हेटौँडा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–४, कर्रा चोकमा मोटरसाइकलले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ।
पशुपतिनगरबाट हेटौँडातर्फ आइरहेको ना ३८ प ५८५० नम्बरको मोटरसाइकलले गएराति पैदल हिँडिरहेकी ५५ वर्षीया खुइली डोमलाई ठक्कर दिएको थियो। वहालवाल घर पर्सा, वीरगञ्ज महानगरपालिका–१६ नागुवा रहेकी डोम हेटौंडा–१० मा डेरा गरी बस्दै आएकी थिइन्।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रनाउ उपरीक्षक पुष्कर बोगटीका अनुसार ठक्करपछि गम्भीर घाइते भएकी डोमको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो।
मोटरसाइकल र चालक दुवैलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ



