बागमती प्रदेशमकवानपुरभीमफेदी ईभी दुर्घटना : चालकसहित १० जनाको मृत्यु, घाइतेको संख्या ६ पुग्यो

भीमफेदी ईभी दुर्घटना : चालकसहित १० जनाको मृत्यु, घाइतेको संख्या ६ पुग्यो

हेटौँडा । मकवानपुरको भीमफेदीमा बिहीबार बिहान भएको यात्रुबाहक विद्युतीय गाडी (ईभी) दुर्घटनामा घाइतेको संख्या ६ पुगेको छ। दुर्घटनामा मृत्यु भएका १० जनामध्ये चालकको पहिचान खुलेको छ भने अन्य मृतकको सनाखत गर्ने काम भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार दुर्घटनामा मृत्यु भएका चालक सर्लाहीको कविलासी नगरपालिका–८ का रविशंकर कुमार मण्डल हुन्। मृतकमध्ये पाँच पुरुष, तीन महिला र दुई बालिका रहेका छन्।

दुर्घटनामा घाइते भएका ६ जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ। यसअघि पाँच जना घाइते भएको विवरण सार्वजनिक भएको थियो।

काफ्लेका अनुसार मृतकमध्ये चार जनाको शव हेटौँडा अस्पताल ल्याइएको छ भने बाँकी ६ जनाको शव घटनास्थलबाट निकाल्ने प्रयास भइरहेको छ। दुर्घटनास्थल भिरालो र जङ्गल क्षेत्रमा रहेकाले शव निकाल्न कठिनाइ भएको उनले बताए।

उद्धारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली परिचालन गरिएको छ। प्रहरीका अनुसार उद्धार तथा खोजतलासका लागि थप सुरक्षाकर्मीसमेत खटाइएको छ।

काठमाडौँको टीकाथलीबाट छठ पर्व मनाउन सर्लाही फर्किँदै गरेका यात्रुले ईभी गाडी बुक गरेका थिए। दुर्घटनामा घाइते भएका सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ का ३३ वर्षीय मुकेश यादवका अनुसार उनीहरू राति करिब २ बजे काठमाडौँबाट हिँडेका थिए।

गाडीमा अधिकांश यात्रु एउटै गाउँका छिमेकी तथा आफन्त रहेको उनले बताए। आफ्नो परिवारका सदस्य भने गाडीमा नरहेको उनको भनाइ छ।

काठमाडौँबाट सर्लाहीतर्फ आउँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको ईभी बिहान करिब ५ः४५ बजे भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा सडकबाट करिब ५०० मिटर तल खसेको थियो।

घाइतेमध्ये मुकेशसहित पाँच वर्षीय सक्षमकुमार यादव र तीन वर्षीय सुदन यादवको यसअघि पहिचान खुलेको थियो। मुकेश र सक्षमको अवस्था सामान्य तथा सुदनको अवस्था मध्यम रहेको प्रारम्भिक विवरण प्रहरीले दिएको थियो।

दुर्घटनाको यकिन कारण खुलिसकेको छैन। यद्यपि, चालकले पर्याप्त आराम नगरेको हुन सक्ने विषयलाई प्रहरीले अनुसन्धानको एउटा आधार बनाएको छ।

डीएसपी काफ्लेका अनुसार दुर्घटनाग्रस्त गाडी अघिल्लो साँझ सर्लाहीबाट काठमाडौँ गएको र राति पुनः यात्रु लिएर फर्किएको प्रारम्भिक जानकारी छ। लगातारको यात्राका कारण चालकको निद्रा नपुगेको हुन सक्ने प्रहरीको अनुमान छ।

यसैबीच, मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले भीमफेदी–देउराली सडकखण्डमा बारम्बार दुर्घटना भइरहेकाले तत्काल सडक सुरक्षा सुधार गर्नुपर्ने बताएका छन्।

उनका अनुसार उक्त सडकखण्डमा एक वर्षभित्र तीनवटा ठूला दुर्घटना भएका छन्। सडकमा आवश्यक ट्राफिक सङ्केत, घुम्तीमा ऐना तथा अन्य सुरक्षा संरचनाको अभाव रहेको भन्दै उनले बागमती प्रदेशका मुख्यमन्त्रीसँग समेत तत्काल सुधारका लागि कुराकानी गरेका छन्।

चालकको थकान, असुरक्षित ओभरटेक र चाडपर्वमा बढ्ने सवारी चापप्रति ध्यान दिनुपर्ने अधिकारीको भनाइ छ।

प्रहरीले दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन अनुसन्धान जारी राखेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार