हेटाैँडा । लगातार परेको वर्षाका कारण कुलेखानी जलविद्युत् आयोजनाको जलाशयमा पानीको सतह १५२६ मिटर पुगेको छ। जलसतह जोखिम नजिक पुगेपछि नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको कुलेखानी प्रथम जलविद्युत् केन्द्रले तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सावधानी अपनाउन आग्रह गरेको छ।
केन्द्रका अनुसार जलाशयमा पानीको सतह १५२७ मिटर पुग्नेबित्तिकै पहिलो चेतावनी स्वरूप साइरन बजाइनेछ। वर्षा जारी रहेकाले जलाशयमा पानीको आवक अझै बढ्न सक्ने र खतराको तह पार गरेमा बाँधका ढोका खोल्नुपर्ने अवस्था आउन सक्नेछ।
सतह नियन्त्रणबाहिर जान सक्ने जोखिमलाई ध्यानमा राख्दै कुलेखानी जलाधार तथा तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन र पूर्वतयारी अपनाउन केन्द्रले अनुरोध गरेको छ। साथै, यो सूचना सम्भावित जोखिम क्षेत्रका अन्य बासिन्दासम्म पुर्याउन पनि आग्रह गरिएको छ।




