हेटौँडा | भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनले हेटौँडा उपमहानगरपालिकाका आधा दर्जनभन्दा बढी वडा कार्यालयमा ठूलो क्षति पुर्याए पनि सेवा प्रवाह भने एक साता भित्र सुचारु भयो । तर जनप्रतिनिधि र कर्मचारीमा मनोवैज्ञानिक असर भने अझै कायमै रहेको वडा अध्यक्षहरूले बताएका छन्।
सामाजिक विकास महाशाखा प्रमुख भीमप्रसाद तिमल्सिनाको संयोजकत्वमा गठित ५ सदस्यीय क्षति मूल्याङ्कन समितिले भदौ २७ देखि असोज २ सम्म मूल्याङ्कन गरी उपमहानगरपालिका समक्ष प्रतिवेदन पेश गरेको थियो । आगजनी र तोडफोडबा करिब ३२ करोड ७३ लाख रुपैयाँ बराबरको क्षति भएको उपमहानगरपालिकाका र विभिन्न वडाले आन्दोलनको चार–पाँच दिनपछि नै सेवा प्रवाह सुरु गरे । यद्यपि, पूर्वाधार र साधनस्रोतको अभावले सेवाग्राहीलाई केही असहजता भोग्नुपरेको छ।
प्रतिवेदनअनुसार भौतिक पूर्वाधारमा १६ करोड ४० लाख, सवारी साधनमा ६ करोड ७३ लाख र कार्यालय सामग्रीमा ९ करोड ६० लाख बराबरको क्षति भएको छ। आगजनी र तोडफोडमा ९ वटा साना गाडी, शवबाहन, २ ट्र्याक्टर, १ ट्रिपर, १ जेसीबी, रोलर, ग्रास कटर र १९ वटा मोटरसाइकलसहित १०० भन्दा बढी कम्प्युटर, प्रिन्टर र कार्यालय फर्निचर नष्ट भएका छन्।
वडा नम्बर ४, १०, ११, ३, १५, ९ र १ लगायतका वडामा प्रत्यक्ष रूपमा आक्रमण भएको थियो।
वडा ११: पूर्ण रूपमा ध्वस्त, स्वास्थ्य केन्द्रमा सेवा

सबैभन्दा बढी क्षति भएको वडा ११ की अध्यक्ष जुना दाहालले वडा कार्यालय पूर्ण रूपमा आगो लागेर ध्वस्त भएको बताइन्। “हाम्रो वडा कार्यालय पूर्ण रुपमा आगो बलेर ध्वस्त भएको छ। चार-पाँच दिनपछि हामीले सेवा प्रवाह सुरु गर्यौं,” उनले भनिन्।
शुरुमा प्रतीक्षालयमा बसेर हातले लेखेर सेवा दिइएको र पछि शहरी स्वास्थ्य आधारभूत केन्द्रको माथिल्लो तलाको एउटा कोठामा बसेर सेवा प्रवाह गरिएको उनले बताइन्। “एउटै कोठामा छौं हामी। जनप्रतिनिधिहरू, वडा सचिव लगायत कर्मचारी, प्राविधिकहरू सबै एकै ठाउँमा हुनुहुन्छ,” दाहालले भनिन्।
“आगो लगाउने व्यक्तिहरू पनि सेवा लिन आएका छन्। हामीले मन दुखी रहँदा पनि खुसी भएर सेवा दिइरहेका छौं,” उनले थपिन्।
वडा १०: पहिलो सेवा सुचारु

वडा १० का अध्यक्ष फुर्बा लामाले आफ्नो वडाले हेटौँडा उपमहानगरपालिकाका १९ वडामध्ये सबैभन्दा पहिले सेवा सुचारु गरेको दाबी गरे। “हामी २६ गते आइपुग्यौ। २७ गते देखि हामीले यो वडालाई अलिकति सरसफाई गरेर सेवा प्रवाह गर्यौं,” उनले भने।
लामाले २३ गतेको आन्दोलनको माग सही रहे पनि २४ गतेको हिंसा अपराधिक मानसिकताबाट भएको टिप्पणी गरे। “२४ गते जेन्जीकै मागको नाममा जुन देशलाई विदोहमा बनाउने, देशलाई जलाउने, नेताको घर जलाउने, अफिस जलाउने, वडा कार्यालय जलाउने भएको छ, त्यो चाहिँ एउटा अपराधी मानसिक रुपले भएको छ,” उनले भने।
वडा १: मनोवैज्ञानिक असर

हेटौँडा उपमहानगरपालिकाको प्रवक्ता समेत रहेका वडा १ का अध्यक्ष सबिन न्यौपानेले आगजनी नभएपछि सेवा प्रवाहमा खासै प्रभाव नपरे पनि मनोवैज्ञानिक असर परेको बताए। “सबै कर्मचारी, जनप्रतिनिधि साथीहरुमा एक किसिमको मनोवैज्ञानिक असर परेको छ,” उनले भने।
उनले सेवा लिन आउने सेवाग्राहीको संख्या अत्यन्तै न्यून रहेको र बजेट संशोधनको कारणले विकास निर्माणका काम र बिरामीलाई आर्थिक सहयोग दिन नसकिएको बताए।
वडा ४: आर्थिक असर

वडा ४ का अध्यक्ष नबिन सिग्देलले वडा कार्यालयको सामाग्री जनाईए पनि न्यूनतम साधनस्रोत जुटाएर सबै सेवा सुचारु गरेको बताए। “वडाले दिनुपर्ने सेवाहरु सेवा प्रवाहको हिसाबले सम्पूर्ण हामी प्रवाह गर्न सफल भएका छौं,” उनले भने।
तर, क्षतिको कारणले नगरपालिकाको आन्तरिक आम्दानीमा प्रभाव परेको र पुनर्निर्माणका लागि बजेट विनियोजन गर्नुपर्ने भएकाले योजनाका कामहरू संचालन हुन नसकेको उनले बताए।
मनोवैज्ञानिक असरबारे उनले भने, “अब मान्छेको दिमागमा चाहिँ जुलुस नभइदिए हुन्थ्यो। फेरी जुलुस भयो भने के हुन्छ भन्ने आतंक चाहिँ छ।” तर, जनजीवन सहज बनाउन आफूहरू लागिरहेको उनको भनाइ छ।
वडा अध्यक्षहरूले जेन्जी पुस्ताले व्यक्तिगत आक्रमण गर्ने योजना नभए पनि जेन्जीको नाममा अपराधिक घटना हुनसक्ने भन्दै टोल टोलका क्लब, समूह र टोल विकास संस्थालाई सचेत गराइएको बताए।
हेटौँडा उपमहानगरपालिकाका १९ वटामध्ये आधा दर्जनभन्दा बढी वडामा क्षति पुगे पनि सबै वडाले हाल सेवा सुचारु गरेका छन्। तर, पूर्वाधार, साधनस्रोतको अभाव र मनोवैज्ञानिक असर भने चुनौतीका रूपमा कायमै रहेको छ।



