समाजघरभित्र ‘किङ कोब्रा’ देखिएपछि..

घरभित्र ‘किङ कोब्रा’ देखिएपछि..

हेटौँडा–१६ हटिया रंगशाला नजिकको घरभित्र प्रवेश गरेको विश्वकै ठूलो र विषालु सर्प ‘किङ कोब्रा’ उद्धारकर्ताहरू राजेश ‘गरिब’ र रोशन दिपले जोखिम मोलेर सुरक्षित रूपमा जंगलमा फिर्ता पठाए।

हेटौँडा । हेटौँडा उपमहानगरपालिका–१६ हटिया रंगशाला नजिकको एक घरभित्र ‘किङ कोब्रा’ देखिएपछि स्थानीय बासिन्दा त्रासमा परे । विश्वकै सबैभन्दा ठूलो र विषालु सर्प प्रजातिमध्ये पर्ने उक्त सर्पलाई उद्धारकर्ता राजेश ‘गरिब’ र रोशन दिपले सुरक्षित रूपमा उद्धार गरेका हुन्।

घरभित्र सर्प पसेपछि सुरुमा कोही पनि नजिकिन सकेनन्। सर्पको आकार र गतिविधि देख्दा स्थानीय आतंकित बनेका थिए। पछि सर्प ‘किङ कोब्रा’ भएको पुष्टि भएपछि डर झन् बढ्यो।

घरधनीले तत्काल प्रहरीलाई खबर गरेपछि उद्धारकर्ताद्वय राजेश ‘गरिब’ र रोशन दिप घटनास्थल पुगेका थिए। स्थानीय जनप्रतिनिधि र डिभिजन वन कार्यालय मकवानपुरको टोलीको उपस्थितिमा सर्पलाई नियन्त्रणमा लिइएको हो।

वन अधिकृत बसन्तराज गौतमका अनुसार उद्धार गरिएको किङ कोब्रालाई निकुञ्ज क्षेत्रको मानव निषेधित जंगलमा पुनः छाडिएको छ।  उनले भने, “सर्प र मानव दुबैको सुरक्षा सुनिश्चित गरेर सर्पलाई पुनः प्राकृतिक बासस्थानमा फिर्ता पठाइएको हो।”

‘यस्तो सर्प पहिलो पटक देख्यौं’

उद्धारको घटनाले स्थानीयमा हलचल ल्याएको छ। एक स्थानीयले भने, “हामी डरले बोल्नै सकेनौं। यस्तो ठूलो सर्प पहिलो पटक देख्यौं। उद्धारकर्ताले जोखिम मोलेर सर्प र मानिस दुबैको जीवन बचाए,  साँच्चै सराहनीय काम हो।”

सर्प देखिएको घरका सदस्य रुपेश थापाले भने, “मेरो ससुराली घरमा सर्प पस्यो भनेपछि सबैको सात्तो गयो। उद्धारकर्ताले तुरुन्त आइदिनुभयो, सम्भावित दुर्घटना टारियो।”

वडा नम्बर १६ की सदस्य संगिता विश्वकर्माले उद्धारकर्ताद्वयको निःस्वार्थ सेवाको प्रशंसा गर्दै भनिन्, “किङ कोब्रा देख्दा अत्यन्त डर लागेको थियो। तर उद्धारकर्ताले निडर भएर सर्प र मानव दुबैको जीवन जोगाए, यो प्रशंसनीय कार्य हो।”

सर्प विज्ञका अनुसार किङ कोब्रा अत्यन्त बुद्धिमान र संवेदनशील प्रजाति हो। अनावश्यक रूपमा आक्रमण नगर्ने यो सर्प आफ्नो बासस्थानमा दखल पुगे मात्र आक्रामक बन्छ। किङ कोब्रा औसतमा १८ फिटसम्म लामो हुन्छ र यसको न्युरोटक्सिक विष एकपटकमा करिब २० जना मानिस वा एक हातीसम्मलाई मार्नसक्ने क्षमता राख्छ। यसलाई राजगोमन वा कालीनाग पनि भनिन्छ।

‘सर्प मार्ने होइन, बचाउने संस्कार विकास गर्नुपर्छ’

उद्धारकर्ता राजेश ‘गरिब’ भन्छन्, “विषालु वा अविषालु जुनसुकै सर्प भए पनि मार्नु हुँदैन। उद्धार गरी जंगलमा फिर्ता पठाउने संस्कृतिको विकास गर्न आवश्यक छ। सर्पहरूले वातावरणको सन्तुलन कायम गर्न ठूलो भूमिका खेलेका छन्, तिनको अस्तित्व नै मानव सुरक्षाको आधार हो।”

राजेश ‘गरिब’ र रोशन दिप हेटौँडा क्षेत्रका सक्रिय सर्प उद्धारकर्ता हुन्। उनीहरूले हालसम्म मकवानपुर, बारा, पर्सा र चितवनका विभिन्न ठाउँबाट सयौँ विषालु तथा अविषालु सर्प सुरक्षित रूपमा उद्धार गरेका छन्।

हेटौँडा क्षेत्रमा पाइने प्रमुख विषालु सर्पहरूमा किङ कोब्रा, मोनोस्लेड कोब्रा, स्पेटिकल कोब्रा, बेन्डेड करेट, कोरल स्नेक, ग्रिन पिट भाइपर र रेडनेक किलव्याक छन्।  त्यस्तै हल्का विषालु सर्पहरूमा फ्रोस्टेन क्याट स्नेक र अर्नेट फ्लाइङ्ग स्नेक, र अविषालु सर्पहरूमा ट्रिङ्केट, उल्फ स्नेक, किलव्याक र र्याट स्नेक लगायतका प्रजाति भेटिन्छन्।

सर्प विज्ञका अनुसार नेपालमा करिब दुई हजार मिटर उचाइसम्म विभिन्न प्रजातिका सर्प पाइन्छन्। यी सर्पहरू वातावरणीय सन्तुलन र जैविक विविधताको महत्वपूर्ण सूचक हुन्।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img