हेटौँडा | मकवानपुरगढी–५ का दोस्रो जनआन्दोलनका सहिद वासुदेव घिमिरेका पिता कृष्णप्रसाद घिमिरे गम्भीर विरामी भई चितवन मेडिकल कलेजको आईसीयूमा छन्। छातीमा पानी जमेर संक्रमण फैलिएकाले तत्काल अपरेशन आवश्यक छ तर आर्थिक अभावले उपचार प्रभावित भएको परिवारले जनाएको छ।
सहिद परिवारले राज्य र नेताहरूबाट बेवास्ता भएको गुनासो गर्दै गणतन्त्रपछि पनि अपेक्षित सम्मान र सहयोग नपाएको बताएका छन्। वासुदेव २०६३ वैशाख ७ गते कलंकीमा शहीद भएका थिए।
हेटौँडामा सहिदको नाममा बनेको सभागृह अधुरै रहँदै अब १३ तले व्यावसायिक भवन बन्ने पक्का भएको छ, जसले सहिदको नामोनिशान मेट्ने चिन्ता परिवारलाई थपिएको छ।



