मकवानपुर- मकवानपुरको बागमती गाउँपालिकामा आयोजित छैठौं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनल खेल सोमबार सम्पन्न भयो। बागमती-८ स्थित जनता माविको खेल मैदानमा भएको खेलमा मछिन्द्र फुटबल क्लबले न्यरोड टिम (एनआरटी) लाई ५-१ गोलले पराजित गर्दै फाइनल प्रवेश गरेको छ।
मछिन्द्रका हिसुव थपलिया र विदेशी खेलाडी स्टेफेन समीरले दुई-दुई गोल गरे भने विमल घर्ती मगरले एक गोल गरे। मछिन्द्रले खेलको नवौं मिनेटमा नै थपलियाको गोलबाट अग्रता लिएको थियो। त्यसपछि स्टेफेनले १३औं र ४६औं मिनेटमा गोल गरे। खेलको दोस्रो हाफको १४औं मिनेटमा थपलियाले व्यक्तिगत दोस्रो गोल गरे, जसलाई अन्त्यमा घर्तीले ९१औं मिनेटमा गोल गर्दै मछिन्द्रको विजयलाई पुख्ता बनाए।
एनआरटीका विदेशी खेलाडी सेवेले दोस्रो हाफको १५औं मिनेटमा गोल गरे तर टिमलाई हारबाट बचाउन सकेनन्। खेलको म्यान अफ द म्याच मछिन्द्रका हिसुव थपलिया घोषित भए, जसले १० हजार रुपैयाँ पुरस्कार रकम प्राप्त गरे।
यसअघि भएको क्वाटरफाइनल खेलमा एनआरटीले सिमराको नव जनजागृती युवा क्लबलाई हराउँदै सेमिफाइनल प्रवेश गरेको थियो भने मछिन्द्रले जावलाखेल युथ क्लबलाई पराजित गरी सेमिफाइनलमा स्थान बनाएको थियो।
अब फाइनलमा प्रवेश गरेको मछिन्द्र फुटबल क्लब विभागीय टोली त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बल एपीएफबीचको विजेतासँग बिहीबार उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।
प्रतियोगिताको विजेता टोलीले १० लाख रुपैयाँ नगद पुरस्कार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ। यस्तै, सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ र अन्य विधागत उत्कृष्ट खेलाडीहरूले २५-२५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।