हेटौँडा । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले नागरिकको आवश्यकता र भावी पुस्ताको हितलाई ध्यानमा राखेर कानुन निर्माण तथा संशोधन गर्ने प्रतिबद्धता जनाएका छन्।
शनिबार हेटौँडामा स्थानीयवासीसँग आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै सभामुख अर्यालले कानुन निर्माण गर्दा सरोकारवालासँग पर्याप्त छलफल गरिने बताए।
उनले देशको भौगोलिक अवस्था, नागरिकको चेतनास्तर र बदलिँदो आवश्यकताअनुसार कानुन बनाउनुपर्नेमा जोड दिए। ‘कानुन निर्माण गर्ने कुरामा एक इन्च पनि कहीँ कमीकमजोरी हुन दिन्नँ,’ उनले भने।
सभामुख अर्यालले संसद् बैठक सञ्चालन गर्नु मात्रै सभामुखको जिम्मेवारी नभएको बताए। कानुनको अध्ययन, प्रमाणीकरण तथा संघीय संसद् सचिवालयको व्यवस्थापनलगायतका काममा समेत आफू व्यस्त रहने गरेको उनको भनाइ थियो।
उनले जनप्रतिनिधिहरूलाई नागरिकका समस्या बुझ्न घरदैलोमा पुग्न सुझाव दिए। सडक, खानेपानी, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत समस्याको पहिचान गरेर समाधानका लागि कानुनी तथा नीतिगत पहल गर्नुपर्ने उनले बताए।
सभामुख अर्यालले जनप्रतिनिधिको मूल्याङ्कन महँगो गाडी, रहनसहन र स्वागतसत्कारका आधारमा नभई जनताका लागि गरेका कामका आधारमा हुने उल्लेख गरे।
छठ पर्व मनाउन वीरगञ्ज जाने क्रममा हेटौँडा आएका अर्यालले स्थानीय नागरिकबाट राज्य सञ्चालन र जनप्रतिनिधिको कार्यसम्पादनबारे सुझाव लिन अन्तरक्रिया गरेको बताए।


