हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ ओमनगरमा एक प्रहरी सहायक हवल्दार झुन्डिएको अवस्थामा मृत फेला परेका छन्। मंगलबार बिहान करिब ४ः३० बजे ओमनगरस्थित एक घरनजिकैको जस्ताको ट्रसमा ३६ वर्षीय अर्जुन गुरुङ मृत फेला परेका हुन्।
गोरखाको आरुघाट गाउँपालिका–३ पोखरीटोल स्थायी घर भएका गुरुङ लमजुङस्थित इलाका प्रहरी कार्यालय भोटेओडारमा कार्यरत थिए।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीका अनुसार बिहान हिँड्न निस्किएका एक व्यक्तिले गुरुङलाई झुन्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो।
घटनास्थलबाट सुसाइड नोटसमेत फेला परेको प्रहरीले जनाएको छ। यद्यपि, घटनाको कारणबारे प्रहरीले विस्तृत जानकारी सार्वजनिक गरेको छैन।
प्रहरी उपरीक्षक खत्रीले घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जानकारी दिए।


