काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका लागि ढोकाहरू खोलिएका हुन्।
अपराह्न २:१५ बजेको मापनअनुसार सप्तकोशीमा पानीको बहाव २ लाख ४० हजार ५५५ क्युसेक पुगेको छ। पानीको यो मात्रालाई प्राविधिकहरूले उच्च खतराको सङ्केत मानेका छन्।
नदीको चतारा जलमापन केन्द्रमा बाढीको बहाव लगातार बढिरहेकाले जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले तल्लो तटीय तथा निरन्तर डुबान भइरहने भूभागका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
यसैबीच, नेपालतर्फ ढोकाहरू बढाउँदै लैजाँदा तल्लो तटीय क्षेत्रमा पर्ने भारतीय राज्य बिहारमा पनि बाढीको जोखिम थप बढेको छ। कोशी परियोजनाका अनुसार ब्यारेजका जति धेरै ढोका खोलिन्छन्, भारतको बिहार क्षेत्रमा डुबानको खतरा त्यति नै उच्च हुँदै जान्छ।
सप्तकोशी जलाधार क्षेत्रमा वर्षा जारी रहेकाले नदी तटीय क्षेत्रमा प्रहरी तथा स्थानीय प्रशासनलाई सजग अवस्थामा राखिएको छ।




