हेटौँडा । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले राजनीतिक दलका नेता र कार्यकर्ताको भूमिकामाथि कटाक्ष गर्दै सामाजिक सञ्जालमा नयाँ स्टाटस लेखेका छन् । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकार र पार्टीबीच कुनै खटपट नरहेको बताएकै दिन प्रधानमन्त्री शाहले पार्टी जोगाउने र देश जोगाउनेबीच फरक रहेको टिप्पणी गरेका हुन् ।
बालेनले फेसबुकमा लेखेका छन्, ‘तपाईंहरूको कार्यकर्ता लड्छन्, नेता हाँसेर बस्छन् । हाम्रा नेता लड्छन्, मानवताले आश गर्छन् । फरक यति हो ! देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ !’
प्रधानमन्त्रीको यो अभिव्यक्तिले पार्टीको स्वार्थ र देशको हितलाई तुलना गरेको देखिन्छ । यद्यपि उनले आफ्नो टिप्पणी कसलाई लक्षित गरेर लेखेका हुन् भन्ने खुलाएका छैनन् ।
यसअघि बिहीबार चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपा सभापति लामिछानेले सरकार र पार्टीबीच कुनै अन्तरद्वन्द्व नरहेको बताएका थिए । उनले सरकारले गर्ने काममा पार्टीले हस्तक्षेप नगर्ने र दुवै पक्षबीच नियमित संवाद तथा समन्वय भइरहेको स्पष्ट पारेका थिए ।
लामिछानेले नेपाल प्रहरीका महानिरीक्षक परिवर्तन गर्ने सरकारको निर्णयको औचित्य पुष्टि गर्ने जिम्मेवारीसमेत सरकारकै भएको बताएका थिए ।
पछिल्लो समय प्रधानमन्त्री शाह र सभापति लामिछानेबीचको सम्बन्ध तथा सरकार र पार्टीबीचको समन्वयबारे प्रश्न उठिरहेका छन् । यस्तो अवस्थामा बालेनको पछिल्लो स्टाटसलाई रवि लामिछानेप्रतिको अप्रत्यक्ष टिप्पणीका रूपमा पनि व्याख्या गर्न सकिने भए पनि त्यसको पुष्टि भएको छैन ।
प्रधानमन्त्री शाहले आफ्नो स्टाटसमा कुनै नेता वा राजनीतिक दलको नाम उल्लेख नगरेकाले यो टिप्पणी रवि लामिछाने, गगन थापा वा अन्य कसैप्रति लक्षित हो भन्ने स्पष्ट छैन ।


