समाजभोटेकोसी बाढीमा बेपत्ता ऋचाको नाम लोकसेवामा निस्कियो, परिवार भने अझै प्रतीक्षामा

भोटेकोसी बाढीमा बेपत्ता ऋचाको नाम लोकसेवामा निस्कियो, परिवार भने अझै प्रतीक्षामा

spot_img

विराटनगर । भोटेकोसी बाढीमा बेपत्ता भएकी इन्जिनियर ऋचा निरौलाको नाम लोकसेवा आयोगको लिखित परीक्षामा निस्किएको छ। तर, उनको सफलताको खबर आएको बेला परिवार भने ऋचाकै प्रतीक्षामा छ।

गत भदौ १० गते आएको बाढीपछि बेपत्ता रहेकी ऋचाले लोकसेवा आयोगको परीक्षामा पहिलो प्रयासमै सफलता हात पारेकी हुन्। आयोगले बिहीबार सार्वजनिक गरेको लिखित परीक्षाको नतिजामा उनको नाम क्रम संख्या १२ मा परेको छ।

मोरङको पथरी शनिश्चरे–७ स्थायी घर भई विराटनगर–३ मा बस्दै आएको निरौला परिवार छोरी बेपत्ता भएको २८ दिन बितिसक्दा पनि उनको अवस्थाबारे कुनै ठोस जानकारी पाउन सकेको छैन।

ऋचा पछिल्लो ६ महिनादेखि २१६ मेगावाट क्षमताको अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको प्लानिङ सेक्सनमा इन्जिनियरका रूपमा कार्यरत थिइन्। भदौ १० गते आएको बाढीपछि उनी सम्पर्कविहीन भएकी थिइन्।

ऋचाकी दिदी रक्षा निरौलाका अनुसार उनले आफू नयाँ भएकाले अनुभवका लागि मात्र लोकसेवाको परीक्षा दिन लागेको बताएकी थिइन्। तर, पहिलो प्रयासमै सव–इन्जिनियर पदको लिखित परीक्षामा नाम निकाल्न सफल भइन्।

रक्षाले सामाजिक सञ्जालमा बहिनीको सफलताबारे लेख्दै आफूहरूका लागि यो खुसी र पीडाको खबर एकैपटक बनेको उल्लेख गरेकी छन्। परिवारले ऋचा सुरक्षित रहेको र छिट्टै घर फर्किने आशा अझै छाडेको छैन।

ऋचाका बुवा लीलाप्रसाद निरौलाले बाढीमा बेपत्ता जलविद्युत् आयोजनाका कर्मचारीको खोजी तथा उद्धारमा ढिलाइ भएको भन्दै सरकारी निकायप्रति असन्तोष जनाएका छन्। लामो समय बितिसक्दा पनि बेपत्ता भएकाहरूको अवस्थाबारे स्पष्ट जानकारी नआएको परिवारको गुनासो छ।

एकातिर छोरीले पहिलो प्रयासमै लोकसेवामा सफलता हात पारेको खबर छ, अर्कोतिर उनी कहाँ छिन् भन्ने उत्तर छैन। यही द्वन्द्वका बीच निरौला परिवार अहिले ऋचाको उपलब्धिमा गर्व गर्दै उनको सुरक्षित पुनरागमनको प्रतीक्षामा छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img