हेटाैँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१ चौकीटोलबाट सशस्त्र प्रहरीले एक राउण्ड हवाई फायर गरी पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल नं. १४ गण मकवानपुरका अनुसार आज (शनिबार) दिउँसो करिब १२:१५ बजे बा प्र ०३–००१ ह ११८१ नम्बरको अटो जाँच गर्ने क्रममा भाग्न खोजेपछि प्रहरीले हवाई फायर गरेर उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका–६ नयाँबस्तीका २७ वर्षीय सुनबहादुर तामाङ र २२ वर्षीय विश्वराज तामाङ रहेका छन्। सशस्त्र प्रहरी सहायक निरीक्षक ऋषिराम पौडेलको नेतृत्वमा खटिएको टोली र इन्टेलिजेन्स ब्युरोको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको सशस्त्र प्रहरी उपरीक्षक निवनकुमार खड्काले जानकारी दिए।
प्रहरीले उनीहरूको साथबाट ७.६५ मिलिमिटरको एक थान सेमी अटोमेटिक पेस्तोल, एक थान म्यागजिन र एक राउण्ड गोली बरामद गरेको छ। पक्राउ परेका दुवै जना र अटोलाई हाल सशस्त्र प्रहरीको नं. १४ गणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


