काठमाडौं | नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले देशको प्रधानमन्त्री भई प्रत्यक्ष रूपमा देशको सेवा गर्ने चाहना रहेको बताएका छन्। काठमाडौंमा शनिबार आयोजित जेन–जीसँगको अन्तरक्रिया कार्यक्रममा उनले आगामी निर्वाचनमा आफ्नो पार्टी सहभागी हुने र जनताले विश्वास गरे देशको कार्यकारी प्रमुख भएर काम गर्न तयार रहेको स्पष्ट पारे।
देश परिवर्तन गर्ने सपना अझै जिवित रहेको उल्लेख गर्दै विप्लवले माओवादी आन्दोलनको यात्रा स्मरण गरे। “हामीले बन्दुक पनि बोक्यौं, जेल पनि गयौं, किताब पनि पढ्यौं,” उनले भने, “अहिले उद्योगधन्दा पनि चलाइरहेका छौं, काम गरिरहेका छौं।” किसान, मजदुर, बुद्धिजीवी, व्यापारी, मध्यम वर्गदेखि शहर र गाउँसम्मका जनताले एकपटक जिम्मा दिए देशको प्रधानमन्त्री भएर गोरूझैँ जोतिएर सेवा गर्ने चाहना पार्टीको रहेको उनको भनाइ थियो।
तर उनले तोकिएको समयमा नेपालमा निर्वाचन हुनेमा भने गम्भीर आशंका व्यक्त गरे। फागुन २१ गते चुनाव हुने भनिए पनि त्यसका आधार र तयारी कमजोर रहेको उनको दाबी छ। सुशीला कार्की नेतृत्वको सरकारले निर्वाचन गराउन सक्छ भन्नेमा आममानिसले विश्वास नगरेको पनि उनले बताए।
प्रहरी र कर्मचारीको मनोबल खस्किएको, लुटिएका हतियार अझै फिर्ता नभएको र निर्वाचनका लागि आवश्यक स्रोत सुनिश्चित नभएको अवस्था रहेको उल्लेख गर्दै विप्लवले भने, “करिब १६ सय हतियार लुटिएको भनिन्छ, ती अझै फिर्ता भएका छैनन्। प्रहरी साथीहरूसँग कुरा गर्दा चुनाव गराउने स्तरको मनोबल उठेको छैन भन्ने सुनिन्छ।”
यही परिस्थितिमा जबर्जस्ती निर्वाचनतर्फ जानुभन्दा सर्वपक्षीय सहमतिका आधारमा अन्तरिम सरकार गठन गर्नुपर्नेमा उनले जोड दिए। जेनजीका माग सम्बोधन गरेर मात्रै राजनीतिक निकास सम्भव हुने उनको तर्क थियो।
“हाम्रो पार्टीको प्रस्ताव स्पष्ट छ,” उनले भने, “नयाँ अन्तरिम सर्वपक्षीय सरकार बनाऔं, जेनजीका माग सम्बोधन गरौं, त्यसपछि सम्भव भए प्रत्यक्ष चुनावबाट राष्ट्रपति वा सबै जनताको मतबाट प्रधानमन्त्री चुन्ने व्यवस्थातर्फ जाऔं।” यस्तो व्यवस्था जेन–जीको पनि माग भएको र माओवादी पार्टीको समेत साझा धारणा रहेको उनले बताए।
कार्यक्रममा विप्लवले जेनजी पुस्तालाई परिवर्तनको प्रमुख शक्ति भन्दै उनीहरूको भूमिका निर्णायक हुने उल्लेख गरे। अबको राजनीति सत्ता प्राप्तिभन्दा पनि प्रणाली सुधार र जनजीविकाको सवालमा केन्द्रित हुनुपर्ने उनको भनाइ थियो।



