हेटौँडा | जलवायु परिवर्तन र त्यसले निम्त्याउने प्रभावका विषयमा बागमती प्रदेशका सञ्चारकर्मीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रम आज हेटौंडामा सम्पन्न भएको छ। कार्यक्रम बागमती प्रदेशको वन तथा वातावरण मन्त्रालयको आयोजनामा संचालन गरिएको थियो।
कार्यक्रमको उद्घाटन गर्दै वन तथा वातावरण मन्त्री कृष्ण प्रसाद सिल्वालले जलवायु परिवर्तन मुख्यतः मानवीय क्रियाकलापका कारण हरितगृह ग्यासहरुको उत्सर्जन वृद्धि भई पृथ्वीको सतहको तापक्रममा निरन्तर वृद्धिले वातावरण, पारिस्थितिक प्रणाली, कृषि, जल स्रोत, मानव स्वास्थ्य लगायत सम्पूर्ण जीवनचक्रमा गम्भीर असर परेको बताए। उनले भने, “जुन गर्मी हिजो असहज लाग्दैनथ्यो, आज अत्यन्त गाह्रो भइरहेको छ। मौसमले आफ्नो प्राकृतिक ताल छाड्न थालेको छ, वर्षा बेलामा नहुने र नहुने बेलामा बाढी आउँने क्रम बढिरहेको छ। यसले सुख्खा र बाढी दुबै समस्या निम्त्याएको छ, जुन जलवायु परिवर्तनका स्पष्ट लक्षण हुन्।”
मन्त्री सिल्वालले जलवायु परिवर्तनको समस्या जटिल भए पनि समाधान सम्भव रहेको उल्लेख गर्दै भने, “वन संरक्षण गरेर हरियाली फर्काउन सकिन्छ। बिजुली मोटरसाइकल प्रयोग गर्न सकिन्छ र कम इन्धन जलाउने बानी बसाल्न सकिन्छ। साथै, खेतीमा जैविक तरिका अपनाएर वातावरण मैत्री कृषिको विकास गर्न सकिन्छ।”
कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका सचिव केदार बरालले नेपाल र बागमती प्रदेशमा जलवायु परिवर्तन न्यूनीकरणका लागि सरकारले गरेका पहल र नीतिगत व्यवस्थाबारे प्रस्तुतीकरण प्रस्तुत गरे। उनले प्रदेशका कार्यालयहरू मार्फत गाउँगाउँसम्म जलवायु सचेतना फैलाउन थुप्रै योजना र कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए।
यसैगरी, वन मन्त्रालयका वन अधिकृत राधिका शर्माले जलवायु परिवर्तनले नेपाल र बागमती प्रदेशमा पारेका प्रभाव र यहाँका प्रकोप, जोखिम तथा चुनौतीबारे प्रकाश पारिन्। महासाखाका प्रमुख शिव सापकोटाले कार्बन वित्त र त्यसको सम्भावनासम्बन्धी प्रस्तुतीकरण गरे।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्णसारु मगर र जिल्ला अध्यक्ष बालकृष्ण अधिकारीले जलवायु परिवर्तनसम्बन्धी सञ्चारकर्मीहरूको भूमिका र चुनौतीबारे आफ्नो विचार व्यक्त गरे।




