इन्फो नेपाल — सञ्चारको सञ्जाल

आगोले जलेर एकै गाउँका चार जनाको मृत्यु भएपछि सिङ्गो गाउँ नै शोकमा

अर्घाखाँची: आगोले जलेर एकै गाउँका चार जनाको मृत्यु भएपछि अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाको सिङ्गो गाउँ नै शोकमा डुबेको छ । भूमिकास्थान नगरपालिका–२ ढाकाबाँगमा आगो निभाउने क्रममा घाइते भएका चार जनाको उपचारका क्रममा मृत्यु भएपछि सिङ्गो तिरतिरे गाउँ नै शोकमा डुबेको हो । कोरियाबाट रोजगारी गरेर घरमा आएका ३६ वर्षीय माधव बेल्वासे घर नजिकै लागेको निभाउन गएका थिए । आगो निभाउने क्रममा घाइते माधवको उपचारका सिलसिलामा काठमाडौँको कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भयो । उनको मृत्यु भएपछि घरमा रहेका २६ वर्षीया श्रीमती राधा बेल्वासे र नाबालक दुई छोराको बिचल्ली भएको छ । छोरा अढाइ वर्ष र एक वर्षका छन् । कमाउने र केही गर्ने छोरा गयो ६८ वर्षीया आमा गिरी बेल्वासेले भक्कानिँदै दुखेसो पोखिन, “साना छोरा र बुहारीको यो अवस्था हाम्रो त विचल्ली भयो ।” मङ्गलबार दिउँसो भूमिकास्थान नगरपालिका–२ तिरतिरे खोला गाउँका पदम बेल्वासेको घरमा सल्किएको आगो निभाउने क्रममा घाइते भएका एकै गाउँका चारै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताए । घाइतेलाई जिल्ला अस्पताल सन्धिखर्कमा उपचारपछि थप उपचारका लागि मिसन अस्पताल पाल्पा पठाइएको थियोे । पाल्पामा उपचार हुन नसकेपछि काठमाडौँ पठाइएकामा उपचारका लागि लैजाँदै गर्दा बाटोमा तथा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख रिजालको भनाइ छ । आगलागीमा परी घाइते भएका भूमिकास्थान–२ तिरतिरे गाउँका ७२ वर्षीय पीताम्बर बेल्वासेको उपचारका लागि लैजाँदै गर्दा पाल्पाको रामपुरमा, ५५ वर्षीय पद्म बेल्वासेको नारायणघाट नजिकै र ५२ वर्षीय घनश्याम बेल्वासेको काठमाडौँ कीर्तिपुरको बर्न अस्पतालमा पुगेपछि र ३६ वर्षीय माधवको उपचारका क्रममा मृत्युु भएको उपचारमा संलग्न स्थानीय विष्णु बेल्वासेले बताए । आगलागीमा परेर घाइते भएकी २६ वर्षीय अस्मिता बेल्वासेको अवस्था सुधारोन्मुख छ । उहाँको पाल्पाको मिसन अस्पतालमा उपचार भइरहेको छ । आगलागीले ज्यान गुमाएका घरपरिवारमा रहेका आफन्तलाई भेटेर घटनाबारे प्रमुख जिल्ला अधिकारी मिना अर्याल लगायतको टिमले जानकारी लिनुका साथै राहतसमेत प्रदान गरेको छ । प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गएको जिल्लास्तरीय सुरक्षा प्रमुखको टोलीले घटनास्थलमा गएर आगलागीको प्रकृति, मृतकका परिवारको अवस्था र आगो लाग्नुका कारणबारे जानकारी लिएको छ । आगलागीमा परेर ज्यान गुमाएका चार जनाको परिवारलाई तत्कालका लागि रु ५० हजारका दरले राहत पनि प्रदान गरिएको प्रजिअ मीना अर्यालले बताईन। प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षा प्रमुखलाई स्थानीयले आगो लगाउने व्यक्तिलाई पक्रिएर कारबाही गर्न माग गरेका छन् । मङ्गलबार नै नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय बासिन्दा र जनप्रतिनिधिको सक्रियतामा आगो नियन्त्रणमा लिएसँगै अन्य घर जोगिएका थिए ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क