इन्फो नेपाल — सञ्चारको सञ्जाल

झारफुकको बहानामा जब तातो तेल खन्याइयो

काठमाडौँ — सुनसरी बराहक्षेत्र नगरपालिका–६ कालाबन्जराकी रूपा राई ६ महिनाअघिदेखि खान मन नलाग्ने, निद्रा नलाग्ने, काप्ने, बर्बराउने, छटपटाउने समस्याले अस्वस्थ भइन् । धरान र विराटनगरका स्वास्थ्य संस्थामा जाँच गराउँदा कुनै रोग पत्ता लागेन । ‘अस्पतालका चिकित्सकले नै घरको देउता/पितृ बुझाउनुस् भने,’ रूपाले भनिन्, ‘घरमा दिनहुँ पूजाआजा गर्‍यौं, धामी बोलायौं, केही समयका लागि समस्या समाधान भए पनि निको भएन ।’  झारफुकको बहानामा चरम यातना भोगेकी रूपा राई । उनको नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेको छ । तस्बिर : लीला/कान्तिपुर आफन्तहरूले स्वास्थ्य समस्याबारे जानकारी लिए । रूपाकी दिदीकी छोरी संगम राईलाई एक ‘माता’ ले सन्चो तुल्याएकोबारे कुरा भयो । माता दाबी गर्ने ती हुन्, अर्घाखाँची शीतगंगा नगरपालिका–२ घर भई काठमाडौं तारकेश्वर नगरपालिका–८ जरंखु बस्ने १९ वर्षीया सचिना सारु मगर । अस्पतालले निको पार्न नसकेको रोग सन्चो बनाउने, देउता उतार्ने उनको ‘महिमा’ सुनेपछि फेसबुकमा भिडियो कुराकानी गरी रूपा सुनसरीबाट मंसिर २१ गते तारकेश्वर आइपुगिन् । ‘भिडियोमा कुराकानी हुँदा रोग निको पार्छु भनेपछि छोराछोरी आफन्तलाई जिम्मा लगाएर झारफुककै लागि काठमाडौं आएँ,’ रूपाले सुनाइन्, ‘सुरुका दुई दिन साँझबिहान झारफुक भयो, अर्को दिन मातालाई महिनावारी भएपछि सात दिन झारफुक नहुने भयो । त्यसपछि मलाई महिनावारी भयो ।’ पुस २ गते झारफुककै लागि रूपा माता भनिने सचिनाको कोठामा पुगिन् । ‘जोखना हेर्दै मलाई सेतीदेवी, नागदेवी भन्दै अक्षता र अगरबत्तीले हान्न थालिन्, त्यतिबेलै अर्धचेतमा पुगिसकेकी थिएँ, त्यत्तिकैमा मैले भोलेबाबा भनेछु,’ रूपाले भनिन्, ‘भोलेबाबा हो भने मभन्दा शक्तिशाली हुनुहुँदो रैछ, म गुरु मान्छु भन्न थालिन् । म तपाईंलाई उपचार गर्न सक्दिनँ, इन्डियामा गुरु हुनुहुन्छ कुरा गर्छु भन्न थालिन् ।’ त्यसपछि भारतमा कुनै व्यक्तिसँग भिडियोमा कुरा गरेपछि आफ्नो मुखमा कपडाले बाँधेर बोल्न नदिई यातना दिएको रूपाको भनाइ छ । यसअघि दिदीकी छोरी संगम र अरू चार जनालाई पनि हात बाँधेर लडाउने, घाँटीमा न्याक्ने, शरीरमा तातो पन्युँले डाम्ने, तातो तेल र तातो पानी खन्याउने गरेको रूपाले बताइन् । ‘मुखभित्र तातो तेल खन्याएर जिब्रो पिल्स्याउँछु भनेपछि झन् आत्तिएँ, मुख बन्द गरें तर तातो तेल खन्याउन छाडिनन्,’ उनले भनिन्, ‘टाउकाबाटै तातो पानी खन्याउन थालिन्, तातो पानीले नपोलेको भन्दै तेल तताएर खन्याइन् ।’ आफ्नो छाती, ढाड, हातखुट्टामा पन्युँ तताएर डामेको उनको भनाइ छ । अहिले रूपाको अनुहार, मुख, छाती, ढाड, हातखुट्टालगायतमा गहिरो चोट र दाग देख्न सकिन्छ भने एउटा दाँत भाँचिएको र अर्को हल्लिएको छ । झारफुकको बहानामा ‘माता’ बाट शारीरिक यातना पाएकी ३३ वर्षीया रूपा हाल नेपाल प्रहरी अस्पताल महाराजगन्जको सर्जिकल वार्डमा उपचाररत छिन् । ‘शरीरका विभिन्न अंगमा तातो तेल/पानी खन्याउने, तातो पन्युँले डाम्ने, त्रिशूलले घोचेर अचेत भएपछि छाडेछन्, भोलिपल्ट मात्र अस्पताल ल्याएका हौं,’ रूपाका श्रीमान् दिकमान राईले भने, ‘मोबाइलसमेत कब्जामा लिएर परिवारसँग सम्पर्क गर्नसमेत दिइएन ।’ घटनाका बेला उनी पर्सामा थिए । श्रीमतीमाथि मरणासन्न हुने गरी यातना दिएको थाहा पाएर शनिबार राति उनी काठमाडौं आएका हुन् । चिकित्सकका अनुसार रूपाको शरीरको १८ प्रतिशत भाग जलेको छ । शुक्रबार उनको शल्यक्रिया हुने र थप दुई साता अस्पताल बस्नुपर्ने अस्पतालले जनाएको छ । यसैबीच, झारफुक गर्ने बहानामा तातो पन्युँले डाम्ने, तातो तेल र पानी खन्याई घाइते बनाउने कार्यमा संलग्न रहेको आरोपमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा माता भनिने १९ वर्षीया सचिना सारु मगर, सहयोगीहरू उदयपुर रौतामाई गाउँपालिका घर भई तारकेश्वर बस्ने २६ वर्षीय पदमबहादुर मगर, २६ वर्षीया संगम राई, १८ वर्षीय सागर मगर र चितवन, नारायणघाट घर भई तारकेश्वर बस्ने १८ वर्षीय अजित तामाङ छन् । उनीहरू विरुद्ध मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद–१४ को कुटपिट वा अंगभंगसम्बन्धी कसुर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ३ दिनको म्याद थप अनुमति लिई वृत्त बालाजुबाट अनुसन्धान भइरहेको काठमाडौं प्रहरी प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क