इन्फो नेपाल — सञ्चारको सञ्जाल

देउडा नायिकाका रूपमा उदाउँदै किशोरी विपना

कर्णाली: देउडा कर्णाली तथा सुदूरपश्चिमको प्रख्यात लयात्मक गीत र नाच मिश्रित खेल हो । मध्य तथा सुदूरपश्चिम नेपालको सामाजिक, सांस्कृतिक एवं ऐतिहासिक महत्त्व बोकेको देउडा यहाँका हरेक नागरिकको मनमस्तिष्कमा कैद भएको छ भने जनजिब्रोमा पनि आइरहन्छ । नागरिकको समग्र पक्षका विषयमा व्यक्त हुने भावना र अभिव्यक्तिले देउडामा कर्णाली र सुदूरपश्चिमको जीवन गवाही हुन्छ । गीत र नाचबाटै नागरिकको जीवनका बारेमा यथार्थ चित्रण गर्ने यसले सङ्गीत भने बोकेको पाइँदैन । यसमा सङ्गीतको भूमिका गौण नै रहन्छ । सङ्गीतविना नै देउडा मस्कीमस्की (शरीर दायाँबायाँ ढल्काउँदै) पाइला (गोडा) मिलाएर खेलिन्छ । मूलतः शुभकार्य जस्तो, जन्मोत्सव, विवाह, व्रतबन्ध, मेलापर्व, पैठ, महोत्सवका अवसरमा देउडा गाइने गरिन्छ । यसमा मायाप्रीति, सुखदुःख, हाँसो, आँसु, पीडा वेदनाका गीत बढी गाइन्छन् । त्यसका साथै आर्थिक, राजनीति, भ्रष्टाचार, सामाजिक विकृति, कुप्रथा, विभेद, सुशासनलगायतका गीत देउडामा गाउने गरिन्छ । पछिल्लो समयमा गाउँगाउँसम्म भित्रिएको आधुनिक गीतसङ्गीतका अगाडि परम्परागतरूपमा खेलिने देउडा खतराउन्मुख अवस्थामा पुगेको छ । यद्यपि नयाँपुस्ताले पनि यसलाई पछ्याउन थालेका छन् । लोकदोहोरी जस्तै सवाल र जवाफमा आधारित देउडा खेलमा पनि शीघ्र जवाफ दिनसक्ने तर्कशक्ति आवश्यक हुन्छ । यस्ता तर्कशक्ति प्रस्तुत गर्न कला क्षेत्रमा ठूलो सानो व्यक्ति भन्ने हुँदैन । करिब तीन वर्षदेखि जगन्नाथ गाउँपालिका–४ बाजुराकी १९ वर्षीय विपना भण्डारीले किशोरी अवस्थामै देउडा खेलेर आफ्नो क्षमता प्रदर्शन गर्दै आएकी छिन । बाजुरा, हुम्ला, मुगु, कालीकोट र जुम्लाका विभिन्न ठाउँमा पुगेर उनले आफ्नो कला प्रदर्शन गरिसकेकी छिन् । आमा साउनी र बुबा जयबहादुर भण्डारीको माइली छोरीका रूपमा विपनाको विसं २०६० वैशाख ११ गते बाजुराको नाराकोट गाउँमा जन्म भएको थियो । उनिसहित परिवारमा पाँच बहिनी छन् । आमा भए पनि पाँच वर्षअघि विपनाको बुबाको देहवासन भएको थियो । बुबा देउडा खेलाडी भएकाले आफू त्यसबाट प्रभावित भएर यो क्षेत्र समातेको भण्डारीले बताउछिन । “मैले पहिलो पटक नववर्ष २०७७ को विसु (विश्वाँ पर्व)को दिनमा देउडा खेल सुरु गरेँ”, भण्डारीले भनिन , “त्यसपछि मेरो यात्रा निर्वाध अगाडि बढेको छ । अहिलेसम्म पाँच जिल्लामा गरेर करिब ३५ देउडा खेलमा सहभागी भइसकेँ । सबैभन्दा बढी कालीकोटमा खेल्ने मौका पाइयो ।” बाबुसरहको मान्छेदेखि सबै तहका व्यक्तिसँग देउडा खेल्दै आएको बताएकी उनले यो पेसा अँगालेदेखि आलोचना र प्रशंसा दुवै प्राप्त गरेको जनाइन । उनले आलोचना गर्ने, कुरा काट्नेहरूसँग धेरै सरोकार नराखेर अगाडि बढेको र देउडाले मध्य तथा सुदूरपश्चिम क्षेत्रको कला, साहित्य र संरक्षण गर्दै आएकाले पढाइका साथ यसैलाई नै निरन्तरता दिँदै यात्रा अगाडि बढाउने विचार व्यक्त गरिन । भण्डारीले भनिन् , “देउडा खेलेर मैले संस्कृतिको संरक्षण गरेको छु । यो पुस्तान्तरण हुन जरुरी छ । यसमा नयाँ पुस्ता जागरुक हुनुपर्दछ ।” आधुनिकताका नाम हाम्रो संस्कृति, सभ्यता, भाषा बिर्संदै जाने हो भने यहाँको पहिचान र अस्तित्व गुम्दै जाने उनको भनाइ छ । उनका अनुसार देउडा मायाप्रीतिमा मात्र सीमित नराखी समाजको वास्तविकता र सत्यतालाई खास शैलीमा मिठासपूर्ण हुने गरी दर्शक स्रोतमाझ पस्किने भएकाले यसको महत्त्व एवं आकर्षण बढ्दै गएको छ । विपनाको प्रतिभाले देउडा पारखीलाई लोभ्याउने गरेको छ । उनि किशोरी अवस्थामै देउडा गायिका मात्र होइन, नायिकाको भूमिकामा समेत उदाएकी छिन । सोह्र वर्षको उमेरदेखि देउडा क्षेत्रमा लागेकी उनलाई पछिल्ला दिनमा धेरैले देउडा खेलाडीका रूपमा विभिन्न शुभ अवसरमा शुल्क दिएर बोलाउँदै आएका छन् । मागअनुसार देउडा नायिकाकाका रूपमा सहभागी हुँदा उनले रु ४० देखि ५० हजारसम्म रकम लिने गरेकी छिन । समय सन्दर्भअनुसार भाषाशैली मिलाएर जस्तोसुकै परिस्थितिमा भिज्नसक्ने क्षमता बनाएकी उनलाई सुदूरपश्चिम तथा कर्णाली प्रदेशका विभिन्न जिल्लावासीले जन्मोत्सव, विवाह, व्रतबन्धजस्ता शुभकार्यको अवसरमा बोलाउने गर्दछन् । अनुकूल परिस्थितिअनुसार बोलाएको ठाउँमा जाने गरेको उनले बताउछिन । महिलासँग पनि देउडा खेल्दै आएका बताउँदै भण्डारीले अधिकतम पुरुष समूहसँग देउडा खेलमा सहभागी हुने गरेको उनको भनाइ छ । यसपटक तिला गाउँपालिका–४ जुम्ला साँपुल्ली गाउँमा यही फागुन २६–२८ गतेसम्म भएको मानबहादुर सिंहको भाइबुहारीको विवाहमा आफ्नो कलात्मक खेल देखाएर फर्केको देउडा खेलाडी स्थानीय जीतबहादुर सिंहले बताए । विपना श्री कैलाश मावि बाजुरामा कक्षा १२ मा अध्ययन गर्दै आएकी छिन ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क