बागमती प्रदेशमकवानपुरतीन परिवारबाट सुरु भएको हेटौँडाको छठमा यस वर्ष ६० हजार सहभागी हुने

तीन परिवारबाट सुरु भएको हेटौँडाको छठमा यस वर्ष ६० हजार सहभागी हुने

हेटौँडा । करिब ४६ वर्षअघि दुई–तीन परिवारबाट सुरु भएको छठ पर्व हेटौँडामा अहिले ठूलो धार्मिक तथा सांस्कृतिक उत्सवका रूपमा विस्तार भएको छ। यस वर्ष हेटौँडा–१ स्थित राप्ती नदी किनारमा आयोजना हुने छठ पूजामा ५० देखि ६० हजार भक्तजन तथा दर्शनार्थी सहभागी हुने आयोजकको अनुमान छ।

राप्ती तटमा छठ पूजाका लागि पण्डाल निर्माण, सजावट, सरसफाइ, पार्किङ तथा सुरक्षा व्यवस्थापनको तयारी पूरा भएको संयुक्त मधेसी सेवा समाज नेपालका कोषाध्यक्ष तथा छठ पूजा मूल समारोह समितिका कोषाध्यक्ष राजदेव बानियाँले जानकारी दिए।

उनका अनुसार यस वर्ष मात्रै एक हजार ५०० देखि दुई हजारसम्म व्रतालु सहभागी हुने अनुमान गरिएको छ। उनीहरूले आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिनेछन् भने सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पूजा समापन हुनेछ।

गत वर्ष राप्ती तटमा करिब ४० देखि ५० हजार भक्तजन तथा दर्शनार्थी सहभागी भएको आयोजकको भनाइ छ। यस वर्ष सहभागिता थप बढ्ने अनुमान गर्दै पण्डाल, पार्किङ र आवागमनको व्यवस्थापन पनि सोहीअनुसार गरिएको बानियाँले बताए।

पार्किङ तथा सवारी व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालय, ट्राफिक प्रहरी तथा सुरक्षा निकायका प्रतिनिधिले पूजा स्थलको निरीक्षण गरी सवारी प्रवेश, निकास र पार्किङ क्षेत्र निर्धारण गरेका छन्। पर्वलाई सुरक्षित र व्यवस्थित बनाउन दुई सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरिएको छ।

पूजा स्थलको उत्तरतर्फ दर्शनार्थीका लागि शुद्ध शाकाहारी खानेकुराका स्टल रहनेछन् भने दक्षिणतर्फ छठी मातालाई चढाइने बतासालगायत प्रसादका स्टल राखिने आयोजकले जनाएको छ।

राप्ती तटमा मनाइने छठमा हेटौँडाका विभिन्न क्षेत्रसँगै कमाने, चौघडा, मनहरी, चौकीटोल, भीमफेदीलगायत स्थानबाट समेत व्रतालु आउने गरेका छन्। धेरै व्रतालु रातभर छठघाटमै बसेर बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि घर फर्किने गर्छन्।

छठ पूजा समितिका संयोजक रविरञ्जन गुप्ताका अनुसार हेटौँडाको राप्ती तटमा विसं २०३७ सालदेखि छठ पर्व मनाउन थालिएको हो। सुरुमा सीमित परिवारमा रहेको पर्व अहिले हजारौँ मानिस सहभागी हुने उत्सव बनेको छ।

छठ पर्व व्यवस्थापनका लागि हेटौँडा उपमहानगरपालिकाले पाँच लाख रुपैयाँ सहयोग गरेको छ। बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले सात लाख रुपैयाँ बराबरका ध्वनि उपकरण उपलब्ध गराएको आयोजकले जनाएको छ।

कोषाध्यक्ष बानियाँले छठ पर्व मधेसी समुदायमा मात्रै सीमित नरही विभिन्न समुदायको साझा पर्वका रूपमा विस्तार हुँदै गएको बताए। उनले हेटौँडा तथा मकवानपुरवासीलाई राप्ती तटमा हुने छठ पूजामा सहभागी हुन आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार