बागमती प्रदेशमकवानपुरहेटौँडा सडक विस्तार नजिकिँदा सुरक्षा तयारी तीव्र, बाहिरी जिल्लाबाट फोर्स झिकिँदै

हेटौँडा सडक विस्तार नजिकिँदा सुरक्षा तयारी तीव्र, बाहिरी जिल्लाबाट फोर्स झिकिँदै

हेटौँडा । हेटौँडा बजार क्षेत्रमा हुने सडक विस्तारको समय नजिकिँदै जाँदा वातावरण निकै तातिएको छ। एकातिर घरधनी तथा केही व्यवसायीहरूले विरोध, र्‍याली र सभा गर्दै दवाब बढाइरहेका छन् भने अर्कोतिर जिल्ला प्रशासन र सडक डिभिजन कार्यालयले आन्तरिक तयारी अझ कडा बनाएका छन्।

मंसिर २० गतेदेखि सुरु हुने कार्यमा करिब ५३१ वटा भौतिक संरचना हटाइने तयारी प्रशासनले गरिरहेको छ। आवश्यक मेसिन, जनशक्ति र सुरक्षा संयन्त्र सजग राखिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बसन्त अधिकारीले बताए।

अधिकारीका अनुसार  सडक विस्तारको दिन भीडभाड बढ्ने सम्भावना भएकाले “रमिता हेर्न नआउनुहोस्” भन्ने स्पष्ट आग्रह गरिएको छ। साधारण भीड पनि आन्दोलनकारीको समर्थन भनेर बुझिन सक्ने र परिस्थिति थप जटिल बन्न सक्ने भएकाले नागरिकलाई अनावश्यक उपस्थिति नगर्न उनले आग्रह गरे।

सडक विस्तार रोक्न खोज्ने, धम्की दिने वा विकास निर्माणमा अवरोध पुर्‍याउने समूहहरूप्रति प्रशासन कडा दूरीमा रहेको छ। अधिकारीले भने, “विकास कार्य रोक्ने छुट कसैलाई छैन। आवश्यक परे बाघसँग लड्नेजस्तै तयारीसहित हामी प्रस्तुत हुन्छौँ।”

विगतका सडक विस्तारमा देखिएको झडप, अश्रुग्यास र भिडन्त दोहोरिन नदिन सुरक्षा संयन्त्रलाई उच्च सतर्कतामा राखिएको छ। मकवानपुरको जनशक्तिले मात्र सम्भावित चुनौती धान्न नसक्ने देखिएकाले छिमेकी जिल्लाबाट समेत थप सुरक्षाकर्मी मागिसकिएको प्रशासनले जनाएको छ।

स्थानीय प्रशासन ऐन तथा सडक ऐनका प्रावधानअनुसार, विकास निर्माणमा अवरोध पुर्‍याउने जो–कसैलाई कारबाही गरिने चेतावनी पनि अधिकारीले दोहोर्याए।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img