काठमाडौं । धितोपत्र बाज़ार नेप्से परिसूचक बिहीबार दोहोरो अंकले बढेर २६२९.८१ विन्दुमा पुगेको छ। अघिल्लो दिन ३६.२५ अंकले घटेको नेप्से सूचक बिहीबार ११.७७ अंक (०.४४ प्रतिशत) ले उकालो लागेको हो।
नेप्सेमा दोहोरो अंकको सुधार आउँदा कारोबार रकम भने ५ अर्ब ४४ करोड ७३ लाख रुपैयाँ नाघेको छ। कुल ३५६ कम्पनीका १ करोड ७२ लाख ७० हजार भन्दा बढी कित्ता सेयर किनबेच भएका छन्।
कारोबार भएकामध्ये १७६ कम्पनीको सेयर मूल्य बढेको छ भने ९५ कम्पनीको मूल्य घटेको छ। सात कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ।
यस दिन निर्जीवन बिमा उपसमूहबाहेक अन्य सबै उपसमूहका सूचकहरू बढेका छन्। नेपाल ल्युव आयल, सोनापुर मिनरल एन्ड ओइल, कुमारी सबल योजना, घोराही सिमेन्ट र सीवाईसी नेपाल लघुवित्तका सेयरधनीले सबैभन्दा धेरै कमाएका छन्। यस्तै मिड सोलु हाइड्रोपावर, धौलागिरी लघुवित्त र सिटिजन्स सुपर ३० म्युचुअल फन्डका सेयरधनीले भने गुमाएका छन्।




