पर्यटनघुम्ने ठाउँ प्रशस्त, पर्यटनबाट आम्दानी बढाउने अवसर गुमाउँदै मकवानपुर

घुम्ने ठाउँ प्रशस्त, पर्यटनबाट आम्दानी बढाउने अवसर गुमाउँदै मकवानपुर

प्रकृति, संस्कृति र इतिहासले भरिपूर्ण मकवानपुरका सम्पदालाई पर्यटन व्यवसायसँग जोड्ने अवसर अझै बाँकी छ। हेटौँडा पर्यटन वर्ष २०८३ ले पर्यटकको बसाइ लम्ब्याउने र स्थानीय अर्थतन्त्र चलायमान बनाउने अपेक्षा जगाएको छ।

हेटौँडा । बिहानको शीतल हावासँगै दामन–सीमभञ्ज्याङका डाँडाबाट हिमशृङ्खलाको दृश्य नियाल्ने, दिउँसो इन्द्रसरोवरको शान्त पानीमा पहाडको छायाँ हेर्ने र अर्को दिन सेनकालीन मकवानपुरगढी पुगेर इतिहासका पाना पल्टाउने अवसर एउटै जिल्लामा पाइन्छ। कतै धार्मिक आस्थाका मन्दिर छन्, कतै चट्टानमाथिबाट झर्ने झरना। कतै पुरानो राज्यव्यवस्थाको इतिहास बोकेका गढी छन् भने कतै ग्रामीण जीवन, स्थानीय संस्कृति र प्रकृतिसँग नजिक हुने ठाउँ।

यो विविधता बोकेको जिल्ला हो मकवानपुर।

नेपालको मध्यभागमा अवस्थित मकवानपुरलाई धेरैले बागमती प्रदेशको राजधानी हेटौँडा, औद्योगिक क्षेत्र र देशका विभिन्न भाग जोड्ने सडक सञ्जालका कारण चिन्छन्। तर यसको अर्को पहिचान पनि छ, जुन अझै पर्याप्त रूपमा स्थापित हुन सकेको छैन। त्यो हो प्राकृतिक, ऐतिहासिक, धार्मिक र सांस्कृतिक पर्यटनको सम्भावना।

काठमाडौँबाट नजिकको प्राकृतिक गन्तव्य खोज्ने हुन् वा चितवनतर्फको यात्रालाई ऐतिहासिक अवलोकनसँग जोड्ने, मकवानपुरसँग यात्रुलाई आकर्षित गर्न सक्ने पर्याप्त आधार छन्। तर यी गन्तव्यलाई एउटै पर्यटकीय अनुभवमा जोड्ने प्रयास भने सीमित देखिन्छ।

पर्यटक कुनै स्थानमा पुग्नु मात्रै पर्यटनको पूर्ण सफलता होइन। उनीहरू त्यहाँ कति समय बिताउँछन्, कहाँ बस्छन्, स्थानीय उत्पादन कति प्रयोग गर्छन् र त्यसबाट स्थानीय समुदायले कस्तो लाभ पाउँछ भन्ने कुरा पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ।

मकवानपुरको पर्यटनले अहिले खोजिरहेको बाटो यही हो।

हेटौँडा आउने धेरैका लागि सहिद स्मारक परिचित गन्तव्य हो। हरियाली वातावरण, ऐतिहासिक व्यक्तित्वका प्रतिमा, बालबालिकाका मनोरञ्जन सामग्री, वनभोजस्थल र विभिन्न साहसिक गतिविधिका कारण यो स्थान परिवार तथा शैक्षिक भ्रमणका लागि आकर्षक छ।

स्मारकमा नयाँ वर्ष र सार्वजनिक बिदाका समयमा पर्यटकको चहलपहल बढ्ने गरेको छ। स्मारक कार्यालयका लेखा अधिकृत आशिष बिडारीका अनुसार नयाँ वर्षको दिन यहाँ ३० हजारसम्म पर्यटक आउने गरेका छन्।

