देशबागमती प्रदेशकिताबसँगै जीवनको सीप सिक्दै विद्यार्थी

किताबसँगै जीवनको सीप सिक्दै विद्यार्थी

हेटौँडा । सामान्यतया घरमा आमाबुबाले छोराछोरीलाई नयाँ कुरा सिकाउँछन्। तर हेटौँडा उपमहानगरपालिका–१८ हर्नामाडीकी सपना ढुङ्गानाको घरमा केही दिनअघि फरक अनुभव भयो। कक्षा ४ मा अध्ययनरत छोरी अधिश्री दाहालले आफ्नी आमालाई पुराना कागजबाट नयाँ कागज बनाउने तरिका सिकाइन्।

विद्यालयमा सिकेको कुरा छोरीले घरमै प्रयोग गरेर देखाएपछि ढुङ्गाना दङ्ग परिन्। काम नलाग्ने ठानेर फालिने कागजलाई पुनःप्रशोधन गरेर नयाँ कागज बनाउन सकिने कुरा उनले छोरीबाटै थाहा पाइन्।

“मेरी छोरीले विद्यालयमा खेर गएका कागजबाट नयाँ कागज बनाउन सिकेकी छन्। उनले मलाईसमेत कागज कसरी बनाउने भनेर सिकाइन्”, ढुङ्गानाले भनिन्।

अधिश्री हर्नामाडीस्थित मकवानपुर बाल विद्या सदन विद्यालयकी विद्यार्थी हुन्। विद्यालयले सञ्चालन गरेको ‘स्किल क्याम्प’मा सहभागी भएर उनले कागज पुनःप्रशोधन गर्ने सीप सिकेकी हुन्। कक्षा ४ का विद्यार्थीले पुराना कागजलाई पुनःप्रशोधन गरेर नयाँ कागज बनाउनुका साथै त्यसमा छपाइसमेत गरेका थिए।

विद्यालयमा सिकेको ज्ञान विद्यार्थीमार्फत घरपरिवारसम्म पुग्न थालेको यो एउटा उदाहरण हो।

मकवानपुर बाल विद्या सदनमा यतिबेला विद्यार्थीलाई पाठ्यपुस्तकको ज्ञानसँगै दैनिक जीवनमा उपयोगी हुने व्यावहारिक सीप सिकाउने अभ्यासले प्राथमिकता पाएको छ। विद्यालय परिसरमा कोही परालबाट गुन्द्री बुन्दै थिए भने कोही प्रविधिमा आधारित उपकरण तयार गरेर त्यसको प्रयोगबारे जानकारी दिइरहेका थिए। कतै परम्परागत सामग्री बनाउने अभ्यास भइरहेको थियो त कतै विद्यार्थीले आफैँ उत्पादन गरेका वस्तु प्रदर्शनमा राखिएका थिए।

विद्यालयले तीन वर्षदेखि सञ्चालन गर्दै आएको ‘स्किल क्याम्प’को तेस्रो संस्करणमा यस्ता गतिविधि देखिएका हुन्। विद्यार्थीलाई किताबमा लेखिएका कुरा पढाउने मात्र नभई आफ्नै हातले काम गर्न सिकाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको विद्यालयले जनाएको छ।

विद्यालयले ‘एक कक्षा, एक सीप’ अवधारणाअनुसार कक्षा १० उत्तीर्ण गर्दासम्म प्रत्येक विद्यार्थीलाई कम्तीमा १० वटा जीवनोपयोगी सीप सिकाउने लक्ष्य राखेको छ। विद्यार्थीको उमेर, क्षमता र रुचिअनुसार विभिन्न कक्षामा फरक–फरक सीप सिकाइने गरिएको छ।

विद्यालयका प्रधानाध्यापक सुदीपराज गिरीका अनुसार दसैँ–तिहारको लामो बिदापछि विद्यालय खुलेको पहिलो एक साता विद्यार्थीलाई नियमित पठनपाठनभन्दा फरक सिर्जनात्मक गतिविधिमा सहभागी गराइन्छ। यसले विद्यार्थीलाई बिदापछिको विद्यालय वातावरणमा घुलमिल हुन सहज बनाउनुका साथै नयाँ कुरा सिक्ने अवसर प्रदान गर्ने उनको भनाइ छ।

“विद्यार्थीलाई पाठ्यपुस्तकको ज्ञानमा मात्र सीमित नराखी दैनिक जीवनमा आवश्यक पर्ने काम आफैँ गर्न सक्ने बनाउने हाम्रो उद्देश्य हो”, गिरीले बताए।

यस वर्षको क्याम्पमा कक्षा ३ सम्मका विद्यार्थीलाई स्वास्थ्य तथा व्यक्तिगत सरसफाइसम्बन्धी अभ्यास गराइएको थियो। कक्षा ४ का विद्यार्थीले पुराना कागजको पुनःप्रशोधन र छपाइसम्बन्धी काम सिके। कक्षा ५ मा बुनाइ र कक्षा ६ मा कलासम्बन्धी गतिविधि सञ्चालन गरिएको थियो।

कक्षा ७ का विद्यार्थीलाई भने परालबाट गुन्द्री बुन्न सिकाइएको थियो। घरपरिवारमा कुनै समय दैनिक प्रयोग हुने गुन्द्री कसरी तयार गरिन्छ भन्ने कुरा उनीहरूले विद्यालयमै अभ्यास गरेर सिके।

विद्यालयले आवश्यक पराल र अन्य सामग्रीको व्यवस्था गरेको थियो। विद्यार्थीले पराल तयार पार्नेदेखि गुन्द्री बुन्नेसम्मका काम आफैँ गरे।

कक्षा ७ की विद्यार्थी सायास्ता परियार पनि गुन्द्री बुन्ने अभ्यासमा सहभागी भएकी थिइन्। यसअघि गुन्द्री बुन्न नजानेकी उनले विद्यालयमै नयाँ सीप सिक्न पाउँदा खुसी लागेको बताइन्।

पछिल्लो समय आधुनिक सामग्रीको प्रयोग बढेसँगै परम्परागत गुन्द्री बुन्नेजस्ता सीप नयाँ पुस्ताका लागि अपरिचित बन्दै गएका छन्। विद्यालयले यस्ता सीपलाई सिकाइसँग जोडेर विद्यार्थीलाई स्थानीय ज्ञान, संस्कृति र परम्परासँग समेत परिचित गराउने प्रयास गरेको छ।

विद्यालयको सिकाइ परम्परागत सीपमा मात्र सीमित छैन। आधुनिक विज्ञान र प्रविधिलाई पनि विद्यार्थीको व्यावहारिक शिक्षासँग जोडिएको छ।

कक्षा ८ का विद्यार्थीले रोबोटिक्स तथा विद्युतीय प्रविधिमा आधारित विभिन्न उपकरणका नमुना निर्माण गरेका थिए। उनीहरूले आफैँ तयार गरेका उपकरण प्रदर्शनीमा राखेर ती उपकरणको काम र उपयोगिताबारे जानकारी गराएका थिए।

प्रधानाध्यापक गिरीका अनुसार विद्यालयले विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणितलाई व्यावहारिक अभ्याससँग जोड्ने ‘स्टिम’ शिक्षण अवधारणालाई पनि समेटेको छ।

विद्यार्थीले कक्षाकोठामा पढेका विषयलाई प्रयोगात्मक गतिविधिमार्फत बुझ्न सकून् भन्ने उद्देश्यले विज्ञान र प्रविधिसम्बन्धी अभ्यास गराइएको हो।

कक्षा १० का विद्यार्थीले भने क्याम्प सञ्चालनका क्रममा स्वयंसेवकका रूपमा सहयोग गरेका थिए। यसबाट उनीहरूले कार्यक्रम व्यवस्थापन, जिम्मेवारी बाँडफाँट र सहकार्यको अभ्यास गर्ने अवसर पाएका थिए।

विद्यालयले विद्यार्थीलाई वस्तु उत्पादन गर्न मात्र होइन, त्यसको लागत निकाल्न, मूल्य निर्धारण गर्न र बजारमा बिक्री गर्नसमेत सिकाउन थालेको छ।

कक्षा ९ का विद्यार्थीले यस वर्ष तिहारलाई लक्षित गरी मैनबत्ती उत्पादन तथा बजारीकरणको अभ्यास गरेका थिए। समूहमा विभाजित विद्यार्थीले सामग्री सङ्कलन, मैनबत्ती उत्पादन र बिक्रीको जिम्मेवारी बाँडेर काम गरेका थिए।

यही अभ्यासमा सहभागी थिइन् कक्षा ९ की सोनु अधिकारी। उनले आफ्नो समूहमा मैनबत्तीको बजारीकरण गर्ने जिम्मेवारी पाएकी थिइन्।

सोनुका बुबा पुरुषोत्तम अधिकारीका अनुसार छोरीले विद्यालयमा मैनबत्ती उत्पादन र बिक्री गरेको कुरा घरमा सुनाएपछि उनले त्यसको लागत, बिक्री मूल्य र नाफाबारे सोधेका थिए।

विद्यार्थीले उत्पादन लागतमा करिब ४० प्रतिशत नाफा थपेर मैनबत्तीको बिक्री मूल्य निर्धारण गरेको उनले बताए।

छोरीले विद्यालयमा सिकेको सीपलाई व्यापार र आर्थिक हिसाबकिताबसँग जोडेर कुरा गर्न थालेपछि अधिकारी खुसी छन्।

“आफूले उत्पादन गरेको वस्तु कतिमा बेच्दा नाफा हुन्छ र बजार मूल्यअनुसार कसरी अघि बढ्नुपर्छ भन्ने ज्ञान विद्यार्थीले हासिल गर्नु खुसीको कुरा हो”, अधिकारीले भने।

उनका अनुसार बालबालिकालाई पढ्ने, लेख्ने र परीक्षा उत्तीर्ण गर्ने ज्ञानसँगै दैनिक जीवनमा आवश्यक पर्ने सीप सिकाउनु उत्तिकै महत्त्वपूर्ण छ।

मैनबत्तीको उत्पादन तथा बिक्री अभ्यासले विद्यार्थीलाई सामग्री तयार गर्नु मात्र व्यवसाय नभएको, त्यसको लागत, बजार मूल्य, ग्राहक र सम्भावित नाफाबारे पनि सोच्नुपर्ने ज्ञान दिएको उनको बुझाइ छ।

स्किल क्याम्पको प्रभाव विद्यार्थीमा मात्र होइन, उनीहरूका अभिभावकमा समेत देखिन थालेको छ।

अभिभावक सपना ढुङ्गानाका अनुसार यस्ता गतिविधिले बालबालिकामा नयाँ कुरा सिक्ने उत्साह बढाएको छ। लामो बिदापछि विद्यालय जाँदा नियमित कक्षाको पढाइ मात्र नभई फरक काम गर्न पाइने भएकाले बालबालिका उत्साहित हुने गरेका छन्।

“एकपटक कुनै सीप सिकेपछि त्यसबाट अरू कुरा पनि आफैँ खोजेर सिक्ने बानीको विकास हुँदोरहेछ”, ढुङ्गानाले भनिन्।

छोरीले विद्यालयमा सिकेको सीप घरमै प्रयोग गरेर देखाउँदा आफूलाई पनि नयाँ कुरा सिक्ने अवसर मिलेको उनले बताइन्।

अर्का अभिभावक पुरुषोत्तम अधिकारीले पनि विद्यालयमा सिकेको कुरा बालबालिकाले घरमा प्रयोग गर्न थालेको अनुभव सुनाए। उनका अनुसार विद्यार्थीले सरसफाइ र वातावरण संरक्षणसम्बन्धी सिकेका कुरा परिवारका सदस्यलाई समेत सम्झाउने गरेका छन्।

कहिलेकाहीँ घरमा फोहर व्यवस्थापनमा ध्यान नदिँदा बालबालिकाले उल्टै सचेत गराउने गरेको उनले बताए।

विद्यालयले सञ्चालन गर्ने यस्ता गतिविधिमा अभिभावकको सहभागिता पनि आवश्यक रहेको उनको धारणा छ। विद्यार्थीले तयार पारेका सामग्रीको प्रदर्शनी अवलोकन गर्ने, उनीहरूको प्रयासलाई प्रोत्साहन गर्ने र विद्यालयमा सिकेका कुरा घरमा प्रयोग गर्ने वातावरण मिलाउनुपर्ने उनले बताए।

विद्यालयले यसअघि पनि विद्यार्थीलाई विभिन्न व्यावहारिक गतिविधिमा सहभागी गराउँदै आएको छ।

विद्यार्थीलाई विद्यालय परिसरमै धान रोप्ने, हुर्काउने, काट्ने, चुट्ने र भित्र्याउनेसम्मका काम सिकाइएको थियो। यसबाट उनीहरूले कृषि उत्पादनका विभिन्न चरणबारे प्रत्यक्ष अनुभव प्राप्त गरेका थिए।

त्यसैगरी जैविक फोहरबाट कम्पोस्ट मल निर्माण गर्ने अभ्याससमेत गराइएको थियो। विद्यालयले यस्ता गतिविधिमार्फत विद्यार्थीलाई कृषि, वातावरण संरक्षण र फोहर व्यवस्थापनसम्बन्धी ज्ञानसँग परिचित गराउँदै आएको छ।

प्रधानाध्यापक गिरीका अनुसार परम्परागत सीपको संरक्षण र आधुनिक प्रविधिको प्रयोगलाई सँगसँगै अघि बढाउनु विद्यालयको उद्देश्य हो।

विद्यार्थीले पढेका विषयलाई दैनिक जीवनसँग जोड्न सके सिकाइ थप उपयोगी हुने उनको विश्वास छ। यसका लागि विद्यालयले सीपमूलक शिक्षालाई निरन्तरता दिने योजना बनाएको छ।

विद्यालयले सञ्चालन गरेको स्किल क्याम्पको तेस्रो संस्करण शुक्रबार विद्यार्थीले तयार पारेका सामग्री र सिकेका सीपको प्रदर्शनीसँगै सम्पन्न भएको हो।

हेटौँडाको यो विद्यालयमा भइरहेको अभ्यासले सिकाइ कक्षाकोठा र पाठ्यपुस्तकमा मात्र सीमित हुनुपर्दैन भन्ने देखाएको छ। विद्यार्थीले विद्यालयमा सिकेको सीप घरमा प्रयोग गर्न थालेका छन्। छोरीले आमालाई कागज बनाउन सिकाउनु र विद्यार्थीले आफैँ मैनबत्ती बनाएर त्यसको नाफाघाटाको हिसाब निकाल्नु त्यसकै उदाहरण हुन्।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार