हेटौँडा । मकवानपुरको भीमफेदीमा भएको विद्युतीय माइक्रोबस दुर्घटनामा मृत्यु भएका सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका १३ जनाको सामूहिक अन्त्येष्टि सुरु भएको छ। शुक्रबार हेटौँडा अस्पतालबाट आफन्तले शव बुझेर गृहजिल्ला लगेपछि अन्त्येष्टि प्रक्रिया अघि बढेको हो।
छठ पर्व मनाउन घर फर्किंदै गर्दा बिहीबार बिहान भएको दुर्घटनामा एकै गाउँका १३ जनाले ज्यान गुमाएका थिए। दुर्घटनामा चालकसहित १४ जनाको मृत्यु भएको थियो भने छ जना घाइते भएका थिए।
मृतकका आफन्तले उचित क्षतिपूर्ति, घाइतेको उपचार र आश्रित परिवारका सदस्यलाई रोजगारीको व्यवस्था गर्नुपर्ने माग राख्दै शव बुझ्न अस्वीकार गरेका थिए। शुक्रबार जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी एवं दुर्घटना छानबिन समितिका संयोजक शेषकान्त पौडेलसँग भएको छलफलपछि शव बुझ्ने सहमति जुटेको हो।
सहमतिअनुसार पीडित परिवारलाई प्रचलित कानुनबमोजिम प्राप्त हुने राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन पहल गरिनेछ। थप राहत तथा क्षतिपूर्तिका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अनुरोध गर्ने सहमति भएको छ।
शुक्रबार पोस्टमार्टमपछि १३ जनाको शव आफन्तलाई हस्तान्तरण गरिएको थियो। मृतकका आफन्तलाई शवसहित सर्लाही पुर्याउन हेटौँडा उपमहानगरपालिकाले तीनवटा शव वाहनको व्यवस्था गरेको थियो। नगर प्रमुख मीनाकुमारी लामाको पहलमा शव वाहन जुटाउनुका साथै उनले आफूले प्रयोग गर्दै आएको सरकारी सवारीसमेत पीडित परिवारलाई उपलब्ध गराएकी थिइन्।
यसैबीच, चक्रघट्टा गाउँपालिकाले दुर्घटनामा आफ्ना १३ जना नागरिकको मृत्यु भएपछि शुक्रबार शोक बिदा दिएको थियो। गाउँपालिकाले मृतकको अन्तिम संस्कार तथा काजकिरिया खर्चका लागि जनही ५० हजार रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको अध्यक्ष कृष्णकुमार यादवले जानकारी दिएका छन्।
दुर्घटनामा मृत्यु हुनेमध्ये छ जना अवधेश यादवकै परिवारका सदस्य हुन्। उनले गर्भवती श्रीमती, तीन छोरी र दुई भाइ गुमाएका छन्। उनका १४ महिने छोरा भने दुर्घटनामा घाइते भएका छन्।
बिहीबार बिहान करिब ५ः४५ बजे काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको यात्रुवाहक ईभी भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा सडकबाट करिब पाँच सय मिटर तल खसेको थियो।
दुर्घटनाको कारण पत्ता लगाउन सहायक प्रमुख जिल्ला अधिकारी पौडेलको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ। समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ।