स्मारकभित्र विभिन्न कालखण्डका सहिदहरूको स्मृतिमा निर्माण गरिएका आकृति, प्रजातान्त्रिक आन्दोलनका नेताहरूका प्रतिमा, जातीय सङ्ग्रहालय, प्रजातान्त्रिक पार्क र ६५ फिट अग्लो सहिदस्तम्भ रहेका छन्। यहाँ घुम्न, खेल्न, इतिहास बुझ्न र परिवारसँग समय बिताउन सकिन्छ।

तर हेटौँडाको पर्यटकीय परिचय सहिद स्मारकमै सीमित छैन।

सहरकै आस्थाको केन्द्र भुटनदेवी मन्दिर, धार्मिक तथा आध्यात्मिक वातावरण बोकेको कुष्माण्ड सरोवर त्रिवेणीधाम, भैरवडाँडास्थित पाथीभरा मन्दिर र वृन्दावन फरक रुचिका यात्रुका लागि आकर्षक स्थान हुन्।

हेटौँडाको दक्षिणी क्षेत्रमा अवस्थित चुरियामाई मन्दिर र ऐतिहासिक चुरिया सुरुङमार्गले यात्रालाई इतिहाससँग जोड्छन्। नेपालमा सडक यातायातको विकासक्रम बुझ्न रुचाउनेहरूका लागि सुरुङमार्ग महत्त्वपूर्ण सम्पदा हो।

त्यस्तै, हर्नामाडीको गुम्बाडाँडास्थित मूर्तिकला उद्यान कलाप्रेमीका लागि आकर्षक गन्तव्य बन्न सक्छ। विभिन्न देशका मूर्तिकारले सिर्जना गरेका मूर्तिले यस क्षेत्रलाई खुला कलास्थलको पहिचान दिएका छन्। जुरेथुमस्थित ४२ फिट अग्लो श्रीकृष्णको मूर्ति रहेको क्षेत्र पनि धार्मिक पर्यटनको सम्भावना बोकेको स्थान हो।

यी सम्पदाको विशेषता फरक–फरक छ। सहिद स्मारकले इतिहास र मनोरञ्जन दिन्छ, चुरियाले पुरानो यातायात प्रविधिको कथा सुनाउँछ, मन्दिरहरूले धार्मिक आस्था जोड्छन् भने मूर्तिकला उद्यानले कलाको अनुभव गराउँछ।

यिनलाई योजनाबद्ध रूपमा जोड्न सकिए हेटौँडामै एक दिनभन्दा बढी समय बिताउने पर्यटकीय कार्यक्रम तयार गर्न सकिन्छ। तर त्यसका लागि गन्तव्यको नाम प्रचार गर्नु मात्रै पर्याप्त हुँदैन। पहुँचमार्ग, नियमित सरसफाइ, पर्यटकीय सूचना, सार्वजनिक शौचालय, सहज यातायात र सेवासुविधा पनि उत्तिकै आवश्यक हुन्छन्।

हेटौँडाको सहरी वातावरणबाट केही टाढा पुग्दा मकवानपुरको स्वरूप नै बदलिन्छ।

थाहा नगरपालिकाको दामन र सीमभञ्ज्याङ प्राकृतिक दृश्यावलोकनका लागि परिचित क्षेत्र हुन्। यहाँको चिसो हावा, वनजङ्गल, कुहिरोले छोपिने पहाडी बस्ती र मौसम खुलेका बेला देखिने हिमाली दृश्यले फरक अनुभव दिन्छन्।

दामनको आकर्षण कुनै एउटा दृश्यमा मात्र सीमित छैन। पहाडी मौसम, शान्त वातावरण र प्रकृतिसँग बिताउन पाइने समय नै यहाँको मुख्य विशेषता हो।

यही भेगको चित्लाङले भने यात्रुलाई ग्रामीण जीवनसँग परिचित गराउँछ। हरिया फाँट, पुराना बस्ती, स्थानीय जीवनशैली, कृषि उत्पादन र पहाडी वातावरण चित्लाङका आकर्षण हुन्। यहाँको भ्रमणलाई स्थानीय आतिथ्य, खानपान र ग्रामीण पर्यटनसँग जोड्ने सम्भावना छ।

नजिकैको इन्द्रसरोवर अर्को प्रकृतिको गन्तव्य हो। पहाडका बीच फैलिएको विशाल जलाशय, त्यसको किनारका बस्ती र वरपरको हरियालीले यात्रुलाई लोभ्याउँछ।

जलविद्युत् उत्पादनसँग जोडिएको यो जलाशयको महत्त्व ऊर्जा क्षेत्रमा मात्र सीमित छैन। यसको प्राकृतिक दृश्य र आसपासको ग्रामीण वातावरणले पर्यटनका लागि पनि अवसर सिर्जना गरेको छ।

इन्द्रसरोवर वरपरको भ्रमणलाई स्थानीय होटल, रेस्टुरेन्ट, होमस्टे, खानपान र अन्य सेवासँग जोड्न सके समुदायले प्रत्यक्ष आर्थिक लाभ लिन सक्छ।

तर प्राकृतिक सुन्दरतालाई पर्यटन व्यवसायमा बदल्दा वातावरणीय संरक्षणलाई पनि ध्यान दिनुपर्छ। फोहोर व्यवस्थापन, जलाशयको सुरक्षा, निर्माण कार्यको प्रभाव र स्थानीय बस्तीको दैनिकीलाई बेवास्ता गरेर गरिएको विकास दीर्घकालीन हुन सक्दैन।

दामन, चित्लाङ र इन्द्रसरोवरलाई आपसमा जोडेर पर्यटन कार्यक्रम बनाउन सकिन्छ। यी गन्तव्यको विशेषता एउटै यात्रामा फरक–फरक अनुभव दिन सक्नु हो।

प्राकृतिक पर्यटनबाट ऐतिहासिक पर्यटनतर्फ मोडिँदा मकवानपुरगढी छुटाउन नमिल्ने गन्तव्य हो।

हेटौँडाबाट करिब १६ किलोमिटर पूर्वमा रहेको मकवानपुरगढी सेनकालीन इतिहास र नेपालको एकीकरण प्रक्रियासँग जोडिएको महत्त्वपूर्ण सम्पदा हो। समुद्री सतहबाट करिब एक हजार १७ मिटर उचाइमा रहेको गढीमा पुग्दा पुरानो राज्यव्यवस्था, किल्लाको बनावट र तत्कालीन सुरक्षात्मक संरचनाको झलक पाइन्छ।

कुनै समय मकवानपुर राज्यको राजनीतिक तथा सामरिक महत्त्व बोकेको यो क्षेत्र अहिले इतिहास बुझ्न चाहनेहरूका लागि महत्त्वपूर्ण गन्तव्य बनेको छ।

गढीका पुराना पर्खाल र संरचनाले विगतको कथा बोल्छन्। यहाँको भ्रमण ऐतिहासिक स्थल हेर्ने अवसर मात्रै नभई नेपालको राज्य निर्माण प्रक्रियालाई नजिकबाट बुझ्ने माध्यम पनि बन्न सक्छ।

मकवानपुरगढी गाउँपालिका–२ का वडाध्यक्ष बखानसिंह पाख्रिनका अनुसार गढीलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न पूर्वाधार निर्माणका विभिन्न काम अघि बढाइएको छ।

गढीसँगै मनकामना मन्दिर र सहिद रुद्रबाटिका पार्कलाई समेत भ्रमणमा समेट्न सकिन्छ। विशेषगरी हेटौँडानजिकै धार्मिक तथा प्राकृतिक वातावरण खोज्नेहरूका लागि मकवानपुरगढी–४ स्थित मनकामना मन्दिर क्षेत्र उपयुक्त विकल्प हो।

ऐतिहासिक गढीको संरक्षणसँगै यसको इतिहासलाई व्यवस्थित रूपमा जानकारी गराउने सामग्री, सूचना पाटी र स्थानीय पथप्रदर्शकको व्यवस्था गर्न सकिए भ्रमणको शैक्षिक महत्त्वसमेत बढ्न सक्छ।

मकवानपुरको पर्यटन बुझ्न पुरानो भीमफेदी सम्झनुपर्छ।

आधुनिक सडक सञ्जाल विस्तार हुनुअघि भीमफेदी काठमाडौँ प्रवेश गर्ने प्रमुख मार्गसँग जोडिएको व्यापारिक तथा ऐतिहासिक केन्द्र थियो। यहाँका पुराना संरचना, चिसापानी गढी, हात्तीसार क्षेत्र र धार्मिक स्थलले विगतको यातायात, व्यापार तथा सामाजिक जीवन सम्झाउँछन्।

भीमफेदीलाई केवल बाटोमा पर्ने बजारका रूपमा होइन, ऐतिहासिक पदयात्रा र सम्पदा अवलोकनको गन्तव्यका रूपमा विकास गर्ने अवसर छ।

चिसापानी गढीले सुरक्षात्मक इतिहास सम्झाउँछ भने त्रिखण्डी क्षेत्रले धार्मिक आस्था र प्राकृतिक वातावरणलाई जोड्छ। यी सम्पदाको संरक्षण र व्यवस्थित प्रचारले ऐतिहासिक पर्यटनमा नयाँ आकर्षण थप्न सक्छ।

अर्कोतर्फ, राक्सिराङ गाउँपालिकाको जलपरी झरना मकवानपुरको प्राकृतिक पर्यटनको अर्को सम्भावना हो।

राक्सिराङ–३, गलमटे केराबारीमा रहेको यो झरना हेटौँडा बजारबाट करिब ३० किलोमिटर तथा मनहरिबाट करिब १० किलोमिटर दूरीमा पर्छ। पहाडी भूगोल, वनजङ्गल र चट्टानबीचको झरनाले साहसिक तथा प्रकृतिप्रेमी यात्रुलाई आकर्षित गर्न सक्छ।

वडाध्यक्ष उत्तम वाइबाका अनुसार झरनासँगै चमेरे गुफालाई समेटेर पर्यटकीय विकासका प्रयास भइरहेका छन्। त्यसका लागि २०७४ सालयता संरक्षण तथा पूर्वाधारका काम अघि बढाइएको र प्रदेश तथा स्थानीय तहबाट हालसम्म एक करोड २७ लाख रुपैयाँ बजेट विनियोजन भएको उनले जानकारी दिएका छन्।

राक्सिराङको सम्भावना झरनामा मात्र सीमित छैन। चैनपुरस्थित चेपाङ सङ्ग्रहालयले स्थानीय समुदायको इतिहास, संस्कृति र पहिचान चिनाउने अवसर प्रदान गर्छ।

यस्ता गन्तव्यको पर्यटन विकासमा स्थानीय समुदायको सहभागिता अत्यावश्यक हुन्छ। बाहिरबाट आउने पर्यटकका लागि आकर्षण थपिँदा स्थानीय संस्कृति, परम्परा र प्राकृतिक सम्पदाको संरक्षण पनि सँगसँगै हुनुपर्छ।

मनहरीको रमौली जङ्गल सफारी र बनकरिया होमस्टेले वन्यजन्तु, प्रकृति र स्थानीय जीवनसँग जोडिएको पर्यटनको अर्को सम्भावना देखाउँछन्।

जिल्लाका अन्य स्थानीय तह पनि सम्भावनाविहीन छैनन्। बकैया गाउँपालिकाका गौतम बुद्ध पार्क, धनेश्वर पार्क, अम्बास गढी र लटरम्बेश्वर महादेव मन्दिर धार्मिक तथा प्राकृतिक पर्यटनका सम्भावना बोकेका स्थल हुन्। बागमती गाउँपालिकाको गोल्मे दरबार क्षेत्र, झुरझुरेको सहिद स्मारक पार्क र बेतिनीको वनभोजस्थलले पनि पर्यटकीय गतिविधि विस्तार गर्न सक्छन्। कैलाश गाउँपालिकाका कैलाश बैकुण्ठ, देखारी र घैराङ पर्यटक पार्कजस्ता क्षेत्रलाई समेत पर्यटनको योजनामा जोड्न सकिन्छ।

यसरी हेर्दा मकवानपुरका १० वटै स्थानीय तहमा पर्यटनका फरक सम्भावना छन्। कुनै पालिकाले इतिहास चिनाउँछ, कुनैले प्रकृति, कुनैले धार्मिक आस्था र कुनैले समुदायको जीवनशैली।

मकवानपुरको पर्यटन विकाससँग जोडिएको अर्को महत्त्वपूर्ण पक्ष स्थानीय अर्थतन्त्र हो।

कुनै पर्यटक हेटौँडा आएर सहिद स्मारक घुम्छन् र त्यही दिन फर्किन्छन् भने उनको खर्च निश्चित सेवामा सीमित हुन सक्छ। तर त्यही यात्रु थप गन्तव्य घुम्छन्, स्थानीय होटलमा बस्छन्, रेस्टुरेन्टमा खाना खान्छन्, यातायात सेवा प्रयोग गर्छन् र स्थानीय उत्पादन खरिद गर्छन् भने पर्यटनको आर्थिक लाभ धेरै व्यवसायसम्म पुग्न सक्छ।

यो अवसर होटल र रेस्टुरेन्ट व्यवसायमा मात्र सीमित छैन। किसानले उत्पादन गरेको तरकारी, फलफूल तथा स्थानीय खाद्य सामग्री, घरेलु उद्यमीले बनाएका सामान, हस्तकला, यातायात सेवा र स्थानीय पथप्रदर्शक पनि पर्यटनको आर्थिक शृङ्खलामा जोडिन सक्छन्।

मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोदसिंह रानाभाटले यसअघि इन्फो नेपालसँगको अन्तर्वार्तामा व्यावसायिक वातावरण सुधार र स्थानीय उत्पादनको बजार विस्तारमा जोड दिएका थिए।

उनले मकवानपुरका उत्पादनको बजारीकरणका लागि प्रभावकारी रणनीति आवश्यक रहेको धारणा राखेका थिए। स्थानीय उत्पादनको गुणस्तर भए पनि बजार विस्तार गर्ने उपयुक्त रणनीतिको कमी रहेको उनको भनाइ थियो।

पर्यटनका सन्दर्भमा पनि उत्पादन र बजारबीचको यो सम्बन्ध महत्त्वपूर्ण देखिन्छ।

उदाहरणका लागि, चित्लाङ घुम्न पुगेका यात्रुलाई स्थानीय उत्पादनसँग परिचित गराउन सकिन्छ। मकवानपुरगढी भ्रमण गर्ने पर्यटकले स्थानीय हस्तकला वा स्मृतिचिह्न खरिद गर्ने व्यवस्था हुन सक्छ। ग्रामीण गन्तव्यमा स्थानीय खानपान र आतिथ्यलाई पर्यटकीय अनुभवको हिस्सा बनाउन सकिन्छ।

तर यस्ता सम्भावनालाई व्यवसायमा बदल्न निजी क्षेत्रको सक्रियता आवश्यक हुन्छ। पर्यटनमा लगानी गर्न इच्छुक व्यवसायीलाई उपयुक्त वातावरण, विश्वसनीय जानकारी र स्थानीय सरकारसँग समन्वय चाहिन्छ।

यहाँ मकवानपुर उद्योग वाणिज्य संघजस्ता संस्थाले होटल तथा पर्यटन व्यवसायी, स्थानीय उत्पादक र अन्य उद्यमीलाई जोड्ने भूमिका खेल्न सक्छन्।

पर्यटनको विकासले आम्दानी बढाउन सक्छ भन्ने अपेक्षा स्वाभाविक हो। तर त्यसलाई वास्तविक उपलब्धिमा बदल्न पर्यटकको सङ्ख्या, बसाइ अवधि, खर्च र स्थानीय रोजगारीजस्ता विषयमा व्यवस्थित तथ्याङ्क संकलन पनि आवश्यक हुन्छ।

यही सम्भावनालाई केन्द्रमा राख्दै हेटौँडा उपमहानगरपालिकाले ‘हेटौँडा पर्यटन वर्ष २०८३’ का कार्यक्रम अघि बढाएको छ।

उपमहानगरपालिकाले ऐतिहासिक, धार्मिक, सांस्कृतिक र प्राकृतिक गन्तव्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने उद्देश्य राखेको छ।

नगर प्रमुख मीनाकुमारी लामाले उपमहानगरपालिका पर्यटनलाई प्राथमिकतामा राखेर अघि बढिरहेको बताएकी छन्। उनका अनुसार पर्यटनसँग सम्बन्धित पूर्वाधार विकासका साथै पर्यटकीय स्थलको प्रचारप्रसारमा पनि नगरले जोड दिँदै आएको छ।

उपमहानगरपालिकाले पर्यटन वर्षको आधिकारिक प्रतीकचिह्न तयार गर्ने प्रक्रियासमेत अघि बढाएको छ। यसका लागि कलाकार, डिजाइनर, नागरिक तथा सङ्घसंस्थालाई सहभागी हुन सार्वजनिक आह्वान गरिएको थियो।

‘जाऔँ हेटौँडा, रमाऔँ हेटौँडामा’ भन्ने नारासहित पर्यटन वर्षलाई स्वच्छ र पर्यटकमैत्री नगर निर्माणसँग जोड्ने प्रयास पनि गरिएको छ।

पर्यटन वर्षलाई लक्षित गर्दै उपमहानगरले ‘शून्य फोहोर’ महाअभियान घोषणा गरेको छ। नगर प्रमुख लामाले सरसफाइ एक दिनको कार्यक्रम नभई नियमित रूपमा अपनाउनुपर्ने संस्कार भएको बताउँदै अभियानलाई वर्षभरि निरन्तरता दिने धारणा व्यक्त गरेकी छन्।

पर्यटनका लागि यो पक्ष महत्त्वपूर्ण छ। सुन्दर प्राकृतिक स्थलमा फोहोरको थुप्रो, ऐतिहासिक सम्पदामा अव्यवस्थित संरचना र धार्मिक स्थलमा आधारभूत सुविधाको अभाव भए पर्यटकले राम्रो अनुभव गर्न सक्दैनन्।

त्यसैले पर्यटन वर्षको सफलता कति कार्यक्रम आयोजना भए भन्ने आधारमा मात्र होइन, गन्तव्यमा पुगेका पर्यटकले कस्तो अनुभव गरे भन्ने आधारमा पनि मूल्याङ्कन गर्नुपर्ने हुन्छ।

नगरको पर्यटन वर्षलाई जिल्लाका अन्य पालिकासँग समन्वय गर्ने अवसरका रूपमा उपयोग गर्न सकिन्छ। हेटौँडामा आएका पर्यटकलाई मकवानपुरगढी, इन्द्रसरोवर, थाहा, भीमफेदी तथा अन्य सम्भावित गन्तव्यको जानकारी गराउने साझा व्यवस्था बन्न सके जिल्लाभर पर्यटन विस्तारको आधार तयार हुन्छ।

मकवानपुरमा पर्यटकीय स्थल पहिचानको प्रयास नयाँ होइन। विसं २०७६ सालमै जिल्लाका १० वटै पालिकाबाट पर्यटकीय गन्तव्य छनोट गर्ने काम गरिएको थियो।

त्यसयता विभिन्न स्थानमा पूर्वाधार निर्माणका काम भए। केही नयाँ गन्तव्य चर्चामा आए। सडक, पार्क, मन्दिर परिसर र अवलोकनस्थलको विकासमा लगानी पनि भयो।

तर एउटा गन्तव्यबाट अर्को गन्तव्यसम्म पर्यटकलाई कसरी पुर्‍याउने भन्ने सवाल अझै महत्त्वपूर्ण छ।

अहिले यात्रुहरूले इन्टरनेट र सामाजिक सञ्जालबाट गन्तव्य खोज्ने क्रम बढेको छ। तर मकवानपुरका सम्पदाको बारेमा सही र व्यवस्थित जानकारी, भ्रमणको उपयुक्त मौसम, पहुँचमार्ग, अनुमानित समय, उपलब्ध सेवा तथा सम्पर्क विवरण एउटै माध्यमबाट पाउने व्यवस्था विस्तार गर्न सकिन्छ।

विशेषगरी नयाँ गन्तव्यमा पुग्ने यात्रुलाई सडकको अवस्था, सुरक्षा, मौसम तथा प्राकृतिक जोखिमसम्बन्धी जानकारी अत्यावश्यक हुन्छ।

यसमा स्थानीय सरकार, पर्यटन व्यवसायी, होटल तथा यातायात व्यवसायी, समुदाय र सञ्चारमाध्यमबीच सहकार्यको सम्भावना छ।

पर्यटन प्रवर्द्धनको अर्को प्रभावकारी माध्यम भ्रमण अनुभव हो। कुनै यात्रुले घुमेको ठाउँको राम्रो अनुभव अरूलाई सुनाउँछन् भने त्यसले नयाँ यात्रुलाई आकर्षित गर्न सक्छ। त्यसैले पर्यटकलाई आकर्षित गर्ने विज्ञापनसँगै उनीहरूले पाउने सेवाको गुणस्तरमा ध्यान दिन आवश्यक छ।

मकवानपुरसँग सुन्दर दृश्य छन्। इतिहास बोकेका किल्ला छन्। पुराना सडक र सुरुङमार्ग छन्। मन्दिर, ताल, झरना र हरिया डाँडाकाँडा छन्। समुदायपिच्छे फरक जीवनशैली र सांस्कृतिक पहिचान छन्।

तर पर्यटकका लागि कुनै ठाउँ सुन्दर हुनु र त्यो ठाउँ उत्कृष्ट पर्यटकीय गन्तव्य बन्नु फरक कुरा हुन्।

प्राकृतिक सौन्दर्यले मानिसलाई आकर्षित गर्न सक्छ, इतिहासले जिज्ञासा बढाउन सक्छ र संस्कृतिले नयाँ अनुभव दिन सक्छ। तर यी सबैलाई सम्झनलायक यात्रामा बदल्ने काम व्यवस्थित पर्यटन सेवाले गर्छ।

हेटौँडाको सहिद स्मारक घुम्न आएको परिवारलाई मकवानपुरगढीको इतिहास चिनाउन सकिन्छ। दामन पुगेका यात्रुलाई चित्लाङको ग्रामीण जीवनसँग जोड्न सकिन्छ। इन्द्रसरोवर हेर्न आएका पर्यटकलाई स्थानीय खानपान र आतिथ्यको अनुभव दिन सकिन्छ। राक्सिराङको झरना घुम्न पुग्नेहरूलाई त्यहाँको प्राकृतिक वातावरण र समुदायको सांस्कृतिक पहिचान बुझ्ने अवसर मिलाउन सकिन्छ।

यी सम्भावनालाई व्यवहारमा उतार्दा स्थानीय समुदायको सहभागिता, वातावरण संरक्षण र पर्यटनबाट प्राप्त लाभको न्यायोचित वितरणलाई प्राथमिकता दिनुपर्ने हुन्छ।

मकवानपुरको पर्यटनले अब गन्तव्यको सङ्ख्या बढाउनेभन्दा पनि भएका सम्पदाको मूल्य र उपयोग बढाउने दिशामा ध्यान दिन आवश्यक छ।

किनकि पर्यटनको वास्तविक उपलब्धि पर्यटकले खिचेर लगेको सुन्दर तस्बिरमा मात्रै सीमित हुँदैन। उनीहरूले स्थानीय स्तरमा सिर्जना गरेको रोजगारी, आम्दानी र अवसरमा पनि त्यसको प्रभाव देखिनुपर्छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार