काठमाडौँ । तिहारको रौनकसँगै नेपाली फूलको बजार पनि फस्टाएको छ। विगतका वर्षहरूमा भारतीय फूलको प्रतिस्पर्धाले समस्यामा पर्ने किसानलाई यसपटक स्वदेशी उत्पादनको बढ्दो माग र अवैध आयातमाथिको निगरानीले राहत दिएको छ।
फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अनुसार यस वर्ष तिहारमा फूलका माला र बोटबिरुवासहित करिब ६४ करोड ५० लाख रुपैयाँको कारोबार हुने अनुमान छ। यसमध्ये फूलका मालाको कारोबार मात्रै करिब ४८ करोड रुपैयाँ पुग्ने अपेक्षा गरिएको छ।
फ्यानका अध्यक्ष राजेशभक्त श्रेष्ठका अनुसार तिहारमा देशभर करिब ५२ लाख माला खपत हुने अनुमान छ। सयपत्रीको माग सबैभन्दा बढी छ भने मखमली, गोदावरी र मिश्रित फूलका मालाको व्यापार पनि उत्साहजनक देखिएको छ।
चितवन, झापा, नुवाकोट, नवलपुरलगायत जिल्लामा व्यावसायिक फूलखेती विस्तार हुँदै गएको छ। यद्यपि, सयपत्रीको सम्पूर्ण माग धान्न नेपाल अझै पूर्ण रूपमा आत्मनिर्भर भइसकेको छैन।
यसपटक सीमामा अवैध फूल आयात नियन्त्रणका प्रयाससँगै स्थानीय तहहरूले स्वदेशी किसानलाई बिक्रीका लागि स्थान उपलब्ध गराएका छन्। काठमाडौँ महानगरपालिकाले समेत विभिन्न स्थानमा फूल बिक्रीको व्यवस्था मिलाएको छ।
तिहारमा नेपाली फूलले पाएको बजार किसानका लागि सकारात्मक सङ्केत हो। तर चाडपर्वमा मात्रै बढ्ने मागलाई वर्षभरि आम्दानीको अवसरमा बदल्न नियमित बजार, उचित मूल्य र व्यावसायिक उत्पादनको विस्तार आवश्यक देखिन्छ।


