काठमाडाैँ। नेपाल विद्युत प्राधिकरणले तिहार तथा छठ पर्वका अवसरमा विद्युत् आपूर्ति निरन्तर र गुणस्तरीय बनाउन विशेष तयारी गरेको छ। उज्यालोको पर्व तिहारमा बत्ती जाने समस्या हुन नदिन उत्पादन, प्रसारण र वितरण प्रणालीलाई दुरुस्त राख्दै प्राविधिक कर्मचारीलाई २४ सै घण्टा ‘स्ट्यान्डबाइ’ राखिएको प्राधिकरणले जनाएको छ।
तिहारको लक्ष्मीपूजाका दिन भोलि (आइतबार) बेलुकी विद्युत्को अधिकतम माग करिब १ हजार ७०० मेगावाट पुग्ने अनुमान गरिएको छ। सो समयमा स्वदेशी आयोजनाहरूबाट झण्डै २ हजार ५०० मेगावाट विद्युत् उत्पादन हुने प्रक्षेपण गरिएकाले आन्तरिक उत्पादनबाटै माग सजिलै धानिने प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले जानकारी दिए। मागभन्दा उत्पादन बढी भएकाले विद्युत्को अभाव नहुने उनको भनाइ छ।
प्रणाली सञ्चालन र सम्भावित प्राविधिक चुनौती व्यवस्थापनका लागि कार्यकारी निर्देशक श्रेष्ठको अध्यक्षतामा वरिष्ठ व्यवस्थापन तथा प्रादेशिक कार्यालय प्रमुखहरूसँग भर्चुअल बैठक बसी आवश्यक निर्देशन दिइएको छ। विद्युत् आपूर्तिमा समस्या आए तत्काल मर्मत गर्न र ‘नो लाइट’ सेवामा प्राप्त हुने फोन तथा गुनासो छिटो सम्बोधन गर्न मातहतका निकायलाई कडा निर्देशन दिइएको छ।
साथै प्राधिकरणले तिहार र छठमा सजावट गर्दा विद्युत्को सुरक्षित प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। गुणस्तरहीन विद्युतीय सामग्री प्रयोग नगर्न, घरको वायरिङ जाँच गर्न र कुनै समस्या देखिए आफैँ मर्मत नगरी दक्ष प्राविधिकको सहयोग लिन प्राधिकरणले अनुरोध गरेको छ।


