हेटौँडा | मकवानपुरको वृन्दावन वनस्पति उद्यानमा अन्जीर वर्गका वनस्पतिहरूलाई विशेष संरक्षण गरिने भएको छ। वनस्पति विभागको ६५औँ वार्षिकोत्सव तथा २५औँ वनस्पति दिवसको अवसर पारेर यहाँ ११ प्रजातिका अन्जीर वर्गका बिरुवाहरू रोपेर नयाँ वनस्पति बाटिका स्थापना गरिएको हो।
वनस्पति अनुसन्धान केन्द्र मकवानपुरका प्रमुख हेमराज पौडेलका अनुसार नेपालमा हालसम्म अन्जीर वर्गका ३६ प्रजातिहरू प्राकृतिक रूपमा पाइने पुष्टि भइसकेको छ। ती सबै प्रजातिलाई एउटै स्थानमा संकलन, अध्ययन र संरक्षण गर्ने उद्देश्यले दीर्घकालीन योजनाअनुसार बाटिकाको नक्सांकन र विस्तार कार्य अघि बढाइने उनले जानकारी दिए।
उक्त कार्यक्रममा हेटौँडा उपमहानगरपालिका–१३ का वडाध्यक्ष पेम्बा लामाले वरको विरुवा रोपेर र जलसेचन गरेर बाटिकाको औपचारिक उद्घाटन गरेका थिए।
वनस्पति विभागले नेपालभरिका विभिन्न जैविक भूभाग समेट्ने गरी सात जिल्लामा अनुसन्धान केन्द्रहरू र ११ वटा वनस्पति उद्यानहरू सञ्चालन गर्दै आएको छ। मकवानपुरमा मात्र तीनवटा उद्यानमार्फत अनुसन्धान र संरक्षण कार्य भइरहेका छन्।



