हेटौँडा | मकवानपुरमा शनिबार आयोजित नेकपा एमालेको मोटरसाइकल र्यालीका लागि भीड उतार्न युवाहरूलाई वितरण गरिएको भन्दै ‘३ लिटर’ कुपन भाइरल भएको छ ।
इन्फो नेपालको इनबक्समा समेत प्राप्त कुपनको सत्यता पुष्टि गर्ने क्रममा आयोजकतर्फबाट “जिल्लाले दिएको होइन, हेटौँडा–१८ वडा कमिटीले दिएको हुनसक्छ” भन्ने अस्पष्ट प्रतिक्रिया मात्र प्राप्त भएको छ। कुपनमा पार्टीको छाप, मिति र ३ लिटर उल्लेख गरिएको स्पष्ट देखिन्छ।
यसैबीच, हेटौँडा–१८ नम्बर वडा कमिटीका अध्यक्षसँग सम्पर्क गर्दा उनको फोन ‘स्विच अफ’ भएको हुँदा प्रतिक्रिया लिन सकिएको छैन। कुपन सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिँदै गर्दा यसको मिति २०८२ हो कि ८३ भन्नेबारे फरक–फरक व्याख्या देखिएका छन्।
केही स्रोतले कुपन भएका सहभागीलाई हेटौँडा–४ स्थित शिव बुवा आर्याल सेन्टरमा छुट्टै लाइनमार्फत पेट्रोल वितरण भएको दाबी गर्दै फोटो इन्फो नेपाललाई पठाएका छन्।
शिव बुवा आर्याल सेन्टरका कर्मचारीले भने, “जहाँ सहज हुन्छ, त्यहीँबाट वितरण भएको होला। कसैले पैसा दिएर ‘मेरो मान्छे आउँछन्’ भनेपछि आफैंले कुपन बनाएर दिएको हुनसक्छ। हामीले भने कुपन आफैं बनाएका होइनौँ। सामाजिक सञ्जालमा कुपन भाइरल भएको छ भन्नेबारे पनि थाहा छैन।”
तर, एमालेले कुपन वितरणबारे हालसम्म कुनै आधिकारिक स्पष्टीकरण सार्वजनिक गरेको छैन। मकवानपुरका १० स्थानीय तहबाट हजारभन्दा बढी मोटरसाइकल सहभागी रहेको थियो ।
यस्तै, सिरहामा नेकपा एमालेद्वारा आयोजित मोटरसाइकल र्याली तथा जागरण सभामा पनि इन्धन वितरण गरिएको प्रमाण सार्वजनिक भएको छ। सिरहास्थित जयशंकर ट्रेड सेन्टरमा भेटिएका एक कार्यकर्ताका अनुसार र्यालीमा सहभागी प्रत्येक मोटरसाइकललाई ३ लिटर पेट्रोल दिइएको थियो भने ठूला सवारीसाधनलाई १०–१५ लिटरसम्म पेट्रोल वा डिजेल वितरण गरिएको दाबी गरिएको छ।
सिरहाका १७ स्थानीय तहबाट करिब ८ हजार मोटरसाइकल र १५ हजारभन्दा बढी सहभागी भएको एमालेका मधेश प्रदेश अध्यक्ष चन्देश्वर मण्डलले बताएका छन्। उनले प्रारम्भमा इन्धन वितरण अस्वीकार गरे पनि पछि “सरकारी रकमबाट होइन, पार्टीले कार्यकर्ताबाट उठाएको सहयोगबाट वितरण भएको” पुष्टि गरेका छन्।




