हेटौँडा, ८ असोज । भारी वर्षासँगै बाढी, पहिरो तथा खोला–खहरेमा पानीको बहाव बढ्न सक्ने जोखिमलाई ध्यानमा राख्दै मकवानपुरका पाँच गाउँपालिका र हेटौँडा उपमहानगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेका छन्।
जल तथा मौसम विज्ञान विभागले असोज ९ देखि ११ गतेसम्म भारीदेखि अति भारी वर्षा हुन सक्ने पूर्वानुमान गरेपछि राक्सिराङ, इन्द्रसरोवर, मनहरि, कैलाश र भीमफेदी गाउँपालिकासँगै हेटौँडा उपमहानगरपालिकाले विद्यार्थी तथा शिक्षकको सुरक्षालाई ध्यानमा राखेर विद्यालयमा बिदा दिएका हुन्।
हेटौँडा उपमहानगरपालिकाले असोज ९ गते शुक्रबार नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्न अनुरोध गरेको छ। उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाले मौसम पूर्वानुमानअनुसार उक्त दिन भारी तथा अति भारी वर्षा हुन सक्ने भएकाले विद्यालयले दिन सक्ने स्थानीय बिदाबाट मिलान हुने गरी एक दिन विद्यालय बन्द गर्न भनेको हो। विद्यार्थीलाई अभिभावकको साथमा सुरक्षित, सतर्क र सावधान रहन आवश्यक अभिमुखीकरण गर्नसमेत विद्यालयलाई आग्रह गरिएको छ।
राक्सिराङ गाउँपालिकाले बिहीबार र शुक्रबार दुई दिन विद्यालय बन्द गरेको छ। गाउँपालिका अध्यक्ष राजकुमार मल्लले पालिकाका विभिन्न क्षेत्रका विद्यार्थी तथा शिक्षकले विद्यालय पुग्न खोला, खहरे र खोल्सी पार गर्नुपर्ने भएकाले सम्भावित दुर्घटना न्यूनीकरणका लागि बिदा दिइएको बताए।
इन्द्रसरोवर गाउँपालिकाले पनि भारी वर्षाको सम्भावित जोखिमलाई ध्यानमा राख्दै बिहीबार र शुक्रबार विद्यालय बन्द गर्ने निर्णय गरेको छ।
मनहरि गाउँपालिकाले असोज ८ र ९ गते विद्यालय बन्द गरेको छ। गाउँपालिकाले ठूलो वर्षाको सम्भावनाका कारण शिक्षक तथा विद्यार्थीको आवतजावत र सुरक्षालाई ध्यानमा राख्दै दुई दिन बिदा दिइएको र उक्त बिदा पछि मिलान गरिने जनाएको छ।
कैलाश गाउँपालिकाले असोज ९ गते शुक्रबार विद्यालय बन्द गर्ने निर्णय गरेको छ। गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले विद्यार्थी तथा शिक्षकले खोला, खोल्सी र खहरे पार गरेर विद्यालय आउजाउ गर्नुपर्ने भएकाले सम्भावित जोखिमलाई ध्यानमा राखेर बिदा दिइएको बताए।
भीमफेदी गाउँपालिकाले पनि सम्भावित भारी वर्षा, बाढी र पहिरोको जोखिमलाई मध्यनजर गर्दै असोज ९ गते शुक्रबार विद्यालयमा बिदा दिएको छ।
स्थानीय तहहरूले विद्यालयको भौतिक संरचना, विद्यार्थी तथा शिक्षकको सुरक्षा र सेवा क्षेत्रभित्र हुन सक्ने विपद्जन्य जोखिमप्रति सतर्क रहन विद्यालय प्रशासनलाई आग्रह गरेका छन्।
यसअघि हेटौँडा–४ स्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय र हेटौँडा–१९ स्थित निर्मल माध्यमिक विद्यालयले पनि बिदा घोषणा गरेका थिए। उपमहानगरपालिकाकै पछिल्लो निर्णयसँगै असोज ९ गते हेटौँडाभरका सामुदायिक तथा संस्थागत विद्यालय बन्द रहने भएका छन्।




