काठमाडौं- डोटीको जोरायल गाउँपालिका-५ भाम गाउँमा रहेका ७१ वर्षीय वृद्ध व्यक्तिले आफ्नो लामो समयदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका छन्।
स्थानीय ठक्कर बहादुर खडायतले ७१ वर्षको उमेरमा ६३ वर्षीया कुमारी भाटको सिउँदो भरेका छन्। उक्त दम्पतीका तीन छोरी र एक छोरा छन्। भाटको माइती सुर्खेत हो। धेरै पहिले खडायत र भाटबीच लामो प्रेम सम्बन्ध थियो र उनीहरूबाट सन्तानसमेत भएका थिए। तर, खडायतले भाटलाई श्रीमतीको रूपमा घर भित्र्याए पनि सिउँदो भरेका थिएनन्।
जोरायल गाउँपालिका-५ गड्सेरामा स्थित ज्यूनेबस्तामा रहेको वैयाल परिवारले सप्ताह महायज्ञको आयोजना गरेको थियो। त्यही समारोहमा उक्त दम्पती वैवाहिक सूत्रमा बाँधिएका हुन्। समारोहमा खडायतका सखा ८१ वर्षीय डिल्लीराज भण्डारीसमेत सहभागी थिए। भण्डारी आफ्नो बाल सखाको बुढेसकालमा भएको बिहेमा सहभागी हुन पाउँदा खुसी भएका छन्। उनले यो विवाह नौलो र रमाइलो लागेको बताएका छन्।
खडायतका नातेदार र भाटका पनातिसमेत यस विवाहमा सहभागी भएका थिए। सोही सप्ताहमा चार व्रतबन्ध, तीन कपाल मण्डन र पास्नी कार्यक्रमसमेत सम्पन्न भएका थिए। महायज्ञका पुजारी शर्मानन्द ओझाले उक्त दम्पतीको विवाह सम्पन्न गरेका हुन्।