काठमाडौं : पछिल्लो समय फेसबुक अकाउन्ट ह्याक हुने घटना बढिरहेका छन् । नेपाल प्रहरीकाे साइबर ब्यूरोमा आउने अधिकांश फेसबुक सम्बन्धी उजुरीमध्ये ६० प्रतिशत फेसबुक ह्याकसम्बन्धी हुन्छन् । सामान्यत, सामाजिक सञ्जाल प्रयोगकर्ताकै कमजोरीले गर्दा अकाउन्ट ह्याक हुने सुरक्षा जानकार बताउँछन् । फेसबुक अकाउन्टमा बलियाे पासवर्ड नराख्नु, टु फ्याक्टर अथेन्टिकेसन अन नगर्नु, अनावश्यक लिङ्क क्लिक गर्नु नै अकाउन्ट ह्याक हुनुका प्रमुख कारण हुन् ।
आज हामी ह्याक हुन नदिन आफ्नो फेसबुक अकाउन्ट कसरी बलियो पार्ने भन्ने विषयमा जानकारी दिँदैछौं । तपाईंको अकाउन्ट कत्तिको सुरक्षित छ भनेर फेसबुकले वर्षौंदेखि प्राइभेसी चेकअपको फिचर उपलब्ध गराएको छ । यसको सहायताले तपाईं क्षणभरमै फेसबुक अकाउन्ट सुरक्षित बनाउन सक्नुहुन्छ ।
फेसबुक ह्याक हुन नदिन यी तरिका अपनाउनुहोस्:
- सबैभन्दा पहिले माेबाइलमा फेसबुक एप खोल्नुहोस् ।
- त्यसपछि माथि दायाँपट्टि भएको प्रोफाइल पिक्चरसँगैको तीन ओटा लाइनमा थिच्नुहोस् ।
- अनि, स्क्रोल गर्दै तल गएर सेटिङ एन्ड प्राइभेसी (Setting & Privacy) को अप्सन छान्नुहोस् ।
- त्यसपछि प्राइभेसी शर्टकट्स (Privacy Shortcuts) को अप्सनमा जानुहोस् ।
- यदि तपाईंको पासवर्ड परिवर्तन गर्नुपर्ने छ भने ‘चेन्ज पासवर्ड’ (Change Password) को बटनमा ट्याप गर्नुहोस् । यदि पर्दैन भने अन्तिममा दायाँपट्टि रहेको स्किप (Skip) अप्सनमा ट्याप गर्नुहोस् ।
- यति भइसकेपछि तपाईंको टु फ्याक्टर अथेन्टिकेसन (Two-factor authentication) अन छ वा छैन भन्ने देखिन्छ । यदि अन छैन भने मेनेज (Manage) को अप्सनभित्र गएर आफूलाई उपयुक्त हुने टु फ्याक्टर अथेन्टिकेनका अप्सन अन गर्नुहोस् ।
- त्यसपछि पुनः ब्याक गएर अन्तिममा दायाँपट्टि रहेको ‘नेक्स्ट’को अप्सनमा ट्याप गर्नुहोस् ।
- यसपछि खुल्ने पेजमा फेसबुक लगइन अलर्टको सेटिङ दिइएको हुन्छ । अन्त कतै कसैले लगइन गर्दा तपाईंको डिभाइसमा नोटिफिकेसन आओस् भन्ने चाहनुहुन्छ भने उक्त अप्सन अन गर्नुहोस् । र, पुनः नेक्स्टको बटनमा ट्याप गर्नुहोस् ।
- -यति भएपछि दोस्रो अप्सनको पनि प्राइभेसी जाँच सकिन्छ । त्यसपछि ‘रिभ्यु एनोदर टपिक’को अप्सनमा ट्याप गर्नुहोस् ।
- सबैभन्दा पहिले प्राइभेसी चेकअपमा रहेको ‘हाउ पिपुल क्यान फाइन्ड यु अन फेसबुक’ अप्सनमा जानुहोस् ।
- त्यहाँ फ्रेन्ड रिक्वेस्ट, फोन नम्बर र ईमेल एड्रेश र सर्च इन्जिन जस्ता अप्सन उल्लेख छन् । यी तीनै कुरा हुन् जसको सहयताले मान्छेले तपाईंलाई फेसबुकमा फेला पार्न सक्छन् ।
- यति गरेपछि अन्तिममा रहेको ‘कन्टिन्यु’ अप्सनमा ट्याप गर्नुहोस् ।
- सबैभन्दा माथिको सेक्सनमा तपाईंलाई कसले फ्रेन्ड रिक्वेस्ट पठाउन पाउने भन्ने अप्सन राखिएको छ । उक्त अप्सनबाट आफूलाई कसले फ्रेन्ड रिक्वेस्ट पठाउन पाउने भन्ने अप्सन छान्नुहोस् ।
- त्यसपछि तलपट्टि हरेको 'नेक्स्ट' बटनमा थिच्नुहोस् । अनि फोन नम्बर र ईमेल एन्ड्रेस कसले देखिरहेका छन् भन्ने देखिन्छ । डिफल्ट रूपमा हाम्रो फोन नम्बर र ईमेल एड्रेस पब्लिक हुन्छ । यस्ता सूचना ‘वन्ली मि’मा राख्नुहोस् ।
- यति गरेपछि पुनः 'नेक्स्ट' बटनमा थिच्नुहोस् ।
- त्यसपछि फेसबुक बाहिर पनि (जस्तै गुगलमा) तपाईंको नाम सर्च गरियो भने तपाईंको फेसबुक प्रोफाइल देखाउने वा नदेखाउने भन्ने सोधिएको हुन्छ । उक्त अप्सन डिफल्ट रूपमा अन हुन्छ । त्यसैले आफ्नो प्राइभेसीका लागि अप्सन अफ गर्न सक्नुहुन्छ । यति भइसकेपछि फेरि पनि 'नेक्स्ट' बटनमा थिच्नुहोस् ।
- र, अन्तिममा ‘रिभ्यु एनोदर टपिक’को अप्सनमा जानुहोस् ।