हेटौँडा । बिहानदेखि साँझसम्म मकवानपुरको भीमफेदीस्थित ठाडो भिरमा उद्धारमा खटिएका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामबहादुर खत्री कार्यालय फर्किँदा निकै थकित थिए। बिहानदेखि घाइते र मृतकको खोजीमा जुटेका उनले दिउँसो ३ बजेतिर मात्रै चाउचाउ खान पाएका थिए। पानीसमेत सहज रूपमा पिउन नसकिने ठाउँमा दिनभर खटिएका उनले उद्धारको अनुभव सुनाउँदै भने, ‘दिन बितेकै पत्ता भएन आज।’
बिहीबार बिहान करिब ५ः४५ बजे मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा विद्युतीय माइक्रोबस दुर्घटना भएको थियो। छठ पर्व मनाउन काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको गाडी सडकबाट तल भिरमा खस्दा चालकसहित १४ जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्।
दुर्घटनाको सूचना बिहान ५ः५५ बजे प्रहरीसम्म पुगेको थियो। त्यसलगत्तै इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी टोली खटियो। घटनाको गम्भीरता हेरेर नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको थप जनशक्ति परिचालन गरिएको थियो।
एसपी खत्री पनि उद्धार कार्यको समन्वय र नेतृत्वका लागि घटनास्थल पुगे। तर गाडी खसेको स्थानसम्म पुग्नु नै उद्धार टोलीका लागि ठूलो चुनौती थियो।
उनका अनुसार त्यहाँ मानिस हिँड्ने गोरेटोसमेत थिएन। घाँसका बुट्यान र रूखका हाँगा समातेर भिरमा ओर्लिनुपर्ने अवस्था थियो। माथिबाट ढुङ्गा खसिरहन्थ्यो। खुट्टा चिप्लिए उद्धारमा खटिएका सुरक्षाकर्मी आफैँ भिरबाट खस्ने जोखिम थियो।
‘मान्छे हिँड्ने बाटै छैन। घाँसको बुटा र रूखका हाँगा समातेर माथि आउनुपर्ने अवस्था थियो,’ खत्रीले भने।
उद्धार टोलीले डोरी लिएर गएको थियो। तर भिरको गहिराइका कारण डोरीको लम्बाइले समेत पुगेन। घाइतेहरूलाई अस्पताल पठाएपछि मृतकका शव निकाल्न झनै कठिन भयो।
शवलाई डोकोमा राखेर माथि ल्याउने प्रयाससमेत गरियो। तर ठाडो उकालोमा डोको बोकेर पाँच मिटर पनि अघि बढ्न सकिएन। डोको बोक्ने व्यक्ति नै चिप्लिएर खस्ने जोखिम बढेपछि उक्त प्रयास छाड्नुपरेको उनले सुनाए।
‘डोकोमा बोक्न त बोकेको हो, तर पाँच मिटर पनि सकिएन। बोक्ने मान्छे नै लड्यो भने अर्को दुर्घटना हुने अवस्था थियो,’ खत्रीले भने।
भिरमा सिस्नुका झाडी थिए। माथिबाट ढुङ्गा खसिरहेका थिए। उद्धारमा खटिएका सुरक्षाकर्मीले घाँस र रूखका हाँगा समातेर आफूलाई जोगाउँदै काम गर्नुपरेको थियो।
अर्को समस्या थियो, सञ्चार सम्पर्क। भिरमा फरक–फरक स्थानमा खटिएका सुरक्षाकर्मीले एकअर्कालाई देख्नसमेत सक्दैनथे। माथिबाट बोलाउँदा तल आवाज स्पष्ट नसुनिने र तलबाट बोलाउँदा माथि रहेका सुरक्षाकर्मीलाई थाहा नहुने अवस्था थियो।
मोबाइल फोन उठाउनसमेत सहज थिएन। दुवै हातले बुट्यान समातेर उक्लिरहेका बेला फोन प्रयोग गर्न खोज्दा चिप्लिने जोखिम हुन्थ्यो।
