भोजपुर – भोजपुरको पौवादुङमा गाउँपालिकालाई भोजपुर जिल्लाकै पहिलो बालश्रम मुक्त स्थानीय तह घोषणा गरिएको छ । आइतबार सरोकारवाला पक्षको उपस्थितिमा यहाँका ६ वटै वडालाई बालश्रम मुक्त घोषणा गरि गाउँपालिकालाई बालश्रम मुक्त घोषणा गरिएको हो ।
भोजपुर जिल्लाका नौ वटा स्थानीय तह मध्ये बालश्रम मुक्त घोषणा गर्ने पहिलो स्थानीय तह बनेको छ । यो घोषणासँगै पौवादुङमा कोशी प्रदेशमा बालश्रम मुक्त घोषणा गर्ने दोश्रो र नेपालकै छैटौँ स्थानीय तह बनेको हो । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, विश्वश्रम संगठनको एआर सी प्रोजेक्ट र गाउँपालिकाको सहकार्यमा बालश्रम मुक्त घोषणा गरिएको हो ।
गाउँपालिकाले विश्वश्रम संगठनसँग सम्झौता गरेर दुई वर्षअघिबाट बालश्रम मुक्त घोषणाका लागि काम थालनी गरेको थियो । घोषणाको लागि प्रत्येक वडामा गणकहरु खटाएर तथ्याङ्क संकलन गर्दा बालबालिकाहरु बालश्रममा नरहेको पाइएपछि गाउँपालिकालाई बालश्रम मुक्त घोषणा गरिएको हो ।
बालश्रममुक्त गाउँपालिका घोषणा पूर्व यहाँका बालश्रमको जोखिममा पर्न सक्ने १८ वर्ष मुनिका बालवालिकाको तथ्याङ्क राखेर आवश्यक सचेतना तथा सहयोगको कार्यक्रम सञ्चालन गरिएको छ । उनीहरुलाई बालश्रममा लाग्नबाट टाढा राख्नको लागि सवै वडामा रहेका बालबालिकाहरुको वडाबाट विवरण तयार गरिएको छ ।
प्रतिवदेनमा समेटिएका जोखिममा पर्न सक्ने बालवालिकालाई गाउँपालिका तथा वडा कार्यालयले थप सचेनतासँगै आवश्यक सहयोग गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नविन भट्टराईले जानकारी दिए । घोषणा पश्चात यहाँका बालबालिकालाई श्रमबाट बचाउन थप कार्यक्रम सञ्चालन गरिने यनको भनाइ छ ।
यहाँका विभिन्न वडामा एक सय १८ जना बालबालिका विद्यालय बाहिर रहेकोले बालश्रमको जोखिमबाट बचाउन उनीहरुलाई विद्यालय फर्काउने अथवा अन्य विकल्पको खोजी गरेर भावी योजनालाई अघि बढाउनु पर्ने गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताइन् ।
पौवादुङमा गाउँपालिका बालश्रम मुक्त घोषणा गर्ने कोशी प्रदेशको दोश्रो स्थानीय तह बनेको अध्यक्ष किरण राईले बताए । अथक मेहनत पश्चात गाउँपालिकालाई बालश्रम मुक्त घोषणा सफल भएको उनको भनाइ छ । घोषणा पश्चात पनि बालश्रमको जोखिममा पर्न सक्ने बालबालिकाको घर÷घरमा पुगेर आवश्यक विवरण संकलन गरेर उनीहरुलाई जोखिमबाट बचाउन थप काम गर्ने अध्यक्ष राईले बताए । बालबालिकाको अवस्थाको विश्लेषण गरेर भावी कार्यक्रम सञ्चालन गर्नु पर्नेमा उहाँले जोड दिए ।
बालश्रम मुक्त घोषणा पश्चात बालबालिकालाई श्रममा लाग्न नदिन उपयुक्त वातावरण निर्माण गर्नु पर्ने कार्यक्रमका प्रमुख अथिति कोशी प्रदेश सांसद सिर्जना राईले बताइन् । उनीहरुलाई उपयुक्त वातावरण निर्माण गर्न सकेमा भावी दिनमासमेत बालश्रम घट्दै जाने सांसद राईको भनाइ छ । बालबालिकालाई श्रममा लाग्न नदिन सरोकारवाला पक्ष गम्भिर भएर लाग्नु पर्ने उहाँले बताइन् ।
कार्यक्रमका उपस्थित सरोकारवाला पक्षले बालश्रम अन्त्यको लागि आफ्नो तहबाट भूमिका खेल्ने प्रतिवद्धता जनाएका छन् । गाउँपालिकालाई बालश्रममुक्त घोषणा गर्नको लागि दुई वटा कार्यविधि र बालवालिका नीति तयार काम अघि बढाइएको कार्यक्रम संयोजक टेकराज खड्काले बताए ।



