बागमती | चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो त्रैमासिकमा बागमती प्रदेशमा १ हजार ८ सय २९ नयाँ उद्योग दर्ता भएका छन्। उद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयका अनुसार यो संख्या प्रदेशको हालसम्मकै उल्लेखनीय दर्ता दरमध्ये एक मानिएको छ।
मन्त्रालयका सूचना अधिकारी सुनिल बञ्जाराका अनुसार प्रदेशका अधिकांश उद्योग काठमाडौँ उपत्यकामा दर्ता भएका छन्। उपत्यकाबाहिर चितवन, मकवानपुर, काभ्रे र नुवाकोटमा पनि दर्ता हुने दर उच्च देखिएको छ।
त्रैमासिक अवधिमा काठमाडौँमा मात्रै ६७२ नयाँ उद्योग दर्ता भए। त्यसपछि नुवाकोट २२८, काभ्रे २१०, ललितपुर १६९, भक्तपुर ९४, चितवन ८९, मकवानपुर १२३, सिन्धुली ५७, रामेछाप ३२, दोलखा ३९, धादिङ ७६, सिन्धुपाल्चोक २७ र रसुवा १२ नयाँ उद्योग दर्ता भएका छन्।
वाणिज्य क्षेत्रमा मात्र ८३८ उद्योग थपिएका छन्। यसमा पनि काठमाडौँ २६६ उद्योगसहित अग्रस्थानमा छ। मकवानपुर (१०९), चितवन (१०२), काभ्रे (९७), भक्तपुर (६१), ललितपुर (४०), सिन्धुली (५२), सिन्धुपाल्चोक (१६), धादिङ (२०), रामेछाप (१०), नुवाकोट (४६), दोलखा (३१) र रसुवा (५) रहेका छन्।
उद्योग दर्ता, नवीकरण, संशोधन र बन्द प्रक्रियाबाट यस त्रैमासिकमा प्रदेशले ७ करोड २३ लाख ७० हजार २३८ रुपैयाँ राजस्व संकलन गरेको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका सूचना अधिकारी रमेश पौडेलले जानकारी दिए।
सबैभन्दा धेरै राजस्व काठमाडौँबाट २ करोड ५७ लाख ५० हजार १२ रुपैयाँ उठेको छ। त्यसपछि चितवन (८४ लाख ३४ हजार ७७५), मकवानपुर (५८ लाख ५५ हजार १२५), ललितपुर (७७ लाख २३ हजार ९६९), काभ्रे (६० लाख ५६ हजार ९००), भक्तपुर (३९ लाख ९८ हजार १५५), नुवाकोट (३४ लाख ९६ हजार ४२५), धादिङ (३० लाख १३ हजार ४१), सिन्धुली (१८ लाख ९० हजार २१०), सिन्धुपाल्चोक (१७ लाख ६७ हजार ४२५), दोलखा (१६ लाख ३७ हजार ८२५), रामेछाप (१२ लाख ४६ हजार ६५०) र रसुवा (४ लाख ८४ हजार ३७) रहेका छन्।
बजार अनुगमनमा नियम विपरित सञ्चालन भएका उद्योग तथा फर्मबाट १२ लाख १३ हजार रुपैयाँ जरिवाना उठाइएको निर्देशनालयले जनाएको छ।
प्रदेशमा दर्ता भएका प्रमुख उद्योगमध्ये कपडा तथा तयारी पोसाक, छालाका जुत्ता, पशु आहार, ऊन/सुतोजन्य सामान, गलैँचा, पश्मिना, फेल्टको सजावटी वस्तु, खाद्य पदार्थ (चाउचाउ, बिस्कुट, पेय पदार्थ), औषधी, इँटा र सिमेन्ट उद्योग अग्रपंक्तिमा छन्।
नेपाल राष्ट्र बैंकको हालसालै सार्वजनिक बागमती प्रदेशको आर्थिक गतिविधि प्रतिवेदनअनुसार गत आर्थिक वर्ष २०८१/०८२ मा प्रदेशमा औद्योगिक वातावरण सकारात्मक रहेको छ। उद्योगहरूबाट ७१ अर्ब ९७ करोड रुपैयाँ बराबरको पुँजी प्रस्ताव भएको र २४ हजार ९३ जनालाई प्रत्यक्ष रोजगारी दिने अपेक्षा गरिएको प्रतिवेदनमा उल्लेख छ।



