रौतहट । कहिले काँही युवाहरूको प्रमुख रोजगारीको गन्तव्य मानिने नेपाल प्रहरीको जागिर अहिले भने मधेश प्रदेशका लागि आकर्षण होइन, निराशाको विषय बन्दै गएको छ। कहिल्यै लाखौँ खर्चेर जागिर खान चाहने मधेशका युवाहरू अहिले प्रहरी सेवाबाटै पलायन हुन थालेका छन्।
हाल मधेश प्रदेशका विभिन्न जिल्लामा कार्यरत तल्लो दर्जाका प्रहरी कर्मचारीहरू राजीनामा दिइरहेका छन्। प्रहरी सेवाको पारिश्रमिक, ड्युटीको समय, पारिवारिक जीवनसँग असन्तुलन, सरुवा–बढुवामा हुने राजनीतिक हस्तक्षेप, कामको जोखिम र वैदेशिक रोजगारीतर्फ बढ्दो मोहले गर्दा उनीहरू जागिर छोड्न बाध्य भएका छन्।
नेपाल प्रहरीका जवानको मासिक तलब करिब २६ हजार रुपैयाँ मात्रै छ, जसमा खाद्यान्न भत्ता पनि समावेश हुन्छ। यो तलब दैनिक खर्च, पारिवारिक पालनपोषण र भविष्यको सुरक्षाका लागि पर्याप्त नभएको उनीहरूको गुनासो छ। निजामती सेवाका कर्मचारी ८ घण्टा काम गरेर घर फर्किन्छन् भने प्रहरीलाई कहिलेकाहीँ १८ घण्टासम्म ड्युटी खट्नुपर्ने बाध्यता छ। यो लामो सेवा अवधिले मानसिक र शारीरिक थकान बढाएको प्रहरीहरूको भनाइ छ।
काममा जति नै मेहनत गरे पनि सरुवा र बढुवामा राजनीतिक पहुँच र सिफारिसको प्रभाव बढी हुने गुनासो उनीहरूमा छ। योग्यताका आधारमा अवसर नपाउने भएपछि तल्लो दर्जाका प्रहरीमा निराशा बढेको छ। यस्तै, पछिल्लो समय खाडी मुलुक तथा द्वन्द्वग्रस्त देशहरूमा सुरक्षा गार्डको रुपमा जागिर पाइने सम्भावना बढेकाले प्रहरी जागिर छाडेर वैदेशिक रोजगारी रोज्ने प्रवृत्ति बढ्दो छ।
प्रहरीले तीन वर्षमा एक जोर जुत्ता र वर्षमा दुई सेट पोसाक पाउँछन्। तर लामो समय ड्युटी गर्दा यी सामग्री पर्याप्त नपर्ने गुनासो प्रहरी कर्मचारीहरूमा छ। कतिपयले फाटेका जुत्ता र पुराना पोसाकमै ड्युटी गर्नुपरेको अवस्था रहेको बताएका छन्।
ड्युटीका क्रममा घाइते भएमा उपचारको सम्पूर्ण खर्च सरकारले नबहोकेको पनि गुनासो छ। धेरै उदाहरणहरूमा प्रहरी कर्मचारीले खेत बेचेर वा ऋण लिएर उपचार गराउनुपरेको देखिन्छ। यस्तो अवस्थाले प्रहरी कर्मचारीको मनोबलमा प्रतिकूल असर पारेको छ।
त्यस्तै, सरुवा भएपछि टाढा जिल्लामा खटिनुपर्दा परिवारसँग समय बिताउन नपाउने, पारिवारिक सम्बन्ध कमजोर हुने र वैवाहिक जीवनमा समस्या उत्पन्न हुने कुरा पनि जागिर छोड्ने प्रमुख कारणमध्ये पर्छ। हाल धेरै प्रहरी १६ वर्ष सेवा गरेर पेन्सनयोग्य अवधि पूरा गर्दै राजीनामा दिने गरेका छन्। १६ र ३० वर्ष सेवा गरेपछिको सुविधा उस्तै हुँदा, उनीहरू लामो समय सेवा गर्नेभन्दा छोटो समयमै बाहिरिने सोच बनाउँछन्।
मधेश प्रदेशमा चालु आर्थिक वर्षको साउनदेखि बैशाख मसान्तसम्म ८३ जना तल्लो दर्जाका प्रहरी कर्मचारीले राजीनामा दिएका छन्। जनकपुरस्थित प्रदेश प्रहरी कार्यालयको तथ्यांक अनुसार, राजीनामा दिनेमा १ जना बरिष्ठ सई, १४ जना असई, २१ जना बरिष्ठ हवलदार, ३१ जना हवलदार, ४ जना सहायक हवलदार, ९ जना जवान र ३ जना कार्यालय सहयोगी छन्।
मधेश प्रदेश प्रहरी प्रमुख डिआईजी उमा प्रसाद चतुर्वेदीका अनुसार, प्रहरीको तलब, राशन, भत्ता लगायत सुविधाहरू समयसापेक्ष नभएकै कारण जागिरप्रति आकर्षण घट्दै गएको हो। उनले प्रहरीका छोराछोरीको शिक्षा, परिवारसहितको उपचार, र ड्युटी अनुसारको विशेष भत्ता सुनिश्चित गरे प्रहरी जागिरमा फेरि आकर्षण बढ्न सक्ने बताए।
एकजना अवकाशप्राप्त प्रहरी अधिकृतका अनुसार, समस्या समाधानका लागि पारदर्शी बढुवा प्रक्रिया, समयमै पोसाक र उपकरणको आपूर्ति, पारिवारिक जीवनसँग सन्तुलन कायम गर्ने नीति, र तलब–सुविधामा यथोचित वृद्धि आवश्यक छ। यो समस्या तत्काल सम्बोधन नगरे सुरक्षाकर्मीको संख्यामा मात्रै होइन, राष्ट्रिय सुरक्षाको मनोबलमा पनि गम्भीर असर पर्ने खतरा छ।



