हेटाैँडा । अविरल वर्षाका कारण देशका मुख्य राजमार्गहरू पहिरोका कारण अवरुद्ध भएका छन्। काठमाडौँ जोड्ने पृथ्वी राजमार्ग, कान्ति लोकपथ र बीपी राजमार्गका विभिन्न ठाउँमा पहिरो खस्दा सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको हो।
धादिङको कृष्णभीर, परेवाभीर र ज्यामिरेघाटमा ठूलो पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध बनेको छ। पहिरो पन्छाउने काम जारी रहे पनि समय लाग्ने धादिङ प्रहरीले जनाएको छ। सडक सुरक्षालाई ध्यानमा राख्दै धादिङ र चितवन जिल्ला प्रशासन कार्यालयले अर्को सूचना जारी नभएसम्मका लागि पृथ्वी राजमार्गमा सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाएका छन्।
यस्तै, चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा पनि ठाउँठाउँमा पहिरो खसेकाले अर्को सूचना नआएसम्म गाडी आवागमन बन्द गरिएको छ।
काठमाडौँ–हेटौँडा जोड्ने कान्ति लोकपथअन्तर्गत मकवानपुरतर्फको सडक खुला रहे पनि ललितपुरको बागमती गाउँपालिका–३ स्थित पाँचधुरे, पयाङधुर र टीकाभैरवमा माथिबाट पहिरो खसेकाले सडक दुवैतर्फ अवरुद्ध भएको छ। काभ्रेको रोशी गाउँपालिका–७ स्थित चारसयबेँसी र रोशी–८ गिम्दीमा पहिरो जाँदा बीपी राजमार्गसमेत बन्द भएको प्रहरीले जनाएको छ।
पूर्वी नेपालतर्फ कोशी राजमार्गअन्तर्गत खाँदबारी–किमाथाङ्का सडकखण्डको भोटखोला क्षेत्रमा ठूलो पहिरो खसेकाले हुङहुङ सडकखण्ड ठप्प भएको छ।
यसैबीच, हेटौँडाबाट काठमाडौँ जोड्ने अन्य दुई वैकल्पिक सडक भने सुचारु रहेका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार त्रिभुवन राजपथ र हेटौँडा–भीमफेदी–कुलेखानी–फाखेल–सिस्नेरी सडकखण्डमा पहिरो नखसेकाले यातायात सञ्चालन भइरहेको छ।
लगातारको वर्षाका कारण पहिरोको जोखिम बढेकाले देशका धेरैजसो सडकमा रातिको समयमा गाडी चलाउन रोक लगाइएको छ। प्रहरीले दिउँसो सडक खुला भएका स्थानमा पनि उच्च सावधानी अपनाएर मात्र सवारी चलाउन आग्रह गरेको छ।




