देशमधेस प्रदेशनागरिकता लिन गएकी किशोरीमाथि यौन दुर्व्यवहार आरोपमा वडाध्यक्ष पक्राउ

नागरिकता लिन गएकी किशोरीमाथि यौन दुर्व्यवहार आरोपमा वडाध्यक्ष पक्राउ

जनकपुर | धनुषामा नागरिकता बनाउन गएकी एक किशोरीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा जनकपुर उपमहानगरपालिका–११ का वडाध्यक्ष अर्जुन चौधरी पक्राउ परेका छन्।

१७ वर्षीया किशोरीले जिल्ला प्रहरी कार्यालयमा दिएको जाहेरीका आधारमा चौधरीलाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी वरुणबहादुर सिंहले जानकारी दिए।

प्रहरीका अनुसार किशोरी नागरिकताको सिफारिस लिन वडा कार्यालय गएकी थिइन्। त्यस क्रममा वडाध्यक्षले उनीमाथि दुर्व्यवहार गरेको आरोप छ।

किशोरीका अनुसार मंगलबार उनी आमासँग वडा कार्यालय गएकी थिइन्। बसाइँसराइ प्रमाणपत्र अपुग भएको भन्दै त्यस दिन फिर्ता पठाइएपछि बिहीबार फेरि कार्यालय गएकी थिइन्।

किशोरीको भनाइमा वडाध्यक्षले उनलाई कागजात बुझाउन आफ्नो घर बोलाए। त्यहाँ गेट लगाएर उनले जबरजस्ती दुर्व्यवहार गर्ने प्रयास गरेको आरोप किशोरीले लगाएकी छन्। “सिफारिस नगर्दासम्म नागरिकता बन्दैन भन्दै शरीरका गोप्य अंगमा हात लगाउनुभयो,” उनले भनिन्।

त्यहाँबाट भागेर आमालाई खबर गरेपछि दाजुहरूको सहयोगमा उनलाई प्रहरीकोमा बुझाइएको हो।

डिएसपी सिंहका अनुसार चौधरीविरुद्ध बाल यौन दुर्व्यवहारको मुद्दा दर्ता गरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थपिएको छ। “मुद्दा दर्ता भइसकेको छ, अनुसन्धान अघि बढिरहेको छ,” उनले बीबीसीसँग भने।

किशोरीको स्वास्थ्य परीक्षणसमेत गरिएको र थप प्रमाण सङ्कलनको प्रक्रिया जारी रहेको प्रहरीले जनाएको छ।

यस घटनाबारे वडाध्यक्ष चौधरीको कुनै आधिकारिक प्रतिक्रिया भने अहिलेसम्म सार्वजनिक भएको छैन।

किशोरीका परिवारले भने दोषीमाथि कडा कारबाहीको माग गरेका छन्। “नागरिकता बनाउने नाममा यस्तो व्यवहार सह्य छैन,” किशोरीकी आमाले भनिन्।

कानुनविद्हरूका अनुसार बाल यौन दुर्व्यवहारमा संलग्न पाइएमा कारागार सजाय र जरिवाना दुवैको व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img