरिएपछि शिशुको नियमित रूपमा चिकित्सकीय जाँच नभएको र नर्सहरू पनि समयमा उपस्थित नहुने गरेको परिवारले आरोप लगाएको छ।

WhatsApp Image 2025 12 16 at 9.28.56 AM

शिशुका बाबु विशाल ओलीका अनुसार पुस १ गते बिहान साढे ३ बजेसम्म दूध खाएर सुतेको शिशुलाई ‘हिटरमा राख्नुपर्छ’ भन्दै न्यानो उपकरणमा राखिएको थियो। सो निर्णयप्रति आफूलाई सुरुदेखि नै शंका लागेको तर नर्स वा चिकित्सकले गम्भीर रूपमा नलिएको उनको भनाइ छ। “हिटरमा राखेको केही समयमै बच्चाको सास रोकिएको पायौँ,” उनले बताए।

उनका अनुसार बिहानको समयमा वार्डमा न त नर्स थिए, न त चिकित्सक नै। “ढोका ढकढक्याएर बोलाउँदा पनि कोही आएन। पछि जाँच गर्न आएका डाक्टरलाई ‘मान्छे बितिसक्यो, के चेक गर्नु’ भनेपछि फर्केर गए,” उनले भने।

घटनाका प्रत्यक्षदर्शी तथा शिशुका कुरुवाहरूले पनि हिटरमा राख्दासम्म शिशु पूर्ण रूपमा सामान्य रहेको बताएका छन्। उनीहरूका अनुसार हिटरबाट निकाल्दा शिशुको शरीर निलो भइसकेको थियो। “राति दूध खाएर मज्जाले सुतेको बच्चा बिहानसम्म ठीक थियो, अचानक यस्तो भयो,” एक कुरुवाले बताइन्।

कुरुवाहरूले हिटरको तापक्रम अत्यधिक भएको वा उपकरणमा विद्युत् समस्या हुनसक्ने आशंका पनि गरेका छन्। “निकाल्दा बच्चा एक्कासि निलो भइसकेको थियो,” उनीहरूको भनाइ छ।

परिवारले नवजात शिशुको मृत्युमा अस्पताल प्रशासनको लापरबाही जिम्मेवार रहेको भन्दै निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेका छन्।

यस विषयमा अस्पताल प्रशासनले भने घटनाबारे जानकारी लिइरहेको र आवश्यक छानबिन गरिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img