काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको कारोबारमा सुनको मूल्य ८ हजार १ सय रुपैयाँले बढ्दै कीर्तिमानी उचाइमा पुगेको हो।
महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ४८ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको छ, जुन हालसम्मकै उच्च दर हो।
यसअघि सोमबार सुनको कारोबार प्रतितोला २ लाख ४० हजार ४ सय रुपैयाँमा भएको थियो। एकैदिनमा सुनको मूल्यमा आएको ठूलो वृद्धिले बजारमा नयाँ रेकर्ड कायम गरेको व्यवसायीहरूले बताएका छन्।
त्यसैगरी आज चाँदीको मूल्य पनि वृद्धि भएको छ। चाँदी प्रति तोला १०५ रुपैयाँले बढेर ३ हजार ३२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
बजार विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा बढ्दो सुनको दर र अमेरिकी डलरको मूल्यवृद्धिले नेपाली बजारमा समेत प्रत्यक्ष प्रभाव पारेको हो।



