काठमाडौँ । बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली पश्चिमतिर सर्दै गएकाले आज र भोलि वर्षाको मुख्य प्रभाव पश्चिमी क्षेत्रमा केन्द्रित हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँ उपत्यकासहित पूर्वी भूभागमा आजदेखि नै वर्षा कम हुँदै जानेछ भने सोमबारदेखि देशभरकै मौसममा सुधार आउनेछ।
अहिले मध्य र पश्चिमी क्षेत्रका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने केही ठाउँमा भारी वर्षा दर्ता भएको छ। महाशाखाका अनुसार आज बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना कायमै छ।
विशेष गरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भने निकै भारी वर्षाको सम्भावना रहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिए। कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा पनि भारी वर्षा हुनसक्ने अनुमान छ। मधेश प्रदेशका साथै कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराई भूभागमा हावाहुरीको समेत जोखिम छ।
सुदूरपश्चिम र कर्णालीका हिमाली क्षेत्रमा परेको हिमपातले जनजीवन प्रभावित भएको छ। वर्षा र हावाहुरीको जोखिम कायमै रहेकाले मौसमविद्हरूले आज पनि लामो दूरीको यात्रा नगर्न र आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन्।