‘दुई हातले बुट्यान समातिराखेको हुन्छ। फोन उठाउँदा फेरि भिरमा खस्ने अवस्था,’ उनले सुनाए।
एसपी खत्रीका अनुसार दुर्घटनाग्रस्त माइक्रोबसमा चालकसहित २० जना सवार थिए। तीमध्ये छ जना काखमा बोकेर यात्रा गराइएका बालबालिका थिए।
दुर्घटनामा गाडीबाट यात्रुहरू टाढाटाढासम्म पुगेका थिए। केही गाडी नजिकै भेटिए भने कतिपयलाई अनुमान गर्नै नसकिने स्थानसम्म खोज्नुपरेको थियो।
प्रारम्भिक उद्धारमा भेटिएका घाइते र मृतकको सङ्ख्या गाडीमा सवार यात्रुको विवरणसँग नमिलेपछि खत्रीले थप सुरक्षाकर्मी परिचालन गरेर खोजतलास जारी राख्न लगाएका थिए।
‘कति टाढा उछिट्टिएका रहेछन्, अनुमान नै गर्न नसकिने ठाउँमा,’ उनले भने।
त्यही खोजतलासका क्रममा बिहान ९ः४० बजे दुर्घटनास्थलको एक छेउमा १४ महिनाका बालक सुदीप यादव घाइते अवस्थामा जीवित भेटिए।
खत्रीका अनुसार बालक रूखको हाँगामा अड्किएको नभई दुर्घटनास्थलको एक छेउमा फेला परेका थिए। अन्य यात्रु छुटेका छन् कि भनेर खोज्ने क्रममा बालक भेटिएका हुन्।
उद्धार टोलीले सुदीपलाई तत्काल अस्पताल पठाएको थियो। पछि थप उपचारका लागि काठमाडौँस्थित मेडिसिटी अस्पताल रेफर गरिएको प्रहरीले जनाएको छ।
तर बालक भेटिएपछि पनि खोजतलास पूरा भएको थिएन। केही यात्रु अझै फेला नपरेपछि थप टोली परिचालन गरिएको थियो।
प्रहरीले यात्रुको नामावली यकिन गर्दै भिरका विभिन्न स्थानमा खोजी जारी राख्यो। अन्तिम चरणको खोजतलासमा तीन जनाको शव फेला परेको थियो। ती शव साँझ ६ बजे हेटौँडा अस्पताल ल्याएर सनाखत गरिएपछि मृतकको सङ्ख्या १४ पुगेको पुष्टि भएको थियो।
त्यसपछि घटनास्थलमा खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका टोली फर्किएका थिए।
एसपी खत्रीका अनुसार दुर्घटनास्थलको भौगोलिक अवस्था यस्तो थियो कि उद्धारमा खटिएका सुरक्षाकर्मीलाई आफ्नो सुरक्षाको पनि उत्तिकै चिन्ता गर्नुपर्ने अवस्था थियो।
माथिबाट ढुङ्गा खस्ने, सिस्नुका झाडीमा अल्झिने र खुट्टा चिप्लिने जोखिमबीच घाइते तथा मृतकलाई सडकसम्म ल्याउनुपरेको थियो।
बिहानदेखि घटनास्थलमा खटिएका खत्रीले दिनभर खानासमेत खान नपाएको बताए। दिउँसो करिब ३ बजे चाउचाउ खाएर फेरि उद्धार कार्यमा लागेका थिए।
एकातिर घाइतेलाई यथाशीघ्र अस्पताल पठाउनुपर्ने थियो भने अर्कोतर्फ गाडीमा सवार सबै यात्रुको अवस्था यकिन गर्नुपर्ने जिम्मेवारी थियो। भिरमा यात्रुहरू फरक–फरक स्थानमा भेटिएकाले खोजतलासमा धेरै समय लागेको थियो।
एसपी खत्रीका अनुसार गाडी चिसापानीगढी नजिकको घुम्तीबाट सडक छाडेर भिरमा खसेको देखिएको छ। दुर्घटनाको वास्तविक कारण भने अनुसन्धानबाट खुल्न बाँकी छ।
बिहानदेखि साँझसम्म चलेको उद्धारमा सुरक्षाकर्मीले कठिन भौगोलिक परिस्थितिबीच घाइतेलाई अस्पताल पठाए र मृतकका शव बाहिर निकाले।
दिनभरको उद्धार सकेर फर्किएका खत्रीले आफूले भोगेको दिनको अनुभव छोटकरीमा सुनाए, ‘दिन बितेकै पत्ता भएन आज।’


