फिचरगाडीमा सिट नपाउँदा बाँचे अवधेश, छठ मनाउन पठाएका श्रीमती, छोरी र भाइहरू...

गाडीमा सिट नपाउँदा बाँचे अवधेश, छठ मनाउन पठाएका श्रीमती, छोरी र भाइहरू फर्किएनन्

हेटौँडा । छठ पर्व मनाउन सर्लाहीस्थित घर जाने सबै तयारी पूरा भइसकेको थियो। कपडा र पूजाका लागि आवश्यक सामग्री मिलाएर राखिएका थिए। बुधबार राति करिब १ बजे उठेर अवधेश यादवले श्रीमती पुनमलाई पनि उठाए। छोराछोरीलाई तयार पारेपछि दुई भाइसहित परिवारका आठ जना ललितपुरको टीकाथली चोक पुगे।

सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलका छिमेकी र आफन्त मिलेर माइक्रोबस रिजर्भ गरेका थिए। सबैको योजना थियो, सँगै गाउँ पुग्ने र परिवारसँग छठ मनाउने।

तर गाडी चढ्ने बेला अवधेशका लागि ठाउँ पुगेन।

१४ सिटको माइक्रोबसमा बालबालिकासहित २० जना सवार हुने भएपछि अवधेशले आफू पछि आउने निर्णय गरे। श्रीमती, चार छोराछोरी र दुई भाइलाई गाडी चढाएर उनी काठमाडौँस्थित कोठामा फर्किए।

फलफूल व्यापार गर्दै आएका अवधेशले एक दिन थप व्यापार गरेर पछि घर जाने योजना बनाए। परिवारका सदस्य भने उनीभन्दा पहिले नै गाउँ पुग्ने थिए।

तर बिहान उनले कल्पनै नगरेको खबर सुन्नुपर्‍यो।

श्रीमती र छोराछोरी चढेको गाडी मकवानपुरको भीमफेदीमा दुर्घटनामा परेको थियो। केही समयपछि परिवारका छ जनाको मृत्यु भएको खबर आयो।

बिहीबार साँझ हेटौँडा अस्पताल परिसरमा भेटिएका अवधेशका लागि त्यो क्षण सम्झिन पनि कठिन थियो। परिवारलाई गाडीमा पठाएर आफू पछि आउने निर्णय गरेका उनी केही घण्टामै पत्नी, तीन छोरी र दुई भाइ गुमाउने अवस्थामा पुगे।

दुर्घटनामा अवधेशकी करिब २८ वर्षीया श्रीमती पुनम यादव, १० वर्षीया छोरी अनु कुमारी, सात वर्षीया दीक्षा र पाँच वर्षीया दीपिकाको मृत्यु भयो। त्यस्तै, उनका २६ वर्षीय भाइ विकेश र करिब २४ वर्षीय सुवोध यादवले पनि ज्यान गुमाए।

विकेश काठमाडौँमा सिभिल इन्जिनियरिङ अध्ययन गर्दै थिए। सुवोध फलफूल व्यापार गर्थे। छठ मनाउन घर फर्किने तयारीमा रहेका दुवै भाइको यात्रा बीच बाटोमै टुङ्गियो।

अवधेशका १४ महिनाका छोरा सुदीप भने दुर्घटनामा जीवित भेटिए।

बिहीबार बिहान करिब ५ः४५ बजे भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको विद्युतीय माइक्रोबस सडकबाट भिरमा खसेको थियो।

दुर्घटनामा १४ जनाको मृत्यु भयो भने छ जना घाइते भए।

दुर्घटनापछि खोजतलासमा खटिएका सुरक्षाकर्मीले बिहान ९ः४० बजे १४ महिनाका सुदीपलाई घाइते अवस्थामा फेला पारेका थिए।

उनलाई उद्धार गरी हेटौँडा अस्पताल ल्याइएको थियो। थप उपचारका लागि दिउँसो १ः४० बजे काठमाडौँस्थित मेडिसिटी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

श्रीमती, तीन छोरी र दुई भाइ गुमाएका अवधेशका लागि अहिले छोरा सुदीपको उपचार अर्को चिन्ताको विषय बनेको छ। घर फर्किने तयारीमा सँगै निस्किएको परिवारमध्ये छ जनाको मृत्यु भएको छ भने सुदीप उपचाररत छन्।

दुर्घटनामा घाइते भएका ३३ वर्षीय मुकेश यादव पनि सर्लाहीकै चक्रघट्टा–४ सुन्दरपुरटोलका बासिन्दा हुन्।

मुकेशका अनुसार उनीहरू बुधबार मध्यरातपछि करिब २ बजे टीकाथलीबाट सर्लाहीका लागि प्रस्थान गरेका थिए। गाडीमा एउटै गाउँका छिमेकी र आफन्त धेरै थिए।

उनले गाडीका चालकलाई पहिलेदेखि नै चिन्थे। यसअघि पनि सोही गाडीमा यात्रा गरिसकेका कारण यसपटक पनि त्यही गाडी रोजेका थिए।

तर भीमफेदीमा दुर्घटना हुँदा मुकेश निदाइरहेका थिए। गाडी कसरी सडकबाट तल खस्यो भन्ने उनलाई थाहा भएन। भिरमा खसेपछि मात्रै दुर्घटना भएको थाहा पाएका थिए।

टाउको र ढाडमा चोट लागेका मुकेश उपचारपछि हेटौँडा अस्पतालबाट डिस्चार्ज भइसकेका छन्।

दुर्घटनामा उनी बाँचे पनि सँगै गाउँ फर्किँदै गरेका धेरै छिमेकी तथा आफन्तले ज्यान गुमाए।

छठ मनाउन काठमाडौँबाट सर्लाही फर्किँदै गरेका यात्रुको गाडीमा चालकसहित २० जना सवार थिए। दुर्घटनामा १४ जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्।

मृतकमध्ये अधिकांश सर्लाहीको चक्रघट्टा–४ सुन्दरपुरटोलका बासिन्दा थिए। एउटै टोलका धेरै मानिस दुर्घटनामा परेपछि छठको तयारी गरिरहेका परिवारहरू शोकमा परेका छन्।

अवधेशले पनि बुधबार साँझसम्म घर जाने तयारी गरिसकेका थिए। परिवारसँग गाउँ पुगेर छठ मनाउने उनको योजना थियो। गाडीमा सिट नपुगेपछि आफू पछि आउने निर्णय गरे।

तर उनले घर जाने भनेर बिदाइ गरेका श्रीमती, तीन छोरी र दुई भाइ अब फर्किने छैनन्।

गाडीमा ठाउँ नपाएको त्यो क्षणले अवधेशको ज्यान जोगायो। तर उनीसँगै घर फर्किने तयारी गरेका परिवारका छ जनाको यात्रा भीमफेदीमै टुङ्गियो।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार