समाजऐतिहासिक मकवानपुरगढीलाई साक्षी राख्दै लालीगुराँस र चित्लाङ उपाधि भिडन्तमा

ऐतिहासिक मकवानपुरगढीलाई साक्षी राख्दै लालीगुराँस र चित्लाङ उपाधि भिडन्तमा

भोली आमनेसामने हुँदै

मकवानपुर | हेटौँडाको गौरीटार रंगशालामा भैरहेको एन्फा प्रेसिडेन्ट लिग–२०२५को उपाधिका लागि मंगलवार कास्कीको लालीगुराँस एसोसिएसन र काठमाडौंको चित्लाङ एफसी आमनेसामने हुँदैछन्।

फाइनलअघि आज ऐतिहासिक मकवानपुरगढी क्षेत्रमा सम्पन्न प्रि–म्याच कन्फ्रेन्समा दुवै टोलीका प्रशिक्षक तथा कप्तानले उपाधि जित्ने दाबी प्रस्तुत गर्दै प्रतिस्पर्धालाई थप रोचक बनाएका छन्।

लालीगुराँसका प्रशिक्षक किरण श्रेष्ठले समूह चरणमा चित्लाङलाई ३–० ले पराजित गरेको खेल स्मरण गर्दै सोही स्तरको प्रदर्शन फाइनलमा पनि दोहोर्याउने विश्वास व्यक्त गरे। उनले प्रतिद्वन्द्वीको सम्भावित रणनीति पहिलेदेखि अध्ययन गरिएको र त्यसअनुसार तयारी पूरा भएको बताए। उनका अनुसार खेलाडीहरूको मानसिक स्थिति सकारात्मक छ र सिनियर–जुनियर खेलाडीबीच राम्रो तालमेल बनेको छ।

कप्तान यम बहादुर श्रेष्ठले पनि टोली सुदृढ अवस्थामा रहेको र उपाधि नै लक्ष्य रहेको औपचारिक रूपमा स्पष्ट पारे।

चित्लाङतर्फ प्रशिक्षक सुमन श्रेष्ठले समूह चरणको हारलाई सच्याउने मौका फाइनलमा रहेको बताउँदै टोलीले उपाधिका लागि आक्रामक प्रतिबद्धता जनाएको जानकारी दिए। अनुभवी खेलाडीको उपस्थिति टोलीको मुख्य बलियो पक्ष रहेको उनले उल्लेख गरे। कप्तान कुलदिप कार्कीले मिहेनतको फल रूपमा फाइनल चरणमा पुगेको र उपाधिका लागि थप मिहेनत गर्ने बताए।

समूह ‘ए’ बाट लालीगुराँस विजेता र चित्लाङ उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेका थिए। कात्तिक २५ गतेको समूह चरणमा लालीगुराँसले चित्लाङलाई ३–० ले पराजित गरेको थियो।

फाइनल खेल मंगलवार दिउँसो २ बजे सुरु हुनेछ। एन्फाका अनुसार विजेताले उपाधिसहित १० लाख रुपैयाँ तथा उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img