काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दैनिक उपभोग्य वस्तुको रूपमा प्रयोग हुने प्लास्टिक बोतल र जारमा बिक्री हुने साधारण प्रशोधित पानीको अधिकतम खुद्रा मूल्य (एमआरपी) निर्धारण गरेको छ।
विभागले मंगलबार सार्वजनिक गरेको सूचनाअनुसार अबदेखि काठमाडौँ उपत्यकाभित्र एक लिटरको बोतल १६ रुपैयाँ र उपत्यकाबाहिर २० रुपैयाँमा बिक्री गर्न पाइनेछ।
त्यस्तै, २० लिटर क्षमताको जारको पानी काठमाडौँ उपत्यकामा ४७ रुपैयाँ र उपत्यका बाहिर ६० रुपैयाँमा तोकिएको छ।
यसअघि व्यापारीहरूले मनलाग्दी मूल्यमा बोतल तथा जारको पानी बिक्री गर्दै आएका थिए। विभागले उपभोक्ता हितको सुरक्षाका लागि यो मूल्य निर्धारण अनिवार्य रूपमा पालना गर्न निर्देशन दिएको छ।
विभागले भनेको छ, “तोकिएको भन्दा बढी मूल्यमा बोतल वा जारको पानी बिक्री तथा वितरण गरेमा उपभोक्ता हित संरक्षण ऐन, २०७५ र नियमावली, २०७६ बमोजिम कारबाही गरिनेछ।”
त्यस्तै, उपभोक्ताले तोकिएको भन्दा बढी मूल्यमा पानी बिक्री भएको देखेमा विभाग वा मातहतका कार्यालयमा जानकारी दिन पनि अनुरोध गरिएको छ।




