समाजभीमफेदी दुर्घटना : १३ शव अस्पतालमै रहेका बेला क्षतिपूर्तिबारे बोल्यो प्रधानमन्त्री कार्यालय

भीमफेदी दुर्घटना : १३ शव अस्पतालमै रहेका बेला क्षतिपूर्तिबारे बोल्यो प्रधानमन्त्री कार्यालय

हेटौँडा । मकवानपुरको भीमफेदीमा भएको ईभी दुर्घटनामा ज्यान गुमाएका १३ जनाका आफन्तले क्षतिपूर्तिको माग गर्दै शव बुझ्न अस्वीकार गरिरहेका बेला प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले क्षतिपूर्ति उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको जनाएको छ।

१४ जनाको ज्यान जाने गरी बिहीबार भएको दुर्घटनापछि शुक्रबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री कार्यालयले मृतकका परिवारलाई कानुनबमोजिम क्षतिपूर्ति र बिमा रकम यथाशीघ्र उपलब्ध गराउन सम्बन्धित पक्षसँग समन्वय भइरहेको जानकारी दिएको हो।

दुर्घटनामा मृत्यु भएका १४ जनामध्ये सवारी चालकको शव परिवारले बुझिसकेको छ। बाँकी १३ जनाका आफन्त भने उचित क्षतिपूर्तिको सुनिश्चितता नभएसम्म शव नबुझ्ने अडानमा छन्। उनीहरूको शव हेटौँडा अस्पतालको शवगृहमा राखिएको छ।

प्रधानमन्त्री कार्यालयले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ र प्रचलित बिमा कानुनअनुसार पीडित परिवारले पाउने रकम उपलब्ध गराउन सवारीधनी, यातायात व्यवसायी र बिमा कम्पनीसँग समन्वय गरी प्रक्रिया अघि बढाइएको जनाएको छ। यद्यपि, विज्ञप्तिमा क्षतिपूर्तिको निश्चित रकम वा उपलब्ध गराउने समयसीमा खुलाइएको छैन।

बिहीबार बिहान भीमफेदी गाउँपालिका–६, चिसापानीगढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको यात्रुवाहक ईभी सडकबाट करिब ५०० मिटर तल खसेको थियो। काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको उक्त गाडीमा सवार १४ जनाको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए।

मृत्यु भएकामध्ये १३ जना सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरका बासिन्दा हुन् भने चालक सर्लाहीकै कविलासी नगरपालिकाका हुन्। छठ पर्व मनाउन घर फर्किरहेका यात्रु दुर्घटनामा परेका थिए।

प्रधानमन्त्री कार्यालयले घाइतेहरूको उपचारलाई उच्च प्राथमिकतामा राखिएको पनि जनाएको छ। घाइतेमध्ये तीन जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने बाँकी तीन जनाको चितवनस्थित मनकामना अस्पताल र ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित अस्पताललाई निर्देशन दिइएको विज्ञप्तिमा उल्लेख छ।

यसैबीच, दुर्घटनाको वास्तविक कारण पहिचान गर्न मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ। समितिलाई सात दिनभित्र प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ। प्रतिवेदनका आधारमा भविष्यमा यस्ता दुर्घटना दोहोरिन नदिन आवश्यक सुधारका कदम चालिने सरकारले जनाएको छ।

प्रधानमन्त्री कार्यालयले दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ। साथै, पीडित परिवारलाई आवश्यक सहयोग र सहजीकरण गर्न सरकार प्रतिबद्ध रहेको जनाएको छ।

तर क्षतिपूर्तिको माग गर्दै आफन्तले शव बुझ्न अस्वीकार गरिरहेको अवस्थामा सरकारले अघि बढाएको प्रक्रियाले पीडित परिवारको माग कहिलेसम्म सम्बोधन गर्छ भन्ने विषय अझै स्पष्ट भएको छैन।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार